विदेशीको ‘डिजिटल ट्रयाकिङ’ सुरु
सारांश
- अध्यागमन विभागले नेपाल घुम्न आउने पर्यटकको डिजिटल ट्र्याकिङ सुरु गरेको छ।
- गृहमन्त्री ओमप्रकाश अर्यालले 'विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली'को शुभारम्भ गरे।
- यस प्रणालीले विदेशी नागरिकको सुरक्षा, पर्यटन प्रवर्द्धन र अपराध नियन्त्रणमा सहयोग गर्नेछ।
काठमाडौँ । अध्यागमन विभागले नेपाल घुम्न आएका विदेशी पर्यटकको डिजिटल ट्रयाकिङ सुरु गरेको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन विभागले विकास गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’को शुभारम्भ गरेका हुन् ।
भृकुटीमण्डप स्थित पुलिस क्लबमा आयोजित कार्यक्रममा अर्यालले सो प्रणालीको उद्घाटन गरे । ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’को शुभारम्भ गर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला सबैको यथोचित भूमिकाको अपेक्षा गरिएको बताए ।
मन्त्री अर्यालले डिजिटल ट्रयाकिङ प्रणालीले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए ।
विभागले असोज १ गतेबाट नै होटल एसोसिएसन सँगको समन्वयमा पहिलो चरणमा काठमाडौँका तारे होटलमा विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागु गरेको थियो । नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग गर्न दर्ता तथा अनुगमन प्रणाली को विकाश गरिएको अध्यागमन विभागले जनाएको छ ।

विभागले सुरु गरेको प्रणाली अनुसार कुनै विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि बुकिङ गरेको होटलमा जानुअघि विवरण इन्ट्री गरे जानुपर्छ । विवरण इन्ट्री गरेपछि जेनेरेट हुने क्युआर कोडको आधारमा सेवा प्रदायक संस्थाहरूले विदेशी नागरिकको रेकर्ड विभागको अनलाइन प्रणालीमा पठाउनुपर्ने छ । विवरण इन्ट्री नगरेको अवस्थामा होटलहरूले विवरण भरेर अनलाइन प्रणालीमा पठाउनुपर्ने गरी प्रणाली विकाश गरिएको छ ।
देशभरका तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी र मनी एक्स्चेन्जहरूबाट सो प्रणाली लागु गरिएको छ । सो प्रणाली क्रमशः सबै प्रकारका होटल तथा गेस्ट हाउसमा तथा सार्वजनिक तथा निजी संस्थाहरूमा पनि लागु गरिने विभागले जनाएको छ ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस प्रणालीले विदेशी नागरिकको आवतजावत र बसाइलाई प्रभावकारी बनाउने बताए । उनले भने, ‘व्यक्तिगत सुरक्षा थप मजबुत बनाउन, विपद्को समयमा खोजी तथा उद्धार कार्यमा सहजीकरण गर्न सहज हुन्छ ।’ नेपालमा बस्दा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न र अपराधको अनुसन्धान प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै तिवारीले भने, ‘विश्व स्तरमा नेपाल लाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न यो प्रणालीले सहयोग पुग्ने हाम्रो विश्वास छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण