मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

भेरी पम्पिङ आयोजना राजधानीबासीको भरोसा हो– मुख्यमन्त्री कँडेल

सोमबार, २१ पुस २०८२, १७ : ०८
सोमबार, २१ पुस २०८२

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका कामहरू सकारात्मक जनमत सिर्जना गर्ने गरी काम गर्नुपर्ने बताएका छन् । त्यसका लागि आयोजनाका हरेक निर्णय प्रक्रिया पारदर्शी हुनुपर्ने उनको भनाइ छ ।  

सोमबार प्रदेश राजधानी वीरेन्द्रनगरको दीर्घकालीन खानेपानी समस्या समाधानको लक्ष्यसहित बढाइएको भेरी पम्पिङ आयोजनाको अनुगमनपश्चात् कँडेलले कतिपय आयोजनाहरू दीर्घकालीन रूपमा प्रभाव पार्ने गरी अघि बढे पनि जनतामा त्यसअनुसार सकरात्मक सन्देश जान नसकेको बताए । 

‎भेरी पम्पिङ आयोजना संघीय सरकार, प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त लागत सहभागितामा अघि बढेको छ । आयोजनामा संघीय सरकारको ८० प्रतिशत, प्रदेश सरकारको १३ प्रतिशत र नगरपालिकाको ७ प्रतिशत लगानी छ । 

कँडेलले विगतमा निर्माण प्रक्रियाका कतिपय चरणहरू पूरा नगरी कार्यान्वयनमा जाँदा केही अलमल देखिए पनि अहिले प्रभावकारी रूपमा काम भइरहेको बताए ।

‘छिटो योजना आओस् भन्ने चाहना र मनोविज्ञानका कारण विगतमा केही समस्या भए पनि अब प्रदेश सरकार र नगरपालिकाबिच कुनै अन्योल छैन,’ उनले भने, ‘बजेटकै कारण आयोजना प्रभावित हुने अवस्था पनि छैन ।’
अहिले कामले गति लिएको भन्दै उनले यसलाई निरन्तरता दिन ठेकदार कम्पनीलाई कँडेलले निर्देशन दिए । 

‘यो आयोजना वीरेन्द्रनगरबासीका लागि मात्र नभई सिङ्गो प्रदेश राजधानीको गौरव र भरोसाको आयोजना हो यो,’ उनले थपे, ‘१३२ केभी विद्युत प्रसारण लाइन र भेरी पम्पिङ आयोजनाले राजधानीको भविष्य निर्धारण गर्ने आयोजना हुन् । यसप्रति जनविश्वास बढाउनु आवश्यक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप