बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

‘विवादित पात्र’ रविसँग जोडिनासाथ बालेनको आकर्षण घट्ने महेश बस्नेतको दाबी

‘संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनैपर्छ’
आइतबार, १३ पुस २०८२, ११ : ५३
आइतबार, १३ पुस २०८२

सारांश

  • एमाले सचिव महेश बस्नेतले रवि र बालेनको गठबन्धनले बालेनको लोकप्रियता घटाउने बताए।
  • बस्नेतले बालेन र रविको गठबन्धनमा भूराजनीतिक द्वन्द्व र अस्थिरताको षडयन्त्रको आशंका व्यक्त गरे।
  • उनले पुराना दललाई सराप्ने रास्वपाको राजनीतिले जनतासँगको दूरी बढाउने दाबी गरे।

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले नगरपालिका चलाउन नसक्ने पात्रले देश चलाउँछ भन्ने भ्रम पाल्न नहुने बताएका छन्। 

 रवि बालेन गठबन्धनपछिको धारणा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै बस्नेतले काण्डै काण्डका बासी पात्र रविसँगको गठबन्धनले बालेनको स्वतन्त्र छवि पनि तीव्र गतिमा घट्ने बस्नेतको दाबी छ । 

‘बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो । रविजस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तीव्र गतिमा घट्ने देखिन्छ’ बस्नेतले लेखेका छन्, ‘काम गर्ने कालु ,मकै खाने भालु भनेजस्तै रास्वपाको राजनीति पुराना दललाई सराप्ने र सत्ताको भर्‍याङ चढ्ने बाहेक स्पष्ट दिशा र भिजन आधारित नहुँदा जनतासँगको दुरी झन् बढ्दै जाने र जनमत कमजोर हुँदै जाने निश्चितै छ ।’

भदौ २४ गते राज्य र लोकतन्त्रका आधार स्तम्भ माथि आक्रमण गरेर नेपाललाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर अस्थिरताको षडयन्त्र रचिएको बस्नेतको भनाइ छ । ‘यो षडयन्त्रमा बालेन र रविको  प्रत्यक्ष अप्रत्यक्ष भूमिका देखिनु, माओवादी ,राजावादी धारहरूको समर्थन देखिनु गम्भीर विषय हो ’ बस्नेतले लेखेका छन् । 

 बस्नेतले सामाजिक सञ्जालमा लेखेको पूर्ण पाठ यस्तो छ : 

रवि बालेनको एकता बारे।

नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिन्छ। गगन आए, जबरजस्त बासी बनाइए। काण्डै–काण्डका नाइके रवि आए, उनी पनि बासी भए। लोकप्रियताको आडमा बालेन आए—तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ। अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ।

बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो। रवि जस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तीव्र गतिमा घट्ने देखिन्छ। “काम गर्ने कालू, मकै खाने भालु” जस्तै, रास्वपाको राजनीति पुराना दललाई सराप्ने  र सत्ताको भर्‍याङ चढ्ने बाहेक स्पष्ट दिशा र भिजन आधारित नहुँदा जनता सँगको दूरी झन् बढ्दै जाने र जनमत झन् कमजोर हुँदै जाने  निश्चितै छ।

भाद्र २३ गतेको शान्तिपूर्ण प्रदर्शन योजनाबद्ध मुठभेडमा परिणत गराइयो र केही युवाले ज्यान गुमाए। त्यसको भोलिपल्ट भाद्र २४ गते राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गरियो। यी घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण हुन्। यसमा बालेन र रविको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका  देखिनु, साथै माओवादी र राजावादी धाराहरूको समर्थन देखिनु गम्भीर विषय हो।

अबको चुनावको  मुख्य प्रश्न , सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउने अराजकतालाई रोज्ने कि ती संरचना बनाउने र भत्काउनेमाथि कारबाही गर्ने राजनीति दललाई साथ दिनेहरू जलाउने धारको नेतृत्व बालेन–रविहरूले गरेकै हुन, संरचना जोगाउने जिम्मेवारी पुराना दलहरूले नै वहन गर्नुपर्ने यथार्थ देखिएको छ।

समस्या पुराना दलको अस्तित्व होइन, तिनको कतिपय विकृति हो। नयाँ दल खोल्नु समाधान होइन, पुराना दललाई परिमार्जन गर्दै राजनीति सुधार गर्नु हो। रवि र बालेन केन्द्रित व्यक्तिवादी स्वार्थको अभियान दीर्घकालीन सुधारको स्पष्ट खाकाबिना पार लाग्दैन।

यस्तो गम्भीर घडीमा संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनैपर्छ। नत्र नयाँ बोतलमा पुरानै रक्सी पिइरहँदा हामी फेरि–फेरि उही भ्रमको सिकार भइरहनेछौँ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप