मुगुमा इन्फ्लुएन्जा प्रकोपः २४ घण्टाभित्र विशेषज्ञ टोली पठाउन माग
सारांश
- मुगुमा इन्फ्लुएन्जाको प्रकोप बढेपछि युवाहरूले विशेषज्ञ चिकित्सक टोली पठाउन माग गरेका छन्।
- अस्पतालमा बिरामीको चाप बढ्दो छ, तर उपकरण र जनशक्तिको अभावले उपचारमा समस्या भएको छ।
- प्रकोपका कारण बाम गाउँमा १७ दिनमा ५ जनाको मृत्यु भयो, युवाहरूले सरकारको हस्तक्षेपको माग गरेका छन्।
मुगु । मुगुमा फैलिएको इन्फ्लुएन्जा (भाइरल ज्वरो) को प्रकोप गम्भीर बन्न थालेपछि युवाहरूले तत्काल विशेषज्ञ चिकित्सक टोली पठाउन माग गरेका छन् ।
स्थानीय युवा आशीष देवकोटाको नेतृत्वमा गएका युवाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा त्रिपाठीसमक्ष यस्तो माग गरेका हुन् । उनीहरूले मुगु जिल्ला अस्पतालको कमजोर अवस्था र दिनानुदिन बढ्दो बिरामीको चापले स्थिति नियन्त्रणबाहिर जान सक्ने भन्दै आपतकालीन हस्तक्षेप अपरिहार्य भएको बताएका छन् ।
स्थानीयका अनुसार हाल मुगु जिल्ला अस्पतालमा दैनिक २०० भन्दा बढी इन्फ्लुएन्जा सम्बन्धी बिरामी उपचारका लागि पुगिरहेका छन्, तर अस्पतालमा जम्मा ५० शय्या मात्र उपलब्ध छन् । यहाँ लामो समयदेखि एक्सरे मेसिन बिग्रिएको, आवश्यक औषधि र मेडिकल उपकरणको गम्भीर अभाव छ भने अक्सिजन प्लान्टसमेत सञ्चालनमा नरहेको अवस्था छ । यसले गर्दा गम्भीर अवस्थाका बिरामीको उपचारमा ठुलो समस्या भइरहेको स्थानीयको गुनासो छ ।
प्रकोपबिच १७ दिनभित्र रारा छायानाथ नगरपालिका वडा नम्बर १२, बाम गाउँमा मात्रै ५ जनाको मृत्यु भइसकेको छ । मृतकहरू शिशु र साना बालबालिकासमेत रहेका छन् । यति गम्भीर अवस्था हुँदासमेत केन्द्र सरकारको स्पष्ट र प्रभावकारी हस्तक्षेप नदेखिएको भन्दै युवाहरूले प्रश्न उठाएका छन् ।
युवाहरूले मन्त्रीलाई बुझाएको मागपत्रमा संक्रामक रोग विशेषज्ञसहितको आपतकालीन चिकित्सक, नर्स र प्राविधिक टोली २४ घण्टाभित्र मुगु पठाउन भनिएको छ । बिग्रिएको अक्सिजन प्लान्ट र एक्सरे मेसिन तत्काल मर्मत वा प्रतिस्थापन गर्न, इन्फ्लुएन्जा तथा श्वासप्रश्वाससम्बन्धी पर्याप्त औषधि र उपकरण आपूर्ति गर्न माग गरिएको छ । साथै हालको ५० शय्या क्षमतालाई आपतकालीन रूपमा आईसीयू सेवासहित कम्तीमा १०० शय्यामा विस्तार गर्नुपर्ने माग पनि अघि सारिएको छ ।
युवाहरूले २०६६ सालको जाजरकोट केन्द्रित झाडापखाला र हैजाको महामारीको स्मरण गराउँदै समयमै हस्तक्षेप नगर्दा ठुलो मानवीय क्षति भएको इतिहास दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने बताएका छन् । 'कर्णालीले सधैँ सहेर बाँच्न सिकेको छ, तर सहनशीलताको पनि सीमा हुन्छ,' उनीहरूले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण