वैश्विक तेल बजारमा मूल्य निर्धारक बन्न खोज्दैछ अमेरिका
सारांश
- अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको छ, जसले विश्व तेल बजारमा परिवर्तन ल्याउने सम्भावना छ।
- अमेरिकी कदमले कच्चा तेलको मूल्यमा वृद्धि ल्याउन सक्ने र दीर्घकालमा तेल आपूर्तिमा अमेरिकी नियन्त्रण बढ्ने देखिएको छ।
- ट्रम्पले भेनेजुएलालाई सञ्चालन गर्ने र तेल भण्डार प्रयोग गर्ने बताएका छन्, जसले ऊर्जा बजारमा अमेरिकाको प्रभाव बढाउनेछ।
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई कब्जा गरेको छ । यो कदमले अमेरिकालाई वैश्विक तेल बजारमा ठुलो हेरफेर ल्याउने सम्भावनाका अघिल्तिर उभ्याई दिएको छ । विश्लेषकहरूका अनुसार यदि अमेरिकाले संसारको सबैभन्दा बढी प्रामाणिक तेल भन्डार रहेको मुलुक भेनेजुएलामा साँच्चिकै नियन्त्रण कायम गर्न सफल भयो भने ऊर्जा बजारमा उसको भूमिका एकाएक निर्णायक तहमा पुग्नेछ ।
उनीहरूका अनुसार अमेरिकी कदमले तत्कालका लागि कच्चा तेलको मूल्यमा थोरै वृद्धि हुन सक्छ । तर दीर्घकालमा तेलको आपूर्ति तथा तेल बजारमा अमेरिकी नियन्त्रण निर्णायक हुनेछ । भेनेजुएलामाथिको आक्रमण यस्तो समयमा भएको छ, जुनबेला अमेरिका पेट्रोलियममाथि कमजोर बन्दै गएको थियो ।
जेएलसी नेटवर्क टेक्नोलोजीमा कार्यरत तेल बजार विश्लेषक सी चियारु भन्छन्, ‘अमेरिकाले भेनेजुएलामा नियन्त्रण हासिल गर्नासाथ अमेरिकी तेल कम्पनीहरू त्यहाँ तेल उत्पादन बढाउनमा लाग्नेछन्, जसले गर्दा वैश्विक तेल आपूर्ति बढ्नेछ ।’ उनका अनुसार भेनेजुएलाको तेल उत्पादन क्षमता साँच्चिकै ‘धेरै ठुलो’ छ ।
गत शनिबार काराकसमा भएको ठुलो स्तरको अमेरिकी हमला पश्चात् मादुरो र उनकी श्रीमतीलाई कब्जा गरेर अमेरिका पुर्याइएको छ । जहाँ उनीहरूमाथि लागु औषध आतङ्कवाद र हतियार तथा खरखजाना सम्बन्धी मुद्दामा अदालतमा पेश गरिएको छ ।

यति मात्रै होइन, लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले केही समयका लागि भेनेजुएलालाई आफैले ‘सञ्चालन’ गर्ने तथा त्यहाँको तेल भन्डार प्रयोग गर्ने बताएका छन् ।
ट्रम्पले मार–आ–लागोको आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीसँग छिट्टै आफ्नै ठुला अमेरिकी तेल कम्पनीहरू हुनेछन् । संसारकै सबैभन्दा ठुला कम्पनी हुनेछन् । उनीहरू भेनेजुएला जानेछन् । अर्बौँ डलर खर्च गर्नेछन् । त्यहाँको पूर्वाधारको अवस्था सुधार्नेछन् । तेलका पूर्वाधारहरू ठिक–ठाक गर्नेछन् ।’
‘भेनेजुएलाको तेलमाथि लामो समयदेखिको अमेरिकी नाकाबन्दी अझै पूर्णरुपमा लागु रहनेछ’, उनले थपे ।
बेइजिङको ‘युनिभर्सिटी अफ इन्टरनेश्नल बिजनेस एन्ड इकोनोमिक्स’ का प्राध्यापक जोन कोङ भन्छन्, ‘त्यस्तो स्रोत साधनले भरिपूर्ण तेल उत्पादक मुलुकमाथिको नियन्त्रणसँगै अमेरिका विश्व बजारमा तेलको मूल्यमा ठुलो प्रभाव पार्न सक्ने शक्ति बन्ने निश्चित छ ।’
उनी भन्छन्, ‘ओपेक तथा अन्य तेल निर्यात गर्ने मुलुकहरू चाडै नै आफ्नो स्वायत्तता घटेको अनुभव गर्नेछन् । साथै विश्वको ऊर्जा व्यवस्थामा अमेरिकाको प्रभुत्व उल्लेख्य रूपमा बलियो हुनेछ ।’

वेलिंग्टन–अल्टस प्राइभेट वेल्थका प्रमुख बजार रणनीतिकार जेम्स थोर्नका अनुसार विगत दुई दशक यता उल्लेख्य मात्रामा घटेको भेनेजुएलाको व्यापक कच्चा तेल उत्पादनको काम अमेरिकी प्रभाव बढेसँगै पुनर्जीवित हुन सक्छ । साथै छिटै नै ‘वेस्टर्न क्यानेडियन सेलेक्ट’ जस्ता समान स्तरका उत्पादकहरूसँग सोझै प्रतिस्पर्धाको अवस्था सिर्जना हुन सक्छ ।
यदि साँच्चिकै त्यसो भएको खण्डमा ‘विश्वव्यापी कच्चा तेल आपूर्तिको सन्तुलनमा अर्थपूर्ण परिवर्तन हुन सक्छ ।’, थोर्न सामाजिक प्लेटफर्म एक्समा लेख्छन् । साथै उनी मादुरोलाई कब्जा गर्नाले विश्वको तेस्रो ठुलो तेल भण्डार रहेको इरानमा पनि सम्भावित अमेरिकी योजनामै शासन परिवर्तनको पूर्वानुमान गर्न सकिने बताउँछन् ।
प्राध्यापक कोङ भेनेजुएलाका नेतालाई कब्जा गर्ने कदमले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था (रुल बेस्ड इन्टरनेश्नल अर्डर) विघटित भएको ठान्छन् । उनी भन्छन्, ‘अमेरिकाको यस्तो कदमले मध्यपूर्वमा उल्लेख्य रूपमा अनिश्चितता बढाउनेछ । इरानको हकमा त्यस्तो अन्योल अझै बढ्नेछ । साथै त्यसले सैन्य झडपको सम्भावना पनि धेरै बढाउने छ ।’
गत शुक्रबार ट्रम्पले इरानलाई चेतावनी दिँदै तेहरानले इरानको अर्थतन्त्र सुधारको पक्षमा भइरहेको विरोध प्रदर्शनलाई हिंसात्मक रूपमा दबाएको खण्डमा अमेरिकाले हस्तक्षेप गर्ने बताएका छन् । उनका अनुसार अमेरिका त्यहाँ ‘उद्धारका लागि जानेछ ।’
इरानी सरकारी समाचार संस्था ‘आईआरएनए’ का अनुसार इरानका सर्वोच्च नेता अयोतल्लाह अलि खमेनीले आन्दोलनकारीहरूका सरोकारहरू गम्भीरतासाथ लिएका छन् । तर उनीहरूलाई इरानमा अस्थिरता चाहने शक्तिहरूले चलाइरहेको दाबी पनि गरेका छन् ।
खमेनीले भनेका छन्, ‘देशका दुश्मनले देशमाथि र यहाँका अधिकारीहरूमाथि केही थोपर्न खोजिरहेको बेला पुरा शक्तिसहित दुस्मनका विरुद्ध उभिनुपर्छ... यस्तो बेला हामी दुस्मनको सामना गर्नेछौँ । पछि हट्ने छैनौँ ।’
रेनमिन विश्वविद्यालयको अन्तर्राष्ट्रिय मामला विभागका निर्देशक वाङ यीवीई भन्छन्, ‘ट्रम्पका पछिल्ला कदमहरू उनको मेक अमेरिका ग्रेट अगेन भन्ने अभियानलाई थप सशक्त बनाउने अभियानकै हिस्साका रूपमा देखिन्छन् । साथै अमेरिकी रणनीतिक कमजोरीहरू बढ्दै गरेको समयमा त्यसको समाधानका लागि चालिएका पाइला जस्ता प्रतीत हुन्छन् ।’

‘मुख्य कुरा ऊर्जामाथि कसको नियन्त्रण कायम हुन्छ भन्ने नै हो । त्यस्तो नियन्त्रण केवल नाफाका लागि मात्रै नभई वैश्विक मूल्य निर्धारक शक्ति बन्नका लागि पनि हुने गर्छ । विगत केही वर्षहरूमा पेट्रोडलर प्रणाली पहिले जस्तो मजबुत रहेन । त्यसैले अहिले मध्यपूर्वका मुलुकहरू सक्रियतापूर्वक आफ्नो ऊर्जा विविधीकरणमा लागिसकेका छन् ।’, वाङले थपे ।
प्राध्यापक वाङका अनुसार दशकौँदेखि अमेरिकाले केही ‘ओपेक’ सदस्य मुलुकहरूसँग समझदारी बनाएको थियो । जसअनुसार मध्यपूर्वका तेल उत्पादकहरू अमेरिकी सैन्य सुरक्षामा निर्भर गर्ने तथा ठुलो मात्रामा अमेरिकी हतियार खरिद गर्ने भनिएको थियो । त्यसको बदलामा तेलको कारोबार अमेरिकी डलरमा गर्ने गरी ‘पेट्रोडलर’ प्रणालीको व्यवस्था गरिएको थियो ।
तर अहिले त्यस्तो प्रणाली बिस्तारै विखण्डित हुँदै गएको छ । मध्यपूर्वका मुलुकहरू आफ्नो ऊर्जा विविधीकरण गर्दैछन् । साथै तेल व्यापारमा चिनियाँ युआनको पनि प्रयोग गर्न थालेका छन् । उनका अनुसार ‘यसले अमेरिकाको वित्तीय प्रभुत्वमा मुख्य चुनौती खडा गरिदिएको छ ।’ त्यसैले अमेरिकाले केही गर्नै पर्ने अवस्था थियो ।
विश्लेषकहरूका अनुसार मादुरोलाई सत्ताबाट हटाउनासाथ छोटो अवधिमै विश्वव्यापी रूपमा तेलको मूल्यमा ठुलो प्रभाव पर्ने सम्भावना कम छ । भेनेजुएलामा विश्वको सबैभन्दा ठुलो प्रमाणित तेल भण्डार भएता पनि कमजोर शासन, अमेरिकी प्रतिबन्ध तथा पुँजी अभाव जस्ता समस्याका कारण पछिल्ला वर्षहरूमा त्यहाँको कच्चा तेल उत्पादनमा उल्लेखनीय गिरावट आएको आइरहेको थियो ।

ग्लोबल रिस्क म्यानेज्मेन्टका अनुसन्धान प्रमुख आर्ने लोहमान रास्मुस्सेनका अनुसार अहिलेको सबैभन्दा खराब अवस्थामा पनि भेनेजुएलाको तेल निर्यात पाँच लाख ब्यारेल प्रतिदिन छ । जुन झनै अप्ठेरो अवस्था आउँदा रोकिन सक्छ । तर उत्पादन रोकिने सम्भावना भने ज्यादै न्यून छ ।
यदि उत्पादन रोकियो नै भने पनि बजारले यसको झट्का सम्हाल्न सक्छ । किनभने यो महिनाको सुरुमै बजारमा अति आपूर्ति भइसकेको छ । अप्ठेरो अवस्थामा पनि ब्रेन्ट कच्चा तेलको मूल्यमा प्रति ब्यारेल १ देखि २ डलर मात्रै बढ्न सक्छ । त्यो पनि बिहीबार बजार खुल्नासाथ घट्छ ।
भेनेजुएलाले वैश्विक तेल उत्पादनमा १ प्रतिशत हिस्सा मात्रै ओगट्ने गरेको छ । अझ यसले सानो समूहलाई मात्रै बेच्ने गरेको छ । त्यसमा पनि धेरै जसो चिनियाँ प्रशोधनकर्ताहरू तथा अमेरिका र क्युबा पर्छन् ।
चीन र क्युबाले रुस र इरानबाट वैकल्पिक आपूर्तिको व्यवस्था मिलाउने प्रयास गर्न सक्छन् । सियामेन विश्वविद्यालयका लिन बोकियङ भेनेजुएलाको उत्पादन रोकिएको अवस्थामा पनि चीनले आफ्नो आपूर्ति तुलनात्मक रूपमा सहज ढङ्गले व्यवस्थापन गर्न सक्ने बताए ।
उनी भन्छन्, ‘चीन भेनेजुएलाको सबैभन्दा ठुलो कच्चा तेल खरिदकर्ता मुलुक हो । तर भेनेजुएलाको तेलले चीनको कुल कच्चा तेल आयातको जम्मा ५ प्रतिशतभन्दा कम हिस्सा ओगट्ने गरेको छ ।’
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आइतबार उल्लेख गरे अनुसार बन्दरगाहका कप्तानहरूले त्यहाँ लोड गरिएका जहाजहरूलाई यात्रा गर्न अनुमति दिनका लागि कुनै अनुरोधहरू प्राप्त नगरेकाले भेनेजुएलाको तेल निर्यात अहिले ठप्प छ ।
भावी दिनहरू कस्ता हुनेछन् भन्ने कुरा आगामी परिघटनाहरूले तय गर्ने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण