सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

झापाका किसानलाई रासायनिक मलको अभाव

आइतबार, ०३ साउन २०८३, २० : ०६
आइतबार, ०३ साउन २०८३

झापा। धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला झापामा रासायनिक मलको अभाव भएको छ। आवश्यक परिमाणको एक चौथाइभन्दा कम मात्र मल उपलब्ध हुँदा यस वर्ष धान उत्पादनमा प्रत्यक्ष असर पर्ने सम्भावना बढेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन्।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा धानबालीका लागि १३ देखि १४ हजार मेट्रिकटन युरिया आवश्यक पर्छ । हालसम्म करिब दुई हजार ४०० मेट्रिकटन मात्र आपूर्ति भएको छ।

त्यसैगरी करिब आठ हजार मेट्रिकटन डिएपी आवश्यक रहेकामा हालसम्म दुई हजार ५०० मेट्रिकटन मात्रै उपलब्ध भएको छ।

“धानबालीको मुख्य समयमा आवश्यकमात्रामा रासायनिक मल उपलब्ध हुन नसक्दा किसानले समयमा मल हाल्न पाएका छैनन्। यसले बोटको वृद्धि र उत्पादन दुवैमा असर पार्ने जोखिम बढाएको छ”, प्रमुख विष्टले बताए।

उनका अनुसार मल अभावकै कारण धेरै किसानले अग्र्यानिक (जैविक) मल प्रयोग गरेर रोपाइँलाई निरन्तरता दिएका छन् । पछिल्ला वर्षहरूमा अग्र्यानिक मलप्रति किसानको आकर्षण बढ्दै गए पनि यसको प्रभाव देखिन केही समय लाग्ने भएकाले तत्काल उत्पादनका लागि किसानहरू अझै पनि रासायनिक मलमै बढी निर्भर छन्।

झापाको गौरादह–५ का किसान राजेन्द्र अधिकारीले भने, “रोपाइँ त सकियो, तर मल नपाएपछि खेतको हरियाली कसरी जोगाउने भन्ने चिन्ता छ । समयमै मल नपाए उत्पादन घट्ने डर सबै किसानमा छ ।”

किसान मिना राजवंशीले पनि सरकारले समयमै मलको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, “बीउ, श्रम र सिँचाइमा ठूलो लगानी गरिसकेका छौँ । अहिले मल नपाउँदा सबै मेहनत खेर जाने हो कि भन्ने चिन्ता लागेको छ ।”

हालसम्म जिल्लामा ६१ दशमलव आठ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ। किसानले तत्काल पर्याप्त परिमाणमा रासायनिक मल आपूर्ति गर्न, वितरण प्रणालीलाई सहज बनाउन तथा वैकल्पिक मलको प्रयोगलाई थप प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप