लुम्बिनी प्रदेश सरकारले मंसिरसम्म खर्च १५ प्रतिशत, कस्तो छ मन्त्रालयगत अवस्था ?
सारांश
- लुम्बिनी प्रदेश सरकारले मंसिर मसान्तसम्म कुल बजेटको १५.३९ प्रतिशत खर्च गरेको छ।
- युवा तथा खेलकुद मन्त्रालयको पुँजीगत खर्च शून्य रहेको छ भने स्वास्थ्य मन्त्रालयले सबैभन्दा धेरै बजेट खर्च गरेको छ।
- आर्थिक अनुसन्धान केन्द्रका अध्यक्षले पुँजीगत खर्च बढाउनुपर्ने र मन्त्री ढकालले खर्चको दर बढ्ने बताए।
बुटवल । लुम्बिनी प्रदेश सरकारले मंसिर मसान्तसम्म करिब १५ प्रतिशत बजेट खर्च गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ को मंसिर मसान्तसम्ममा प्रदेश सरकारको कुल बजेटको १५.३९ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यसमध्ये पुँजीगत खर्च १२.३५ प्रतिशत र चालु खर्च २०.०२ प्रतिशत रहेको छ ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि पुँजीगत खर्च २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार र चालु खर्च १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार गरी कुल ३८ अर्ब ८१ करोड बजेट विनियोजन गरेको थियो । हालसम्म कुल ५ अर्ब ९८ करोड ९० लाख खर्च भएको छ ।
मन्त्रालयगत खर्चको अवस्था
आर्थिक वर्षको ५ महिनामा केही मन्त्रालयको पुँजीगत खर्च निराशाजनक देखिएको छ । खासगरी सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र उद्योग पर्यटन मन्त्रालयको खर्च कमजोर देखिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयको पुँजीगत खर्च शून्य छ । उक्त मन्त्रालयको चालु खर्च जम्मा १३.३२ प्रतिशत भए पनि हालै मात्र मन्त्री पाएको यस मन्त्रालयले पुँजीगत खर्च भने गर्न सकेको छैन । अन्य मन्त्रालयको पुँजीगत खर्च पनि अपेक्षित नभए पनि उल्लेखित मन्त्रालयहरूको पुँजीगत खर्च निकै कमजोर देखिएको प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ६.४४ प्रतिशत पुँजीगत खर्च गरेको छ । आन्तरिक मामिला मन्त्रालयले ५ महिनाको अवधिमा ७.४५ प्रतिशत पुँजीगत खर्च गरेको छ । यस्तै ऊर्जा तथा सिँचाइ मन्त्रालयले ३.८८ प्रतिशत र कृषि, भूमि तथा सहकारी मन्त्रालयले १०.६७ प्रतिशत पुँजीगत खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
आन्तरिक मामिला मन्त्रालयले जम्मा ०.३ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । वन तथा वातावरण मन्त्रालयले ४.४० प्रतिशत खर्च गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले ११.७२ प्रतिशत पुँजीगत खर्च गरेको छ, जुन सरकारको सबैभन्दा धेरै बजेट हुने मन्त्रालय हो । यस मन्त्रालयको चालु खर्च २०.२० प्रतिशत छ । यसको पुँजीगत खर्चले समग्र प्रदेश सरकारको खर्चको अवस्था दर्शाउँछ ।
यस्तै सहरी विकास तथा खानेपानी मन्त्रालयको पुँजीगत खर्च १०.७ प्रतिशत छ भने सामाजिक विकास मन्त्रालयको १.३० प्रतिशत छ ।
यो अवधिमा सबैभन्दा धेरै बजेट स्वास्थ्य मन्त्रालयले खर्च गरेको छ । स्वास्थ्य मन्त्रालयले कुल विनियोजित बजेटमध्ये ३७.२८ प्रतिशत खर्च गरेको छ । उक्त मन्त्रालयले चालु खर्च २३.६१ प्रतिशत खर्च गर्दा पुँजीगत खर्च भने ६६.६९ प्रतिशत गरेको छ ।
लुम्बिनी आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष होमराज भुसालले सरकारले चालु खर्चभन्दा पुँजीगत खर्चमा ध्यान दिनुपर्नेमा हालसम्म चालु खर्च अर्थात् तलब भत्तामा धेरै प्रतिशत खर्च भएको देखिएको बताए । उनले चालु आर्थिक वर्षको ५ महिनामा कम्तीमा पुँजीगत खर्च ३० प्रतिशतभन्दा माथि पुग्नुपर्नेमा त्यो अवस्था नहुँदा सरकारको कामकारबाहीमाथि प्रश्न उठ्ने बताए ।
प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भूमिेश्वर ढकालले भौतिक पूर्वाधार, सहरी तथा खानेपानी विकास मन्त्रालय तुलनात्मक रूपमा धेरै बजेट हुने र ती मन्त्रालयको पुँजीगत खर्चले सरकारको अर्थ राख्ने भए पनि हालसम्म ती मन्त्रालयमा ठेक्का लगाउने काम धेरै भएको तर ठुला बिल भुक्तानी नभएकाले खर्चको प्रतिशत कम देखिएको बताए । अब बिस्तारै खर्चको दर वृद्धि हुने उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण