बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

उपेन्द्र यादवको उकाली–ओराली

सोमबार, २१ पुस २०८२, ०७ : ०५
सोमबार, २१ पुस २०८२

सारांश

  • उपेन्द्र यादवको पार्टी पटक–पटक विभाजन भए पनि उनी फेरि शक्तिशाली बन्दै आएका छन्।
  • यादवले मधेस प्रदेश सरकारमा दुई मन्त्रालयसहित सभामुख पदसमेत हात पारेका छन् र लोसपासँग एकताको सुरुवात गरेका छन्।
  • राजनीतिक विश्लेषकका अनुसार यादवमा संगठन बनाउने क्षमता छ, जसले उनलाई पुनः स्थापित गर्छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । उपेन्द्र यादव नेपाली राजनीतिको केन्द्र र छाया दुवैमा परिरहने नेता हुन् । हाल जनता समाजवादी पार्टी नेपालको नेतृत्व गरिरहेका उनी र उनको दल पटक–पटक फुटे, जोडिए पनि ।

पार्टी स्थापनाकालदेखि हालसम्म उनको पार्टी जतिपटक फुट्यो, उतिपटक जोडिएको पनि छ । पछिल्लो समय अशोक राई अलग भएपछि १२ जना सांसद रहेको उपेन्द्र यादव नेतृत्वको पार्टी पाँच जना सांसदमा झरेको थियो । त्यति मात्र होइन, पार्टी फुटेपछि जसपा नेपालले न प्रदेश सरकारमा ठाउँ पायो न त संघमै । एक किसिमले भन्ने हो भने उनी कमजोर थिए ।

तर समयक्रमसँगै यादव नेतृत्वको जसपा नेपाल दुई वटा मन्त्रालयसहित मधेस प्रदेश सरकारमा सहभागी मात्र भएको छैन, सभामुख पदसमेत हात पार्न सफल भएको छ । त्यति मात्र होइन, उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालसँग पनि एकताको सुरुवात गरिसकेका छन् ।

आफ्नो दलबाट अलग भएर राईले गठन गरेको जसपाबाट सहअध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका थुप्रै नेताहरूलाई उनले आफ्नो पार्टीमा समाहित गराइसकेका छन् । यसका अतिरिक्त २०७५ मा डा. सीके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेस गठबन्धनबाट अलग भएका कैलाश महतोलाई पनि उनले आफ्नो पार्टीमा समाहित गराएका छन्, यद्यपि अहिले यसलाई कार्यगत एकता मात्र भनिएको छ ।

राई पार्टी फुटाएर गएपछि ‘अब मधेसमा जसपा नेपाल समाप्त भयो’ भन्ने चर्चा थियो । तर उनको पछिल्लो गतिविधिले उनी झनै शक्तिशाली भएर आउने संकेत गरेको छ । पटक–पटक ‘समाप्त भएको’ ट्याग लागेका यादवले कसरी फेरि आफूलाई उठाइरहेका छन् त ? जिज्ञासामा राजनीतिक विश्लेषक विजयकान्त कर्ण भन्छन्, ‘उपेन्द्र यादवमा एउटा अद्भूत क्षमता छ, त्यो हो– संगठन बनाउने । जब उनको पार्टी विभाजन हुन्छ, तब उनमा झन् ऊर्जा (इनर्जी) आउँछ । उनी झोला बोकेर तराई मधेस झर्छन्, नेता तथा कार्यकर्ताको घर–घर जान्छन् र विस्तारै फेरि पार्टी खडा गर्छन् ।’

पार्टी विभाजनको दोष यादवलाई नै लाग्ने र सबैलाई मिलाएर लैजाने क्षमता उनमा कमी भए पनि संगठन बनाउने कलामा भने उनी निपुण देखिने कर्ण विश्लेषण गर्छन् । ‘जस्तोसुकै हावाहुरी लागे पनि समयक्रम अनुसार आफूलाई उनले सम्हाल्ने गरेका छन्,’ कर्ण थप्छन् ।

जस्तोसुकै परिस्थितिमा यादव आफूले गरेको गल्ती स्वीकार्न तयार हुने हुँदा त्यही देखेर साथ छाडेकाहरू उनीसँग पुनः मिल्न आउने कर्णको बुझाइ छ । ‘उपेन्द्रजीले ग्रासरुटदेखि संगठन बनाउनुभएको छ, वडा तहसम्म आफैँ प्रशिक्षण दिन जानुहुन्छ, जनतालाई घरमै गएर भेट्नुहुन्छ । त्यही भएर केही कुरा बिग्रियो भने फेरि उहाँ त्यहाँ आफैँ गएपछि कुरा मिल्छ,’ कर्ण बताउँछन् ।

२०७८ सालमा महन्थ ठाकुरले यादवसँग अलग्गिएर लोसपा, नेपाल गठन गरेका थिए । उनीहरू यसरी अलग भएका थिए कि, दुवै जना एउटै बाटोमा कहिल्यै आउने छैनन् जस्तो लाग्थ्यो । तर अहिले दुवै पार्टी एक भएका छन्, पार्टी एकताका लागि यादवले ठाकुरसँग आफैँ कुरा राखेका थिए ।

यति मात्र होइन, उनले अलग भएर गएका राईसँग पनि एकताका लागि हात अगाडि बढाएका थिए । आफ्ना पार्टीका नेताहरू पठाएर कुरा पनि गर्न लगाएका थिए । तर राईले नमानेपछि यादवले आफैँ सोही पार्टीका सहअध्यक्ष रेणु यादव, उपमहासचिव प्रदीप यादवहरूसँग कुरा गरेर पार्टीमा फर्काए ।

२०६६ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट विजयकुमार गच्छदार अलग हुँदा यादव निकै कमजोर देखिएका थिए । त्यतिबेला उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साथ लिए ।

२०६४ सालमा मधेस आन्दोलन चलिरहँदा भाग्यनाथ गुप्ता, रामकुमार शर्मा, जितेन्द्र सोनललगायत नेताहरू अलग भएका थिए । त्यसपछि तत्कालीन सद्भावना पार्टी र तमलोपासँग मधेसी मोर्चा बनाएर पुनः आन्दोलन गरेका थिए र यादवले आफूलाई शक्तिशाली नेताको रूपमा उभ्याएका थिए ।

२०६६ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट विजयकुमार गच्छदार अलग हुँदा यादव निकै कमजोर देखिएका थिए । त्यतिबेला उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साथ लिए । उनको साथमा गठबन्धन बनाएर आन्दोलन गरे र मधेसी मोर्चालाई पनि सक्रिय बनाए । सांगठानिक गतिविधिहरू बढाइरहेका बेला २०६८ सालमा जेपी गुप्ता अलग भएर मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) गठन गरेका थिए । त्यतिबेला यादवसँग २५ जना सभासद् थिए, जसमध्ये गुप्ताले १३ जनालाई साथमा लिएर निस्केका थिए ।

त्यतिबेला पनि यादवलाई ठुलो धक्का लागेको थियो । त्यसपछि उनी गाउँ–गाउँ गएर आफैँ संगठन निर्माणमा लागेका थिए । त्यतिबेला उपेन्द्र यादवको पार्टी मात्र होइन, अन्य मधेसवादी दलहरू पनि विभाजन भइरहेका थिए ।

त्यही टुटफुटको नतिजा थियो– २०७० को दोस्रो संविधान सभा चुनावमा उपेन्द्र यादव नेतृत्वको फोरमसहित अन्य मधेसवादी दलहरूको कमजोर उपस्थिति देखियो । त्यतिबेला मधेसी दलहरूमध्ये तत्कालीन मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) ठुलो पार्टी बनेर आएको थियो ।

दोस्रो संविधान सभाको चुनावपछि पनि यादव आन्दोलनमा जोडिएका थिए । लामो समय सत्ताबाहिर रहे । सोही समयमा २०७२ जेठमा राई नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीसँग यादवले एकता गरे, त्यसपछि मधेसवादी दलमा सबैभन्दा ठुलो पार्टी बनाए ।

२०७६ मा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकता गरेर समाजवादी पार्टी बनाएका यादवले २०७७ वैशाखमा तत्कालीन राजपासँग एकता गरेर जसपा, नेपाल बनाएका थिए ।

२०७२ सालमा संविधान जारी हुँदा त्यसविरुद्ध मधेसवादी दलहरू सडकमा थिए । सडकमा रहेकै बेला चुनाव घोषणा भयो । त्यतिबेला २०७४ जेठमा यादवले सरिता गिरी अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीसँग एकता गरेका थिए ।

२०७४ को चुनावमा मधेसवादीमध्ये सबभन्दा ठुलो दल उनले नै बनाएका थिए । २०७६ मा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकता गरेर समाजवादी पार्टी बनाएका यादवले २०७७ वैशाखमा तत्कालीन राजपासँग एकता गरेर जसपा, नेपाल बनाएका थिए । विभिन्न ६ वटा मधेसवादी दल मिलेर राजपा, नेपाल बनेको थियो, त्यही राजपासँग यादवले एकता गरेर ठुलो सन्देश दिन सफल भएका थिए ।

२०७२ देखि २०७७ सम्म विभिन्न दलसँग एकता गरेर जसपा, नेपाल बनाएपछि यादव नेपालको राजनीतिमा निर्णायक शक्ति बनेका थिए ।

२०७९ सालमा यादव सप्तरी–२ बाट चुनाव हारेपछि पार्टीभित्र टुटफुट देखियो, अध्यक्ष आफैँ चुनाव हार्नुले उनलाई निकै ठुलो क्षति गरेको थियो ।

तर त्यो शक्ति एक वर्ष पनि टिक्न सकेन । त्यसपछि उनको ओरालो यात्रा सुरु भयो । २०७८ सालमा महन्थ ठाकुरले यादवसँग अलग्गिएर लोसपा बनाएका थिए । २०७९ असारमा बाबुराम भट्टराई अलग भएर नेपाल समाजवादी पार्टी बनाए । २०८१ वैशाखमा राई अलग भएर जसपा गठन गरे । यसरी उनको पार्टी विस्तारै कमजोर बन्दै गइरहेको थियो । तर अहिले उनी पुनः उकालो चढ्न थालेका छन् ।

२०७९ सालमा यादव सप्तरी–२ बाट चुनाव हारेपछि पार्टीभित्र टुटफुट देखियो, अध्यक्ष आफैँ चुनाव हार्नुले उनलाई निकै ठुलो क्षति गरेको थियो ।

तर राजनीतिमा चलाख यादवले एमालेको गठबन्धन छाडेर माओवादी–काँग्रेससँग तत्कालै गठबन्धन गरी आफ्नो पार्टीबाट उपराष्ट्रपति मात्र हात पारेनन्, २०८० वैशाखमा बारा–२ मा भएको उपनिर्वाचनबाट चुनाव जितेर सिंहदरबार छिरे ।

२०८१ मा राईले पार्टी विभाजन गरेर अलग भएपछि उपेन्द्र यादवले प्रचण्ड नेतृत्वको सरकार छाडेका थिए । आफ्नो पार्टीलाई तत्कालीन प्रधानमन्त्री प्रचण्डले विभाजन गरेको आरोप लगाएर उनले सरकार छाडेका थिए । त्यही विषयलाई लिएर प्रचण्ड र उपेन्द्र यादवबिच कुरा मिलेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप