तीन लालको पुस्तक : पुष्पलाल मार्क्सवादी विश्वविद्यालय
पुराना, स्थापित लेखक, पत्रकार तथा प्रगतिवादी समालोचक अशोक सुवेदीको सम्पादनमा ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालय’ नामक ग्रन्थ हालै प्रकाशनमा आएको छ । ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालय’ ग्रन्थ बहुलेखकहरू रहेको ग्रन्थ हो । सुवेदी नै यस ग्रन्थका परिकल्पनाकार र व्यवस्थापक हुन् । यस ग्रन्थलाई विधागत रूपमा दर्शन, सिद्धान्त र साहित्य समेटिएको ग्रन्थका रूपमा लिन सकिन्छ । यहाँ यसको रूपपरक परिचर्चा गरिएको छ ।
वरिष्ठ मार्क्सवादी सर्जक अशोक सुवेदीद्वारा सम्पादित ग्रन्थ ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालय’ यस्तो प्रकाशन हो, जसले नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव पुष्पलालको विरासतलाई मात्र स्मरण गर्दैन, बरु उनको विचारधारालाई संस्थागत रूपमा जीवन्त बनाउने सपनालाई उत्पात ढङ्गले सम्बोधन गर्न खोज्छ । यो पुस्तकको मूल मर्म रामेछाप जिल्लामा स्थापना हुँदै गरेको पुष्पलाल मार्क्सवादी विश्वविद्यालयसँग प्रत्यक्ष रूपमा गाँसिएको छ । पुष्पलालको जन्मस्थल रामेछापलाई मार्क्सवादी शिक्षा, अनुसन्धान र विचारको केन्द्र बनाउने उद्देश्यले यो विश्वविद्यालयको प्रस्तावना अघि सारिएको सन्दर्भमा यो पुस्तक अझ बढी अर्थपूर्ण बनेको छ ।
पुस्तकमा पुष्पलालको जीवन सङ्घर्ष, उनले नेपाली समाजका निम्ति गरेको मार्क्सवादी विश्लेषण, कम्युनिस्ट पार्टी स्थापनाको ऐतिहासिक पृष्ठभूमि, राणाशासन र पञ्चायती व्यवस्थाविरुद्धको उनीलगायत योद्धाहरूको अथक लडाइँ तथा जनवादी क्रान्तिको मार्गचित्रसम्बन्धी सामग्रीहरू सङ्कलित छन् ।
मार्क्सवादी दृष्टिकोणबाट हेर्दा यो पुस्तकले नेपाली समाजको अर्ध–सामन्ती र अर्ध–औपनिवेशिकदेखि विद्यमान नवऔपनिवेशिक पुँजीवादी दलाल संसद्वादी चरित्र, वर्गसङ्घर्षको आवश्यकता, राष्ट्रियता र जनताको मुक्तिको मार्गलाई गहिरोसँग उजागर गरेको देखिन्छ ।
सुवेदीको जनपक्षीय लेखन र पत्रकारिताका साथै सम्पादकीय कुशलतालाई धेरैले प्रशंसा गरेका छन् । उनले थुप्रै पत्रपत्रिका र पुस्तकहरू सम्पादन गरेको इतिहास छ । यस सन्दर्भमा उनले यस ग्रन्थमा महत्त्वपूर्ण काम गरेका छन् ।
ग्रन्थमा पुराना दस्ताबेजहरू, वैचारिक लेखहरू, समकालीनहरूका स्मृतिहरू र विचारधारात्मक बहसहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गरिएको हुँदा पुस्तक रोचक छ । यो सङ्कलन केवल ऐतिहासिक दस्ताबेज होइन, बरु नेपाली कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक आधारलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने एक जीवन्त माध्यम हो ।
मार्क्सवादी दृष्टिकोणबाट हेर्दा यो पुस्तकले नेपाली समाजको अर्ध–सामन्ती र अर्ध–औपनिवेशिकदेखि विद्यमान नवऔपनिवेशिक पुँजीवादी दलाल संसद्वादी चरित्र, वर्गसङ्घर्षको आवश्यकता, राष्ट्रियता र जनताको मुक्तिको मार्गलाई गहिरोसँग उजागर गरेको देखिन्छ ।
विशेषगरी पुष्पलाल, गङ्गालाल, कृष्णलाल र विद्रोही किसान स्रष्टा शिवलाल, चन्द्रलाल, हितप्रसादहरूको जन्मभूमि रामेछापमा मार्क्सवादी विश्वविद्यालय स्थापनाको प्रस्तावले यो पुस्तकलाई भविष्योन्मुख बनाएको छ । यो विश्वविद्यालय मालेमावादका साथै पुष्पलालको विचारलाई शिक्षा र अनुसन्धानमार्फत संस्थागत गर्ने प्रयासको विचारधारात्मक जग हुन सक्छ । यसले ग्रामीण नेपालको सामन्ती संरचना, मजदुर–किसानको पीडा र समाजवादी क्रान्तिको सम्भावनालाई देखाउँछ ।
झन्डै एघार सय पृष्ठको ग्रन्थाकार पुस्तकको भाषाशैली सरल र स्पष्ट छ, जसले सामान्य पाठकदेखि मार्क्सवादी अध्येतासम्मलाई आकर्षित गर्छ । विचारको गहिराइले पाठकलाई नेपाली कम्युनिस्ट आन्दोलनको जरा र चुनौतीहरूबारे गम्भीर रूपले सोच्न बाध्य बनाउँछ ।
पुस्तकले तीन लाललाई केवल एक व्यक्तिका रूपमा होइन, नेपाली क्रान्तिको प्रेरणास्रोतका रूपमा स्थापित गर्ने प्रयास गरेको देखिन्छ । कम्युनिस्ट आन्दोलनमा विभाजन र विचलनका बीच पनि पुष्पलालको सिद्धान्तनिष्ठा र जनकेन्द्रित दृष्टिकोणलाई यो पुस्तकले उजागर गरेर वर्तमान पुस्तालाई मार्गदर्शन दिन सक्छ । एउटा बेग्लै परिधिमा पनि यो पुस्तक नेपाली मार्क्सवादी साहित्यको एक महत्त्वपूर्ण पुस्तक बन्ने देखिन्छ ।
तीन योद्धामार्फत तीन लालको जिल्ला रामेछाप र उनीहरूको योगदानलाई चर्चा गर्दै मूलतः मार्क्सवादी विश्वविद्यालय रामेछापमै खोल्ने हुटहुटी जुन छ, त्यो आवरण चित्रबाटै प्रस्ट पार्न खोजेको देखिन्छ ।
विश्व कम्युनिस्ट आन्दोलनको इतिहास, नेपाली समाजको परिवर्तनमा वर्गसङ्घर्षको योगदान र समाजवादी शिक्षाको सपना बुझ्न चाहनेहरूका लागि अनिवार्य पठनीय सामग्री बनेको छ यो ग्रन्थ । विश्वविद्यालय स्थापनाको सन्दर्भले यसलाई ऐतिहासिक मात्र होइन, समसामयिक र भविष्यको आधार पनि बनाएको छ ।
यस ग्रन्थको सर्वाधिकार सम्पादक तथा प्रकाशकमा रहेको देखिन्छ । प्रकाशक ‘हितप्रसाद उपाध्याय जुनमाया सुवेदी साहित्य प्रतिष्ठान’ रहेको छ । ग्रन्थको आवरण पृष्ठको मध्यभागमा गोलाकार रूपमा नेकपाका संस्थापक महासचिव पुष्पलालको तस्बिर रहेको छ भने इन्सेटमा प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र प्रथम विद्यार्थी सहिद गङ्गालालको हतकडीसहितको तस्बिर रहेको छ ।
आवरणले यस पुस्तकको मूल भावलाई समेट्न खोजेको देखिन्छ । तीन योद्धामार्फत तीन लालको जिल्ला रामेछाप र उनीहरूको योगदानलाई चर्चा गर्दै मूलतः मार्क्सवादी विश्वविद्यालय रामेछापमै खोल्ने हुटहुटी जुन छ, त्यो आवरण चित्रबाटै प्रस्ट पार्न खोजेको देखिन्छ ।
पुस्तक बाक्लो गाता (हार्ड कभर) मा छापिएको छ । पछाडि पृष्ठमा विश्व कम्युनिस्ट आन्दोलनका संस्थापक कार्ल मार्क्स–एङ्गेल्सद्वारा लेखिएको कम्युनिस्ट घोषणापत्रको एक अनुच्छेद, पुष्पलालद्वारा लिखित नेकपाको घोषणापत्रको एक अनुच्छेद तथा मोहनविक्रम सिंह र मोहन वैद्य ‘किरण’ द्वारा मार्क्सवादका बारेमा लेखिएका एक–एक अनुच्छेद राखिएको छ ।
यो ग्रन्थ पुष्पलाल जन्मशताब्दी तथा ४७औँ स्मृति दिवस २०८२ मा प्रकाशन गरिएको हो । यो पुस्तक बिक्रीबाट प्राप्त रकम मार्क्सवादी विश्वविद्यालयको तयारी र सञ्चालनमा प्रयोग हुने घोषणा सम्पादक/प्रकाशकले गरेका छन् । यो बहुमूल्य ग्रन्थ विश्व साम्यवादी आन्दोलनका प्रणेता मार्क्स–एङ्गेल्स र नेकपाका संस्थापक पुष्पलालका साथै नेपालका सहिदहरूमा समर्पित गरिएको छ ।
प्रस्तुत ग्रन्थ ८ भागमा विभाजित छ । पहिलो भागमा कम्युनिस्ट घोषणापत्र, अवधारणा, विचार र अनुभूति रहेका छन् । यसभित्र सम्पादकीय, प्रकाशकीय र प्रस्तावना खण्ड रहेका छन् । दोस्रो खण्डमा दर्शन, विचार र राजनीतिक लेखहरू रहेका छन् । तेस्रो खण्डमा विचार, राजनीति र अनुभूति रहेका छन् । यस खण्डमा ३६ जना लेखकले आ–आफ्नो विचार, राजनीति र अनुभूतिहरू प्रस्तुत गरेका छन् ।
दोस्रो भागमा स्मरण, अनुभूति, नियात्रा, सिर्जना र समीक्षा रहेका छन् । यस भागमा ४२ जना लेखकका लेखरचना रहेका छन् । ग्रन्थको तेस्रो भागमा परम्परावादी संस्कृतिको विकल्पमा नयाँ संस्कृति निर्माणबारे बहससम्बन्धी लेखरचना रहेका छन् । यस खण्डमा आठजना लेखकका लेख समाविष्ट छन् ।
भाग चारमा रामेछापलाई तीन लालका नामले चिनाउने र तिनका विचार स्थापित गर्ने उद्देश्यले बीस वर्षदेखि आयोजना गर्दै आएको अभियानका उद्देश्य समेटिएको अभियन्ता अशोक सुवेदीका विचार र कर्ममाथि अनुभूतिहरू समेटिएका छन् । यस खण्डमा एघारजना लेखकले आ–आफ्ना अनुभूतिहरू पोखेका छन् । यस्तै भाग पाँचमा गीत र कविता रहेका छन् । यस भागमा कवि र गीतकारहरूले आ–आफ्ना रचना प्रस्तुत गरेका छन् ।
भाग ६ मा खोज, अनुसन्धान, समीक्षा र परिचय रहेका छन् । यसमा जम्मा सातजना लेखकले आ–आफ्नो खोज, अनुसन्धानका रचनाहरू प्रस्तुत गरेका छन् । यस्तै भाग सातमा परिशिष्ट रहेको छ । वास्तवमा यो ग्रन्थको मूल मर्म यही भागले बोकेको अनुभूति हुन्छ । यस भागभित्र पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको प्रारम्भिक प्रस्तावना र पाठ्यक्रमको खाकासमेत रहेको छ । यहाँ पुष्पलाल मार्क्सवादी विश्वविद्यालयबारेको भूमिका, प्रस्तावनालाई मूर्त रूप दिइएको छ । यसैगरी पुष्पलाल मार्क्सवादी विश्वविद्यालयका योजना र कार्यक्रमहरू रहेका छन् ।
प्राथमिक तह, माध्यमिक र उच्च तह वा विश्वविद्यालयस्तरीय शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यसामग्रीहरू बडो मेहनतका साथ प्रस्तुत गरिएको छ । पाठ्यविधिसमेत पनि उल्लेख गरिएको छ । नेपाली सहायक सन्दर्भ ग्रन्थहरूको पनि उल्लेख छ । यसै भागको परिशिष्ट २ मा नेपालको कम्युनिस्ट आन्दोलनमा कमरेड पुष्पलालका योगदानहरूलाई अशोक सुवेदीले बडो मिहीन ढङ्गले विश्लेषण गरेका छन् ।
‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालय’ नामक यो ग्रन्थ एक सङ्ग्रहणीय ग्रन्थ हो । कम्युनिस्ट इतिहासलाई स्मरण गर्नुपर्ने र मार्क्सवादी दर्शनलाई व्यवहारमा रूपान्तरण गर्ने बेलामा आएको एक महत्त्वपूर्ण सामग्रीका रूपमा व्याख्या गर्नु उल्लेखनीय हुन्छ भन्ने मलाई लाग्छ ।
परिशिष्ट ३ मा नेपालमा कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त सिंहावलोकन गरी इतिहासका केस्रा–केस्रा केलाइएको छ । परिशिष्ट ४ मा नेपालमा हालसम्म अस्तित्वमा आएका १३३ वटा कम्युनिस्ट पार्टी/सङ्गठनको नाम उल्लेख गरिएको छ । परिशिष्ट ५ मा पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको घोषणा भेलाका माइन्युटको तस्बिरलाई जस्ताको तस्तै उतारिएको छ ।
अन्तिम आठौँ भागमा बन्द कोठा र सिस्नाको झाङदेखि पुष्पलाल मार्क्सवादी विश्वविद्यालयसम्मका रङ्गीन तस्बिर रहेका छन् । ती रङ्गीन तस्बिरहरू साना–ठूला गरी ११४ वटा छन् । तस्बिरको मुनि क्याप्सन लेखिएको छ । तस्बिरहरूले पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको आवश्यकता र सान्दर्भिकतालाई बढी प्रस्ट पारेका छन् ।
‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालय’ नामक यो ग्रन्थ एक सङ्ग्रहणीय ग्रन्थ हो । कम्युनिस्ट इतिहासलाई स्मरण गर्नुपर्ने र मार्क्सवादी दर्शनलाई व्यवहारमा रूपान्तरण गर्ने बेलामा आएको एक महत्त्वपूर्ण सामग्रीका रूपमा व्याख्या गर्नु उल्लेखनीय हुन्छ भन्ने मलाई लाग्छ ।
यस ग्रन्थलाई मार्क्सवादमा आस्था राख्ने जो कोही पढ्न सक्छन् । नेपाली कम्युनिस्ट आन्दोलनका ऐतिहासिक योद्धा पुष्पलालका नाममा विश्वविद्यालय खोल्ने, जुन महान् अभियान छ यसले निकै महत्त्व राख्छ । यति महत्त्वपूर्ण ग्रन्थका लागि सम्पादक, प्रकाशक र लेखकहरू बधाईका पात्र छन् । सैद्धान्तिक होस् वा साहित्यिक, वैचारिक होस् वा अभियानको मर्म यो ग्रन्थमालामा मज्जाले आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण