राखेप बोर्ड बैठक : राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका पारित
सारांश
- राखेपको १२४ औँ बोर्ड बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१ लाई तेस्रो संशोधनसहित पारित गर्यो।
- दशौँ राष्ट्रिय खेलकुद र प्रथम पारा राष्ट्रिय खेलकुदको आयोजनाका लागि खाका तयार पार्यो, खेल र खेलाडीको संख्याबारे छलफल हुनेछ।
- बैठकले सातदोबाटोमा 'जेनजी शहीद स्मृति पार्क' बनाउने र अडिटोरियम हललाई 'जेनजी स्मृति अडिटोरियम हल' नामकरण गर्ने निर्णय गर्यो।
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा सम्पन्न राखेपको १२४ औँ बोर्ड बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।
बुधबार युवा तथा खेलकुद मन्त्रालयमा बसेको बोर्ड बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१ लाई तेस्रो संशोधनसहित पारित गर्नुका साथै आगामी दसौँ राष्ट्रिय खेलकुद र सन् २०२६ को एसियाली खेलकुदमा नेपालको सहभागिता सुनिश्चित गरेको छ ।
बैठकले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रथम पारा राष्ट्रिय खेलकुदको आयोजनाका लागि पनि खाका तयार पारेको छ । यी प्रतियोगितामा समावेश गरिने खेल सङ्ख्या र खेलाडी कोटाबारे कार्यकारी समितिले छलफल गरी सिफारिस गर्नेछ । साथै, प्रतियोगिताको तयारीका लागि प्रदेश खेलकुद परिषद् र विभागीय टोलीहरूलाई पत्राचार गर्ने निर्णय पनि भएको छ ।
यसैगरी, बैठकले चालू आर्थिक वर्षका लागि नेपाल सरकारबाट विनियोजित वार्षिक योजना, कार्यक्रम र बजेटका साथै राखेपको आन्तरिक अनुमानित आय–व्ययलाई अनुमोदन गरेको छ ।
भौतिक पूर्वाधारतर्फ, अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा ‘जेनजी शहीद स्मृति पार्क’ निर्माण गर्ने र त्यहाँ रहेको अडिटोरियम हललाई ‘जेनजी स्मृति अडिटोरियम हल’ नामकरण गर्ने निर्णय भएको छ ।
सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने महत्त्वपूर्ण निर्णय पनि यसै बोर्ड बैठकले गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण