आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

सामसङ इनोभेसन क्याम्पसद्वारा एआई र बिग डेटा तालिम सम्पन्न, कोडिङको नयाँ ब्याच सुरु

बुधबार, १६ पुस २०८२, १५ : २८
बुधबार, १६ पुस २०८२

काठमाडौँ । सामसङ इनोभेसन क्याम्पस (एसआईसी) नेपालले सञ्चालन गरेको 'एआई तथा बिग डेटा' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सन् २०२५ को जुन २७ देखि डिसेम्बर ३१ सम्म सञ्चालित यो कार्यक्रम सम्पन्न भएसँगै क्याम्पसले कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याच समेत सुरु गरेको छ।

सामसङको विश्वव्यापी सीएसआर दृष्टिकोण “टुगेदर फर टुमरो! इनेबलिङ पिपल” अन्तर्गत सञ्चालित यो कार्यक्रमले नेपाली युवालाई डिजिटल अर्थतन्त्रका लागि तयार पार्ने लक्ष्य राखेको छ। कार्यक्रम समापन समारोहमा एआई तथा बिग डेटा तालिम पूरा गरेका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै, नयाँ ब्याचका विद्यार्थीहरूलाई स्वागत गरिएको छ।

नयाँ सुरु भएको कोडिङ तथा प्रोग्रामिङ कोर्सले उन्नत प्रविधि तालिमलाई आवश्यक 'सफ्ट स्किल्स' सँग जोड्दै विद्यार्थीहरूको डिजिटल साक्षरता, सिर्जनशीलता र समस्या समाधान क्षमता अभिवृद्धि गर्ने बताइएको छ।

कार्यक्रममा बोल्दै सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले युवाहरू नेपालको भविष्यको नवप्रवर्तनका प्रमुख संवाहक भएको बताए। उनले भने, “उनीहरूलाई भविष्य–तयार सीपले सुसज्जित गर्नु शिक्षा मात्र नभई देशको दीर्घकालीन प्रगतिमा गरिएको लगानी हो। हामी कोडिङ र समस्या समाधानमार्फत नेपालको डिजिटल क्षमतालाई थप सुदृढ बनाउने अर्को पुस्ताका शिक्षार्थीहरूलाई विकास गर्न प्रतिबद्ध छौं।”

एसआईसीको पाठ्यक्रम केवल सैद्धान्तिक ज्ञानमा सीमित नभई व्यावहारिक सिकाइमा आधारित रहेको छ। यसमा विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), बिग डेटा, इन्टरनेट अफ थिङ्स (IoT) तथा कोडिङजस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोग गरी वास्तविक जीवनका चुनौतीहरू समाधान गर्ने परियोजनाहरूमा काम गर्ने मौका पाउँछन्।

पुल्चोक क्याम्पसमा आयोजित उक्त समारोहमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका रेक्टर प्रा. डा. खड्ग के.सी., पुल्चोक क्याम्पसका प्रमुख डा. सञ्जय उप्रेती तथा डिन डा. सुशील बी. बज्राचार्यलगायतको उपस्थिति रहेको थियो।
सामसङले यस्ता पहलहरूमार्फत नेपालको प्रविधि इकोसिस्टमलाई सहयोग गर्दै युवाहरूलाई रोजगारीका लागि योग्य र भविष्य–तयार बनाउन निरन्तर काम गरिरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप