बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

रास्वपाको नयाँ पदाधिकारी टुङ्गो लाग्यो, कुलमान समूह आन्तरिक छलफलमा

सोमबार, २१ पुस २०८२, १५ : ३६
सोमबार, २१ पुस २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले विवेकशील साझा र बालेन शाह समूहका ३३ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गर्यो।
  • रास्वपाको बैठकले बालेन पक्षबाट वरिष्ठ नेतासहित २६ र विवेकशील साझाबाट ७ जना केन्द्रीय सदस्य मनोनीत गरेको हो।
  • उनेपा र रास्वपाबीचको सात बुँदे एकता सहमतिपछि सैद्धान्तिक विषयमा सहमति भएपछि विवाद समाधान भएको बताइएको छ।

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आइतबार एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह समूहका ३३ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गर्‍यो । तर उज्यालो नेपाल पार्टीको तर्फबाट एक जना पनि मनोनीत हुन सकेन ।

केन्द्रीय कार्यालय वनस्थलीमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले बालेन पक्षबाट वरिष्ठ नेता सहित २६ जना केन्द्रीय सदस्य र विवेकशील साझाबाट सात जना केन्द्रीय सदस्य मनोनीत गरेको थियो । 

बालेन पक्षबाट पदाधिकारीमा वरिष्ठ नेता उनी आफै रहेका छन् । महामन्त्रीमा ई.सुनिल लम्साल बन्ने पक्का भएका छन् । सहमहामन्त्री भूपदेव शाह पक्का भएका छन् । 

लम्साल बालेनका पूर्वाधार सल्लाहकार र शाह स्वकीय सचिव हुन् ।  उनेपालाई एक वरिष्ठ उपसभापति, एक सहमहामन्त्री र सहप्रवक्ता सहित २१ जना केन्द्रीय सदस्य पाएका छन् ।

वरिष्ठ उपसभापति ऊर्जामन्त्री समेत रहेका संरक्षक कुलमान घिसिङ बन्ने भएका छन् । सहमहामन्त्री जितराम लामाको टुङ्गो लागेको छ । सहप्रवक्तामा डा. राजु थापाको सम्भावना रहेको छ । उनी साविक उनेपाका प्रवक्ता समेत रहेका थिए । २१ जना केन्द्रीय सदस्य छनोटका लागि उनेपा अहिले आन्तरिक छलफलमा जुटेको छ । एक नेताका अनुसार आज बेलुकासम्म टुङ्गो लाग्नेछ ।

‘हामी अहिले केन्द्रीय समिति सदस्य छनोटकै क्रममा छौँ । बेलुकासम्म फाइनल गरेर पठाउँछौँ’, ती नेताले भने ।  

पुस १४ गते रास्वपा र उनेपाबिच सात बुँदे एकता सहमतिमा हस्ताक्षर भएको थियो । तर रास्वपाले निर्वाचन अयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची, नेताहरूको व्यवस्थापन र सङ्घीयता, गणतन्त्रबारे वैचारिक तथा सैद्धान्तिक लाइन प्रष्ट नभएको भन्दै उनेपाले असन्तुष्टि पोखेको थियो । शनिबार र आइतबार दिउँसोसम्म दुई पक्षबिच वैचारिक तथा सैद्धान्तिक विषयमा सहमति भएपछि विवादको पटाक्षेप भएको नेताहरूले बताएका छन् ।

एकताअघि रास्वपामा एक सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता र दुई सहप्रवक्ता रहेको थियो । एकतामा जोडिएका तीन वटै पक्षलाई मिलाउन रास्वपाको केन्द्रीय समिति बैठकले उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक/एक पद थप्ने निर्णय गरेको थियो । पार्टीको विधानमा १२२ सदस्य केन्द्रीय समिति रहने व्यवस्था रहेको छ । हाल पार्टीमा ५२ जना मात्रै केन्द्रीय सदस्य रहेका छन् । सात प्रदेशका सभापति पदेन सदस्य रहने विधानमा व्यवस्था छ ।

साविक रास्वपाबाट सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा.स्वर्णिम वाग्ले रहेका छन् । महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी, सहमहामन्त्रीमा विपिन कुमार आचार्य रहेका थिए । बाँकी दुई सहमहामन्त्री पद खाली रहेको थियो । यस्तै कोषाध्यक्षमा लिमा अधिकारी र प्रवक्ता मनिष झा रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप