‘नेताहरूको भिजुअल पोलुसनले जेनजी आन्दोलन भयो’
सारांश
- डा. रुद्र अर्याल, अमेरिकामा बसोबास गर्दै आएका नेपाली वैज्ञानिक हुन्, जसले नेपालमा वायु प्रदूषणबारे अनुसन्धान गरिरहेका छन्।
- उनले नेपाल र अमेरिकाबीचको शिक्षा र सामाजिक कार्यमा सहयोग पुर्याइरहेका छन्, र नेपालको राजनीतिक अवस्था र युवा पुस्ताको आन्दोलनबारे आफ्नो धारणा राखे।
- अर्यालले नेपालमा युवा पुस्ताको सक्रियता र राजनीतिक परिवर्तनको सम्भावनाबारे विचार व्यक्त गर्दै, पुराना राजनीतिक दल र नयाँ वैकल्पिक पार्टीहरूको भूमिकाको समीक्षा गरे।
काठमाडौं । अमेरिका जानुअघि त्रिचन्द्र लगायत विभिन्न कलेजमा भौतिकशास्त्र पढाउँथे रुद्र अर्याल । अध्ययनकै क्रममा २२ वर्षअघि अमेरिका पुगे । त्यहाँको फ्लोरिडास्थित मायामीबाट भौतिकशास्त्रमा विद्यावारिधि गरे । उनी १० वर्षदेखि यु ह्याम्सायरस्थित फ्रयाङ्कलिन पियर्स युनिभर्सिटीमा प्राध्यापन गर्दै आएका छन् ।
यो विश्वविद्यालय अमेरिकाका भूतपूर्व राष्ट्रपति फ्रयाङ्कलिन पियर्सको नाममा स्थापित युनिभर्सिटी हो । उनी यो युनिभर्सिटीमा फिजिक्स संकायमा नेतृत्वदायी भूमिका निभाइरहेका छन् । यही युनिभर्सिटीमार्फत नेपालमा पनि रिसर्चका काम गर्ने गर्छन् । रसिक, सरल र सहयोगी मनका अर्याल अमेरिकामा मात्र नभएर नेपालमा पनि विभिन्न क्षेत्रमा सामाजिक काममा सक्रिय छन् ।
विशेषगरी विद्यालय, मन्दिर, पुस्तकालय, विज्ञान प्रयोगशाला जस्ता क्षेत्रमा अर्यालले सहयोग गर्दै आएका छन् । उनी एनआरएन अमेरिकाको पूर्व सल्लाहकार पनि हुन् । एयर पोलुसन ट्रान्समिसन अर्थात् हावामा रहेको प्रदूषण एक ठाउँबाट अर्को ठाउँमा कसरी सर्छ भन्ने विषयको अनुसन्धानका लागि नेपाल आएका डा. अर्यालसँग पाल्पाको रामपुरदेखि काठमाडौं अनि अमेरिकासम्मको यात्रा, अमेरिकाबाट नेपाल कस्तो देखिँदैछ ? लगायत विविध विषयमा रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न सकिन्छ) :
२२ वर्षदेखि अमेरिका बसिरहनुभएको छ । त्यहीँबाट विद्यावारिधि गर्नुभयो । पढ्नुभयो, पढाउनुहुन्छ । अनुभव कस्तो छ ?
मलाई एकदम खुल्दुली थियो । के खाले, कस्तो खाले पढाइहरू हुन्छ भन्ने कुरामा । विशेषगरी फिजिक्समा पनि एट्मोस्फेरिक डाइनामिक्स भनिन्छ । एयर पोलुसनहरू कसरी एक ठाउँबाट अर्को ठाउँसम्म जान्छ भन्ने अध्ययन गर्ने एउटा रहर थियो । युनिभर्सिटी अफ मायामीमा राम्रो प्रोग्राम रहेछ र म पढ्न त्यहाँ गएँ । अर्को, नेपाली समुदायसँग म सक्रिय रुपमा संलग्न भएँ । नेपाललाई कसरी सहयोग गर्ने ? नेपालको शिक्षालाई कसरी सहयोग गर्ने ? त्यहाँको आफ्नो गतिविधिलाई कसरी बढाउने भन्नेमै केन्द्रित रह्यो । २२ वर्ष त यति छिटो बितेछ ।
अमेरिका बसेपनि नेपाल र नेपालीसँगको सम्बन्ध ताजै बनाइरहनुभएको छ होइन त ?
म प्रत्येक वर्ष नेपाल आउने गर्छु । यहाँ आउँदा विभिन्न स्कुललाई सहयोग गर्छु । पाल्पामा आफूले पढेका ठाउँहरूमा कम्प्युटर ल्याबको स्थापनामा सहयोग गरेँ । धेरै विद्यार्थीलाई सहयोग पनि गरेको छु ।

अमेरिकामा रहेका विविध क्षेत्रका नेपालीहरूको आइडियालाई नेपालमा ट्रान्सफर कसरी गर्ने विषयमा कार्यक्रम पनि गर्ने गर्छु । यसरी अमेरिका २२ वर्ष बसे पनि आफ्नै नेपालमा बसे जस्तो अनुभव मैले लिन पाएको छु ।
अहिले नेपालीहरूलाई अमेरिकामा अलि गाह्रो भएको छ भन्ने सुनिन्छ । डिपोर्ट नै पनि गरिराखेको अवस्था छ नि ?
अमेरिकामा सबैभन्दा चाँडो परिवर्तन हुने विदेश नीति हो । अमेरिकाले बाहिरी संसारलाई हेर्ने दृष्टिकोण के छ भन्ने कुराको बारेमा सबैभन्दा महत्त्व राख्छ । चुनावी मुद्दा नै त्यही बन्छ । नेपालीहरूलाई डिपोर्ट गर्ने जहाँसम्म कुरा छ, गैरकानुनी रुपमा बस्ने सिनारियोहरू भयो भने त्यसलाई पहिलेभन्दा यसपालि कडाइका साथ निगरानी गरेको छ । त्यसको परिणाम नेपालीहरु पनि डिपोर्ट भए । नेपालीको त सानो उदाहरण हो । अन्य देशका धेरै छन् ।
अमेरिकाभित्रै चाहिँ कति सुरक्षित महसुस गरेका छन् नेपालीहरूले ?
डकुमेन्ट हुनेहरु सुरक्षित नै हुन्छन् । सबै कुरामा आत्तिने भन्ने पनि हुँदैन । म जहिले सुरक्षित फिल गर्छु, जहाँ गए पनि । गल्ती गरेको छ अनि कसैले एक्सन लियो भने किन त्यसले एक्सन लियो ? भन्नु भएन नि त । गल्ती छ भने एक्सनलाई स्वीकार्नुपर्यो । गल्ती नगरी कसैले एक्सन लियो भने त्यसका निम्ति लड्ने विभिन्न उपाय हुन्छन् ।
तपाईंको आफ्नै विषय छ, त्यसले नेपाललाई कस्तो असर गरिरहेको छ । अर्थात् एट्मोस्फियर एयर पोलुसन ट्रान्समिसनको अवस्था कस्तो छ ?
मेरो पीएडी पनि त्यसैमा हो । त्यसपछि अध्ययन, रिसर्च पनि त्यसैमा गरेँ लामो समय । अहिले नेपालकै पनि अध्ययन गरिरहेको छु ।
अध्ययनले के देखायो ?
एयर पोलुसन छ । नेपालको जिओग्राफिकल लोकेसनका कारण ती समस्या आएका छन् । आउँछन् ।
भूराजनीतिक अवस्थितिले राजनीतिक प्रदूषण मात्र ल्याउँछ किन भनेको वातावरणीय प्रदूषण पनि ल्याउने रहेछ ?
५० वर्ष पहिलाको सगरमाथाको हिउँको र अहिलेको हिउँको रङ नै फरक छ । त्यो किनभन्दा एयर पोलुसनले हो । कार्बन आएर हिउँको रङ परिवर्तन भयो ।
यो कहाँबाट आयो त ?
यो प्रदूषण भारत, पाकिस्तान अनि मध्यपूर्वका देशहरुबाट आयो । एयर पोलुसन हावामा धेरै माथिबाट उडेर आउँछ । सगरमाथा अग्लो भएको भएर त्यहाँ ठोक्कियो । सगरमाथाको उचाईले गर्दा त्यो तिब्बेतियन प्लेटतिर जान पाएन । त्यही ब्लक हुने भयो । त्यो सबै कन्सन्ट्रेसन एयर पोलुसन हामीले भोग्नुपर्यो । अझ काठमाडौँको बनावट कचौरा आकारको छ । यसको एक्जिट एउटा नगरकोट हो । अलिअलि साङ्गाबाट जान्छ । एक्जिट नहुने बित्तिकै त्यो एयर पोलुसन त्यहीँ रहन्छ ।
अमेरिकामा बसेर नेपालको राजनीतिलाई कसरी नियालिरहनुभएको छ ?
कहिलेकाहीँ इन्ट्रेस्टिङ लाग्छ । कुनै नेताले नेपाललाई स्वीट्जरल्याण्ड बनाइदिन्छु भनेर भाषण गर्छन् । तल बस्नेले ताली बजाउँछन् । तर स्वीट्जरल्याण्ड त्यो नेता पनि पुगेको छैन । उसलाई स्वीट्जरल्याण्डको बारेमा थाहा पनि छैन । तल बसेर ताली बजाउनेलाई पनि स्वीट्जरल्याण्डको बारेमा थाहा छैन । त्यसकारण यहाँ दुइटै पक्षमा अलिकति कमजोरी छन् । लिडरसिपको पनि कमजोरी देखियो । अनि अडियन्सहरूको पनि ।
हाम्रोमा जस्तो अमेरिकामा यस्तो चाखलाग्दो हुँदैन राजनीति ?
अमेरिकनहरूमा पनि हुन्छ । अमेरिकामा पनि पोलिटिक्स हेरियो भने सिनेटरहरूको फाइट, प्रेसिडेन्टहरूको फाइट देखिन्छ । बोल्ने कुरामा कहिलेकाहीँ हाम्रोमा भन्दा पनि तल झरेका हुन्छन् ।
फरक के त ?
तिनीहरूको तलैबाट सिस्टमले समातिरहेको हुन्छ । माथिको भल्गर डिस्कसनले कुनै असर पार्दैन । तर हाम्रो सबै कुरा राजनीतिसँग जोडिएको हुन्छ । यत्तिसम्म कि जग्गाको किनबेचमा पनि राजनीति जोडिएको हुन्छ । त्यसकारण यहाँ राजनीतिको छुट्टै खाले भ्यालु गराइएको छ ।

अर्को कुरा, विरोध गर्ने मात्रै बढी भयो । मेरो जीवनको, व्यापारको, शिक्षाको लागि मेरो योगदान के छ ? त्यो हामीले व्यक्तिगत रुपमै सोच्नुपर्ने समय आयो ।
कहिलेकाहीँ के भनिन्छ भने आज अमेरिका जहाँ छ, यो अमेरिका यहाँ आइपुग्नलाई २०० वर्षभन्दा बढी समय लागेको छ । अनि त्यहाँ बसेर यहाँ हामीलाई हेरेर हुन्छ भनेको पनि सुनिन्छ नि ?
अमेरिकाको छुट्टै इतिहास छ । त्यहाँको सिभिल वारमा मिलियन्स मानिसहरू मरे । आन्तरिक द्वन्द्वहरू भए । आफ्नै स्लेभरीका कुराहरू भए । स्लेभका कुराहरू भए । अनि रेसियल डिस्क्रिमिनेसनका कुरा भए । त्यहाँ सबै किसिमका वारका कुरा छन् । त्यति मात्रै होइन, अमेरिकाको स्थापना गर्न जुन जनसंख्या आयो, त्यो जनसंख्या पनि युरोपमा लडेर आएको थियो ।
उनीहरूले आफ्नो घर बनाउनुभन्दा पहिला, सबैभन्दा राम्रो लाइब्रेरी बनाए । अमेरिकाको लाइब्रेरी एकदम परफेक्ट हुन्छ, एकदम स्ट्यान्डर्ड हुन्छ । त्यहाँ मान्छेहरू जम्मा हुन्छन्, छलफल हुन्छ । तपाईं अनुमान गर्नु न, एउटा सार्वजनिक पुस्तकालयमा बसेर हुने छलफल गर्नु र रेस्टुरेन्टमा बसेर छलफल गर्नु कति फरक होला ? उही मान्छेहरू हुन् तर लोकेसनले कस्तो इम्प्याक्ट पार्छ ।
हाम्रोमा पठन संस्कृति नहुँदा समस्या भएको भन्ने तपाईंको भनाइ हो ?
नेता हुने बित्तिकै जे पनि जानेको हुनुपर्दैन नि । तर यहाँ समस्या के भयो भने न्युक्लियर बम कसरी बनाउने भन्ने पनि उसलाई थाहा छ । तारामा जाने कुरा पनि थाहा छ भन्छ । अनि ड्रिल गर्ने जमिनमुनिको पनि थाहा छ । फिजिक्सको नोबेल प्राइजको कुरा गर्यो भने त्यो त हामीले जानिसकेका छौँ भन्ने कुरा हुन्छ । सबै कुरा जानेको बन्नुपर्ने हुन्छ । सिक्ने, लर्निङ प्रोसेसहरूलाई यहाँको लिडरहरूले अलिकति ध्यान दिनुपर्छ ।
सोचेजति नेपाल बन्न नसक्नुमा नेता मात्रै समस्या हो र ?
नेपालमा त्यति युद्धहरु भएनन् । सिभिल वारको इतिहास कहिल्यै रहेनछ । पृथ्वीनारायण शाहको युद्धको कुरा त छन्, त्यसमै पनि पृथ्वीनारायण शाहले कीर्तिपुरमा आक्रमण गरेको कारण कीर्तिपुर बासीहरूको फिलिङ कस्तो खाले छ ? फरक छ नि ? त्यस्तै अमेरिकामा पनि सिभिल वार भइसकेपछि कसरी जाँदा ठीक हुन्छ भनेर भयंकर ठुलो म्यासेकरबाट एउटा आइडिया विकास भयो ।
भारतमा भारतीय जनताको राष्ट्रियताप्रतिको भावना किन बलियो छ भने ब्रिटिसहरू आएर लिए । हाम्रो के छ भने जतिबेला पनि जितेका कथा मात्रै पढ्यौं । हामीले दुःख कहिले पाएका छैनौँ । एउटा नियमै छ, दुःख नपाएको मान्छेको गफ गरेर बस्ने बानी हुन्छ । समस्या यो पनि हो ।
केही नै नभएको हो र ?
नेपालको प्रगति नभएको होइन । बाटाघाटा परिवर्तन भएका छन् । मान्छेहरूको स्टाटस राम्रो छ । गाडी व्यक्तिगत छन् । फोन, इन्टरनेट संसारमा नभएको सुविधा यहाँ छ । अमेरिकामा बरु कोभिड भएको बेलामा कति ठाउँमा इन्टरनेट नभएर पनि क्लास हुन सकेन ।
परिवर्तन गर्नुपर्ने चाहिँ के देख्नुहुन्छ ?
हामी खाली अर्काकोलाई राम्रो भन्छौँ । नेपाल बसेर जतिबेला पनि अमेरिका कति राम्रो छ । युरोप कति राम्रो छ भन्छौं । तर त्यहाँको समस्या हेर्दैनौँ । नबुझीकन अरुको प्रशंसा होइन कि आफूलाई कसरी लैजाने भन्ने एउटा डीपडाउन फिलिङ हामीले गर्नैपर्ने देखिन्छ ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनलाई कसरी हेर्नुभएको छ ?
संसारकै नियम के हो भने एउटा राजनीतिक नेता लामो समयसम्म नेतृत्वमा रह्यो भने उसले राम्रो गर्दागर्दै पनि त्यो भिजुअल पोलुसन हुन्छ । केही चीजलाई तपाईंले लामो समय देखिरहनुपर्यो भने पनि पोलुसन हुन्छ । नेपालमा ४६ सालदेखि जति हेरियो, उस्तै राजनीतिक नेताहरु देखिन्छ । कहिले छोड्छ, छोड्छ, थाहा छैन ?
आन्दोलनले राम्रै मात्र गर्यो र ?
योङ जेनेरेसनले छुट्टै रियाक्सन चाहन्छ । उसले राम्रो मात्रै चाहँदैन । डिस्ट्रक्सन पनि चाहन्छ । र कहिलेकाहीँ डिस्ट्रक्सन हुनु पनि पोजिटिभिटी हो । एभ्रिबडी क्यान आस्क द क्वेस्चन्स, यु आर नट द फाइनल ।

जेनजी पुस्ताले गरेको आन्दोलनको मूल कारण भिजुअल पोलुसन भन्नुभयो । त्यो भिजुअल पोलुसन त हट्ने देखिएन नि त ?
एकदमै टेन्सन भएको बेलामा रक्सी खाएर शान्त हुने कुरो जस्तो त होइन नि त । जेनजी पुस्तासँग अहिले त कुनै पोलिसी पनि छैन । फेसबुक खोलेन भनेर फाइट गर्ने भन्ने बित्तिकै त टपिक्स नै फरक बन्यो नि त ।
समस्याको समाधान अब नयाँ–नयाँ खुलेका पार्टीले दिन्छन् भन्ने भाष्य बनाइन थालिएको छ । अर्थात् पुराना भनिएका पार्टीलाई विस्थापित गरेर नयाँ पार्टी आउने र समाधान दिने । होला त समाधान ?
समाधान देखिँदैन । यो सम्भव नै छैन । यो त कस्तो भयो भने खाने कुरा नै छैन भने भोक हड्ताल गर्नु ठुलो कुरो भएन नि । तपाईंसँग खानै छैन, खानै पाउनुहुन्न भन्ने स्योर छ भने भोक हड्ताल बस्दिन्छु भन्नु छुट्टै भयो । तर तपाईंसँग खाना हुँदाहुँदै पनि भोक हड्ताल बस्छु भन्नुभयो भने फरक कुरा रह्यो । अहिले वैकल्पिक पार्टीका कुराहरू पनि विरोधको नामको कुरा मात्रै छ । राजनीतिक पार्टीको विरोध मात्रै समाधान होइन । त्यसका विधानहरू, त्यसको नीति, नियमहरू परिवर्तन गर्ने कुरा महत्त्वपूर्ण हुन्छ । पुराना भनिएका पार्टीहरुमा १० वर्षमा हुने विवाद, नयाँ पार्टीमा डेढ वर्षमा भएको देख्छु म त ।
तपाईं नेपालमै भएको समयमा एमालेको महाधिवेशन भयो । जेनजी आन्दोलनको माग नेतृत्व हस्तान्तरणको पनि थियो । त्यो हुन सकेन भन्ने तपाईंलाई लाग्यो ? कि जे भयो राम्रै भयो भन्ने लाग्यो ?
जेनजीहरूलाई एउटा बक्सभित्र हाल्ने होइन नि । जेनजी भनेको ओपन हो। दे ह्याभ टु बि रेडी टु फाइट । कसैले दिएको क्षेत्रभित्र लडेर बस्ने बित्तिकै त त्यो त कमजोर भइहाल्यो नि । जेनजीहरू पीडित होइन, यहाँको जीवनमा, यहाँको धर्ममा, यहाँको जात प्रणालीमा । जेनजी फाइटर हो । जेनजीले त के फाइट गर्नुपर्यो भने अध्यक्षमा उम्मेदवारी दिनुपर्यो । एमालेको महाधिवेशनमा अध्यक्षमा ४० वर्षभन्दा मुनिको लड्न नपाउने भन्ने कुरा त छैन । क्लस्टर बनाएर जेनजी ल्याउने होइन ।
अमेरिकामा फुड स्ट्याम्प भन्ने हुन्छ । वर्षको २२ हजार डलर भन्दा कम कमाउनेले फुड स्ट्याम्प पाउँछ । अनि एउटा समूहलाई त्यो सेट गरिदिएपछि उसको जिन्दगीभर त्यही फुड स्ट्याम्पको २२ हजार कमाउन मात्रै बसिरहेको हुन्छ । मिलियन्स अफ डलर, बिलियनार हुने भन्ने सपना नै देख्दैन । उसको सपना नै त्यो २२ हजार कमाउने वर्षको, त्यो अर्काले दिएको खाने भन्ने हुन्छ । ४० वर्षभित्र फाइट गर्छु भन्दै बस्ने बनाउने होइन हामीले ।
भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण