बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
स्वास्थ्य

कति खतरनाक छ सुपर फ्लु ?

शनिबार, १२ पुस २०८२, ११ : ००
शनिबार, १२ पुस २०८२

सारांश

  • विश्वभर सुपर फ्लु तीव्र गतिमा फैलिरहेको छ, जसले नेपालमा पनि सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना गरेको छ।
  • नेपालमा एचथ्रीएनटु भाइरस देखिएको छ, तर सुपर फ्लुको सब-क्लाड 'के' भाइरस आए-नआएको यकिन भएको छैन।
  • वैज्ञानिकहरूले सुपर फ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको र खोप प्रभावकारी रहेको बताएका छन्, तर सतर्कता अपनाउन आवश्यक छ।
00:00 / NaN:NaN
Audio By AI

पछिल्लो समय विश्वमा फ्लु भाइरस तीव्र गतिमा फैलिरहेको छ। नेपालमा पनि रुघाखोकीको लक्षण भएका बिरामीहरू बढेका छन्। नेपालमा विशेषतः फ्लु ‘ए’ र ‘बी’ भाइरस हरेक वर्ष देखिने गर्छन्।

फ्लु ‘ए’ अन्तर्गत एचवानएनवान (H1N1- जसलाई स्वाइन फ्लुको नामले पनि चिनिन्छ) तथा एचथ्रीएनटू (H3N2- जसलाई हङकङ फ्लुको नामले पनि चिनिन्छ) भाइरस देखिने गर्छन्। यी दुई भाइरस हरेक सिजनमा सँगसँगै जस्तो देखिने गरे पनि कहिले स्वाइन फ्लु त कहिले हङकङ फ्लुले अग्रता लिने गरेको पाइन्छ।

हाल यी दुईमध्ये एचथ्रीएनटू आक्रामक रूपमा विश्वभर फैलिरहेको छ। फ्लु सिजनमा भाइरस फैलिनुलाई स्वाभाविक मानिए पनि हाल फैलिरहेको एचथ्रीएनटुमा देखिएको व्यापक म्युटेसन (उत्परिवर्तन) ले भने चिन्ता र जिज्ञासा बढाएको छ।

विशेषतः हाल अमेरिका, युरोपलगायत विभिन्न देशहरूमा यो नयाँ भाइरसले साबिकको (म्युटेसन हुनुभन्दा अगाडिको) जीन संरचनाभन्दा म्युटेड भइसकेपछि सङ्क्रमितलाई अस्पताल भर्ना गराउन सक्ने क्षमता बढेको जानकारीहरू आइरहेका छन्। हाल विश्व स्वास्थ्य संगठनका आधाभन्दा बढी युरोपेली सदस्य राष्ट्रहरूमा (३८ मध्ये २७ देशहरू) यो नयाँ भाइरस तीव्र रूपमा फैलिरहेको तथ्य प्रकाशित भएको छ।

यो नयाँ भाइरसलाई हाल एचथ्रीएनटू अन्तर्गतको सब-क्लाड ‘के’ (Sub-clade ‘K’) नामकरण गरिएको छ भने सञ्चार माध्यमहरूले यसलाई ‘सुपर फ्लु’ को उपनाम दिएका छन्।

नेपालमा सन् २०२५ को सुरुवातदेखि नै एचथ्रीएनटू भाइरसको दबदबा देखिन्छ। फ्लु ‘ए’ अन्तर्गतको अर्को भाइरस एचवानएनवानको उपस्थिति भने नगण्य रूपमा मात्र रहेको पाइन्छ।

नेपालमा एचथ्रीएनटु देखिएको भए पनि हाल विश्वमा देखिएको सब-क्लाड ‘के’ भाइरस आइपुगेको छ वा छैन भन्ने जानकारी भने छैन। यो लेख तयार पार्दासम्म छिमेकी मुलुक भारतमा पनि ‘सुपर फ्लु’ पुष्टि भएको वा फैलिएको आधिकारिक जानकारी आएको छैन। वैज्ञानिकहरूले एचथ्रीएनटु सब-क्लाड ‘के’ अथवा ‘सुपर फ्लु’ देखि आत्तिनु पर्दैन भनिरहेका छन् र हाल उपलब्ध फ्लुविरुद्धको खोप प्रभावकारी नै रहेको बताएका छन्।

हालै युरोपमा गरिएको र नोभेम्बर २०२५ मा युरो सर्भिलेन्स जर्नलमा प्रकाशित अनुसन्धानले यो नयाँ भाइरसका कारण अस्पताल जानुपर्ने जोखिमलाई न्यूनीकरण गर्न खोपले वयस्कमा ३९% र बालबालिकामा ७५% सम्म काम गर्ने क्षमता देखाएको छ। तर अमेरिका र बेलायतमा कार्यरत स्वास्थ्यकर्मीहरूले भने यही भाइरसले उल्लेखनीय संख्यामा बिरामीलाई अस्पताल भर्ना गराइरहेको बताएका छन्। यो सम्भवतः फ्लुविरुद्धको खोप नलगाउनुको कारण पनि हुन सक्छ।

फ्लु सङ्क्रमित भएमा अचानक उच्च ज्वरो आउने वा जाडो हुने, खोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट पानी बग्ने, टाउको दुख्ने, शरीर वा मांसपेशी दुख्ने र थकान महसुस हुने हुन्छ। बालबालिकामा बान्ता हुने तथा पखाला लाग्ने समस्या पनि देखिन सक्छ।

तीव्र रूपमा फैलिरहेको ‘सुपर फ्लु’ भाइरसका लक्षणहरू पनि यी सामान्य लक्षणभन्दा खासै फरक नभएको हाल उपलब्ध जानकारीहरूले देखाउँछन्। यदि श्वास-प्रश्वासमा समस्या देखिएमा त्यसलाई जटिलतातर्फ गइरहेको संकेतका रूपमा लिनुपर्छ।

ज्वरो वा खोकीमा सुधार भई वा निको भइसकेपछि पनि पुनः देखिएमा वा फर्किएमा यसलाई गम्भीर संकेत मान्नुपर्छ। अधिकांशमा केही दिनको आरामपछि स्वास्थ्यमा सुधार आउने भए पनि दीर्घरोगीहरूले भने स्वास्थ्यकर्मीको सुझाव लिन जरुरी हुन्छ।

जोखिम समूहका संक्रमित बिरामीहरूले चिकित्सकको परामर्शमा फ्लुविरुद्धको ‘ओसेल्टामिभिर’ (Oseltamivir) नामक औषधि प्रयोग गर्न सक्नेछन्। औषधिले लक्षणको अवधि घटाउन र सम्भावित जटिलताबाट रोक्न प्रभावकारी भूमिका खेल्छ। फ्लुविरुद्धका खोपहरू पनि उपलब्ध छन्। ज्येष्ठ नागरिक, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, गर्भवती महिला र बालबालिकाहरू फ्लुको बढी जोखिममा हुने हुँदा उनीहरूले खोप लिनु उपयुक्त हुन्छ।

अन्त्यमा, यो भाइरसलाई ‘सुपर फ्लु’ को उपनाम दिइएको भए पनि वैज्ञानिकहरूले यसलाई मौसमी फ्लुकै रूपमा लिएका छन् र म्युटेसन हुनुलाई स्वाभाविक मानेका छन्। तर शरीरमा विकसित एन्टिबडी (विगतमा संक्रमित भाइरसका कारण बनिसकेका एन्टिबडी) ले यो नयाँ भाइरसविरुद्ध पर्याप्त सुरक्षा दिन नसक्ने सम्भावनाले भने चिन्तित पारेको छ, तसर्थ खोप लगाउन चिकित्सकहरूको सुझाव छ। हालै गरिएको अनुसन्धानले पनि उपलब्ध खोपले नयाँ भाइरसविरुद्ध प्रभावकारी रूपमा नै काम गरेको देखाएको थियो।

‘सुपर फ्लु’ विश्वमा तीव्र रफ्तारमा फैलिरहेको भए पनि नेपालमा यसले कस्तो प्रभाव पार्नेछ, त्यो भने हेर्न बाँकी नै छ। तर विश्वमा ‘सुपर फ्लु’ ले हाल पारिरहेको प्रभाव र अनुभवलाई आधार मानेर सतर्कता अपनाउन भने सकिन्छ। यसबाट ‘सुपर फ्लु’ का कारण हुनसक्ने सम्भावित अस्पताल भर्नालाई हदैसम्म घटाउन मद्दत मिल्नेछ।

डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप