मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माणको तयारी

आइतबार, २० पुस २०८२, ०४ : ३४
आइतबार, २० पुस २०८२

सुर्खेत । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोटका २६ वटा विद्यालय, स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय गरेको छ । पालिकाको सिफारिसमा २६ वटा भौतिक संरचना प्रदेश सरकारले बनाउन लागेको हो ।

रु १२ करोड ७० लाखमा भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माण गर्न उक्त रकम दिने निर्णय भएको पूर्वाधार विकास महाशाखाका सिनियर डिभिजनल इन्जिनियर प्रेमबहादुर ओलीले जानकारी दिए । चालु आर्थिक वर्षभित्र निर्माण गर्ने उद्देश्यका साथ २१ वटा विद्यालय र पाँचवटा स्वास्थ्य भवन निर्माण गर्न बजेट पठाएको उनले जानकारी दिए ।

सात पालिकामा भूकम्पबाट भत्किएका विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय गरेको थियो । बारेकोट गाउँपालिकामा चारवटा विद्यालय निर्माण हुने भएका छन् । बारेकोट–१ को हिमालय देवी विद्यालयमा रु ५२ लाख, वडा नं ३ को जनप्रिय आधारभूत विद्यालय स्याला मुलसामलाई रु ६५ लाख, वडा नं ४ को हिमालय आधारभूत विद्यालय गोठगाउँलाई रु ५१ लाख र वडा नं ८ को विश्व आधारभूत विद्यालय सेपुखोलालाई रु ४५ लाख रकम उपलब्ध गराउने निर्णय भएको छ ।

त्यसैगरी, नलगाड नगरपालिकाका तीनवटा विद्यालय निर्माण हुने भएका छन् । नलगाड–१ को जन आदर्श प्राथमिक विद्यालय ज्ञानेचौरलाई रु ५० लाख, वडा नं ९ को जनस्वास्थ्य प्राथमिक विद्यालय बासकोटलाई रु ५२ लाख र वडा नं ४ को भानुभक्त माध्यमिक विद्यालयलाई रु ३० लाख रकम दिने निर्णय भएको छ ।

भेरी नगरपालिकामा दुईवटा विद्यालय निर्माण गर्न छनोट गरिएको छ । वडा नं २ को शङ्कर भवन माध्यमिक विद्यालय बाहुनथानालाई रु ४८ लाख, वडा नं १ को शिव माध्यमिक विद्यालय कालेगाउँलाई रु ४२ लाखमा भवन निर्माण गर्ने निर्णय भएको छ ।

छेडागाड नगरपालिकामा तीनवटा विद्यालय निर्माण गर्ने निर्णय भएको छ । छेडागाड–१ को पिपलचौतारी आधारभूत विद्यालयमा रु ५० लाख, वडा नं ८ को पशुपति आधारभूत विद्यालय रौतनगाउँमा रु ५० लाख, वडा नं ३ को सरस्वती आधारभूत विद्यालय चुवादेवलीमा रु ५० लाख रकम दिने निर्णय भएको छ । कुशे गाउँपालिकामा दुईवटा विद्यालय निर्माण हुने भएका छन् । जनविकास प्राथमिक विद्यालय कुशे–६ घरङ्गलाई रु ५० लाख, वडा नं ४ को धारापानी आधारभूत विद्यालयलाई रु ५० लाखमा विद्यालय बनाउने निर्णय भएको छ ।

शिवालय गाउँपालिका–७ चन्द्रज्योति आधारभूत विद्यालय लयलकाडा ४३ लाख, वडा नं २ को इन्द्रज्योति आधारभूत विद्यालयको भवन निर्माण गर्न रु ५० लाख रकम विनियोजन भएको छ । जुनिचाँदे गाउँपालिकामा पाँचवटा विद्यालय निर्माण हुने भएका छन् । जुनिचाँदे–६ को मालटाकुरा प्राथमिक विद्यालय वडासेनामा रु ५७ लाख, वडा नं २ को महादेव प्राथमिक विद्यालय रु ५० लाख, वडा नं ४ को जनशक्ति प्राथमिक विद्यालय निर्माण गर्न रु ५५ लाख, वडा नं ११ को महेन्द्र माध्यमिक विद्यालयमा रु ५५ लाख, वडा नं ३ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय निर्माण गर्न रु ५५ लाख रकम विनियोजन गरिएको छ ।

स्वास्थ्यतर्फ बारेकोट गाउँपालिका–४ को सामुदायिक स्वास्थ्य एकाइ मैनालाई रु ५२ लाख, वडा नं २ को स्वास्थ्य शाखा बारेकोटलाई रु ३० लाख रकम विनियोजन गरिएको छ । भेरी नगरपालिका–१३ कुदुमा रहेको स्वास्थ्यचौकीका लागि रु ४३ लाख, छेडागाड नगरपालिका–२ को पोखरा बर्थिङ सेन्टर भवन निर्माण गर्न रु ४५ लाख, कुशे गाउँपालिका–३ को आधारभूत स्वास्थ्यचौकी निर्माण गर्न रु ५० लाख रकम विनियोजन भएको छ । रुकुमपश्चिमको पनि केही दिनभित्र निर्माण हुने ओलीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप