सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बंगलादेशमा विद्यार्थी आन्दोलनबाट बनेको पार्टीका नेतामाथि गोली प्रहार

सोमबार, ०७ पुस २०८२, १४ : ३८
सोमबार, ०७ पुस २०८२

ढाका । बंगलादेशमा शेख हसिनाविरोधी नेसनल सिटिजन्स पार्टी (एनसीपी) का नेता मोहम्मद मोतालेब शिकदरमाथि सोमबार दिउँसो गोली प्रहार भएको छ । 

दिउँसो १२ बजे खुलनामा रहेको उनको घरभित्र पसेर गोली प्रहार गरिएको त्यहाँको प्रहरीले जनाएको छ । 

बंगलादेशी सञ्चारमाध्यमका रिपोर्टअनुसार हमलाकारीले मोतालेबको टाउकोलाई निशाना बनाएर गोली चलाएका थिए । 

गम्भीर घाइते भई भुइँमा ढलेका मोतालेबलाई वरिपरिका मानिसहरूले तुरुन्तै उठाएर खुलना मेडिकल कलेज अस्पताल पुर्‍याएका थिए, जहाँ उनको उपचार भइरहेको छ । प्रहरीका अनुसार सुरुमा उनको अवस्था निकै नाजुक थियो । डाक्टरहरूले गोली कानको छेउबाट पार भएको बताएका छन् । प्रहरी अधिकारी अनिमेष मण्डलले गोली दिमागसम्म नपुगेकाले उनको ज्यान जोगिएको बताएका छन् । 

घाइते नेता एनसीपी पार्टीका डिभिजन प्रमुख 

मोतालेब शिकदर एनसीपीको खुलना डिभिजनका प्रमुख हुन् र पार्टीसँग सम्बन्धित मजदुर संगठन एनसीपी श्रमिक शक्तिका आयोजक पनि हुन् । उनीमाथि भएको यो आक्रमणले इलाकामा त्रास फैलाएको छ ।

एनसीपीले खुलनामा मजदुर र्‍याली आयोजना गर्ने तयारी गरिरहेको थियो र शिकदर त्यसैमा काम गरिरहेका थिए । आक्रमणकारीहरूलाई पक्रन प्रहरीले विभिन्न क्षेत्रमा अपरेशन सुरु गरेको छ र आक्रमणको पछाडिको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । 

एनसीपी गत वर्ष बंगलादेशमा ठुलो आन्दोलन खडा गर्ने विद्यार्थीहरूबाट बनेको पार्टी हो, जसपछि शेख हसिनाको तख्तापलट भएको थियो । यो आक्रमण यस्तो समयमा भएको छ, जब सम्पूर्ण बंगलादेशमा तनावको माहोल छ । केही दिनअघि ढाकामा विद्यार्थी नेता शरीफ उस्मान हादीको गोली हानेर हत्या गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप