बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कोशी प्रदेश

पूर्व र वर्तमान मुख्यमन्त्री तथा मन्त्रीको संख्या झण्डै प्रदेशसभाको बहुमत

शृंखलाबद्ध सरकार गठन, विघटन र पुनःगर्ठन
मङ्गलबार, २२ पुस २०८२, १९ : २८
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • कोशी प्रदेशमा १० जना मन्त्री परिवर्तन, जसमा नयाँ अनुहारहरू पनि छन्।
  • मुख्यमन्त्री फेरिएसँगै सरकार गठन र विघटनको शृंखला चलिरह्यो।
  • अहिले हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार कायमै छ, तर सत्ता समीकरणमा फेरबदल आउने सम्भावना छ।

विराटनगर । कोशी प्रदेशमा मंगलबार १० जना मन्त्री परिवर्तन भए, तीमध्ये २ जना प्रदिपकुमार सुनुवार र रामप्रसाद महतोले मन्त्रीको स्वाद चाखिसकेका छन् । अरू ८ जना; इन्द्रमणि पराजुली, इस्राइल मन्सुरी, तिलचन पाठक, भीम पराजुली, मानबहादुर लिम्बू, विदुरकुमार लिङ्थेपले मन्त्रीका रूपमा र दुई जना उमाकान्त गौतम र शोभा चेम्जोङले राज्यमन्त्रीको ताज पहिलो पटक पहिरिएका छन् ।  

कोशी प्रदेशसभा ९३ सदस्यीय छ । मंगलबार ८ जना नयाँ मन्त्रीहरू मन्त्रिमण्डलमा समावेश भएसँगै प्रदेशसभामा कायम सदस्यहरूमध्ये हालसम्म ४६ जना मुख्यमन्त्री तथा मन्त्रीको ताज पहिरिनको सूचीमा परेका छन् । प्रदेशसभाको बहुमतका लागि ४७ पुग्नुपर्छ । सभामुखसमेत गणना गर्ने हो भने मन्त्री हुने र नहुनेको संख्या बराबर छ । 

प्रदेशसभाको ४६ जनामध्ये पहिलो कार्यकालमा मुख्यमन्त्री तथा मन्त्री बनेकाहरूमा हालका बहालवाला मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, केदार कार्की, पूर्व मन्त्रीहरू इन्द्रबहादुर आङ्बो, खिनु लङ्वा लिम्बू र हिमाल कार्की हुन् । दोस्रो प्रदेशसभामा नयाँ भए पनि अरू ४० जना भने मुख्यमन्त्री र मन्त्री बनिसकेका हुन् । 

सरकार गठन र विघटन

२०७९ पुस १७ गते प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकार २०८० असार १५ गते ढलेको थियो । कार्की नेतृत्वको सरकार पनि संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै बनेको थियो । 

त्यसपछि २०८० असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका उद्धब थापा पनि संविधानको धारा १६८ (२) अनुसार नै नियुक्त भएका हुन् । जसलाई सर्वोच्च अदालतको आदेशले साउन ११ गते पदमुक्त गरेको थियो । पुनः संविधानको सोही धारा र उपधारा अनुसार साउन १७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले विश्वासको मत लिने समय भदौ १३ गतेसम्म थियो । तर, उनले त्यसअगाडि नै भदौ ४ गते विवादास्पद ढंगले विश्वासको मत लिए र सर्वोच्चले पुनः भदौ २१ गते उनलाई बर्खास्त गर्‍यो । 

उनले प्रदेशसभाका अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीलाई पनि मतदानमा सहभागी गराएर बहुमत (४७) सांसद पुर्‍याएका थिए । अदालतले सभाध्यक्षको मतलाई अस्वीकार गरेसँगै उनी पदबाट मुक्त भएका हुन् । सर्वोच्चका न्यायधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले थापालाई पदमुक्त गर्ने आदेश दिएको हो । विश्वासको मत लिने यो प्रक्रियालाई सर्वोच्चको भदौ ७ गतेको अन्तरिम आदेशले असंवैधानिक भनिसकेको थियो । अदालतको अन्तरिम आदेशले नै कामचलाउ भइसकेका थापाले दोस्रो कार्यकालबाट पनि ३८ दिनमै बिदा लिनुपरेको थियो । 

अघिल्लो पटक असार २१ गते सभामुखसहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुक्ति प्रक्रिया सर्वोच्चले साउन ११ गते खारेज गरेको थियो । त्यसबेला पनि मुख्यमन्त्री थापाले २२ दिन मात्रै काम गर्न पाएका थिए । दोस्रो पटक उनी ३८ दिन मुख्यमन्त्रीका रूपमा बहाल रहे । 

koshi-sarkar2

अदालतले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै नयाँ सरकार गठनको बाटो खोलिदिएको थियो, तर दोस्रो पटक सर्वोच्चले संविधानको सोही धाराको उपधारा (३) अनुसार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई नियुक्त गर्न परमादेश दिएअनुसार उनी २०८० भदौ २२ गते नियुक्त भए । उनको कार्यकाल पनि लामो टिक्न सकेन, विश्वासको मत लिन नसकेपछि हिक्मत कार्कीले २०८० असोज २० गते राजीनामा दिए । 

त्यसपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसार २०८० असोज २७ गते केदार कार्कीको नेतृत्वमा सरकार बन्यो । उनको नेतृत्वमा बनेको सरकारले २०८१ वैशाख २७ गतेसम्म काम गर्‍यो । 

त्यसपछि पुनः हिक्मतकुमार कार्कीको नेतृत्वमा २०८१ वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसारको सरकार बन्यो । त्यही सरकार अहिले बहाल छ । कांग्रेस र एमालेबिच २०८४ सालको चुनावबाट नयाँ म्यान्डेट आउनुभन्दा अगाडिको समयमा आधा–आधा सरकारको नेतृत्व गर्ने सहमति भएको छ । 

सोही सहमतिअनुसार कार्की नेतृत्वको सरकार अबका केही महिना चल्नेछ भने नयाँ सरकार कांग्रेसको नेतृत्वमा बन्नेछ । यद्यपि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि भने केन्द्रको समीकरणमा फेरबदल आए कार्की नेतृत्वको सरकारको आयु लम्बिनेभन्दा छोटिने सम्भावना बढी छ । 

सरकार पुनर्गठनको शृंखला 

२०७९ पुस २४ गते हिक्मतकुमार कार्की प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका थिए । उनले पुस २५ गते तीन जना तिलकुमार मेन्याङ्बो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बूलाई मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रिमण्डल बनाए । त्यसको ४ दिनपछि पुस २९ गते दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई मन्त्रिमण्डलमा सामेल गराए । मन्त्रीहरूलाई जिम्मेवारी भने माघ ६ गते मात्रै दिए ।

यस्तै उनको सरकार ढलेपछि काँग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बने । उनले २०८० असार २२ गते कमलप्रसाद जबेगू र प्रदिपकुमार सुनुवार सहभागी मन्त्रिमण्डल बनाए । त्यसको २ दिनपछि जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीलाई मन्त्रिमण्डलमा सहभागी गराए । थापा नेतृत्वको सरकार सर्वोच्चबाट विघटन गरेसँगै पुनः साउन १७ गते थापाकै नेतृत्वमा बनेको सरकारमा बाबुराम गौतम, प्रदिपकुमार सुनुवार र कमलप्रसाद जबगू मन्त्री बने । त्यसको ९ दिनपछि साउन २६ गते निर्मला लिम्बूलाई मन्त्री नियुक्त गर्दै थापाले सरकार विस्तारलाई निरन्तरता दिए । पुनः उनले गयानन्द मण्डललाई साउन ३१ गते सरकारमा सहभागी गराए । तर, उनको सरकार पुनः अदालतको परमादेशबाट ढल्यो । 

त्यसपछि बनेको हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा भदौ २२ गते पुनः तिलकुमार मेन्याङ्बो, पाँचकर्ण राई, एकराज कार्की र सिर्जना राईलाई मन्त्रिमण्डलमा सहभागी गराइयो । कार्कीले पुनः असोज ८ गते सरकार विस्तार गर्दै लिलाबल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी, रामप्रसाद महतो र निरन राईलाई मन्त्रिमण्डलमा सहभागी गराउँदै मन्त्रिमण्डल विस्तार गरे । 

विश्वासको मत पाउन नसक्ने अवस्था भएपछि राजीनामा दिए । २०८० असोज २७ गते केदार कार्कीको नेतृत्वमा अर्को सरकार बन्यो । केदार कार्कीले असोज २८ गते रामबहादुर मगर र शमशेर राईलाई मन्त्री नियुक्त गरे । कार्कीले २०८० कार्तिक १७ गते गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगूलाई मन्त्रिमण्डलमा समावेश गराए । रामबहादुर मगरले राजीनामा दिएपछि कार्कीले मंसिर १७ गते नयाँ कार्यविभाजन गरे । फेरि मुख्यमन्त्री कार्कीले माघ २६ गते प्रदिपकुमार सुनुवार, राजेन्द्र कार्की, रामकुमार खत्री, नारायण बहादुर मगर, इन्दिरा थापा र सुनिताकुमारी गुरुङलाई मन्त्रिमण्डलमा सहभागी गराउँदै मन्त्रिमण्डलको संख्या १० पुर्‍याए । 

कार्की नेतृत्वको सरकार ढलेर पुनः २०८१ वैशाख २७ गते हिक्मतकुमार कार्की नेतृत्वमा सरकार निर्माण भयो । कार्कीले सोही दिन गणेशप्रसाद उप्रेती र रामबहादुर मगरलाई मन्त्री नियुक्त गरे । त्यसको एक हप्तापछि जेठ ४ गते मुख्यमन्त्री कार्कीले राजेन्द्र कार्की, पाँचकर्ण राई, एकराज कार्की, नारायणबहादुर मगर, लिलाबल्लभ अधिकारी, सिर्जना राई र बन्दना झाँगरलाई मन्त्रिमण्डलमा सहभागी गराए । 

उक्त सरकारबाट माओवादी र नेकपा एकीकृत समाजवादी बाहिरिएपछि मुख्मयन्त्री कार्कीले २०८१ भदौ २८ गते काँग्रेसबाट भुपेन्द्र राई, खगेनसिंह हाङ्गाम, सदानन्द मण्डल र भुमिप्रसाद राजवंशीलाई मन्त्रिमण्डलमा सहभागी गराए ।  

२०८१ मंसिर १७ गते गैरकानूनी जापान भ्रमणपछि राजीनामा दिन बाध्य भएका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीको ठाउँमा एमालेका रेवतीरमण भण्डारी नियुक्त भए । मुख्यमन्त्रीले आफ्नो मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरूलाई आफ्नो कार्यकालको आधा आधा कार्यकाल मात्रै जिम्मेवारी दिने गरी यसअघि नै प्रतिबद्धता जनाइएका थिए । सोही अनुसार मंगलबार १० जना नयाँ मन्त्रीहरू चयन भएका छन् । जसमा इन्द्रमणि पराजुली, इस्राइल मन्सुरी, उमाकान्त गौतम, तिलचन पाठक, प्रदिपकुमार सुनुवार, भीम पराजुली, मानबहादुर लिम्बू, विदुरकुमार लिङ्थेप, रामप्रसाद महतो र शोभा चेम्जोङ रहेका छन् । 

कोशी प्रेशसभामा रहेका मुख्यमन्त्री तथा मन्त्रीको ताज पहिरिनेहरू
१) हिक्मतकुमार कार्की (मुख्यमन्त्री)
२) उद्धब थापा (पूर्व मुख्यमन्त्री)
३) केदार कार्की (पूर्व मुख्यमन्त्री) 
४) राजेन्द्रकुमार राई (पूर्व मुख्यमन्त्री)
मन्त्रीहरू
५) इन्द्रमणि पराजुली 
६) इस्राइल मन्सुरी
७)उमाकान्त गौतम
८) तिलचन पाठक 
९) प्रदिपकुमार सुनुवार 
१०) भीम पराजुली 
११) मानबहादुर लिम्बू 
१२) विदुरकुमार लिङ्थेप 
१३) रामप्रसाद महतो 
१४) शोभा चेम्जोङ

पूर्व मन्त्रीहरू
१५) इन्द्रबहादुर आङ्बो
१६) एकराज कार्की
१७. हिमाल कार्की
१८) राजेन्द्र कार्की
१९) रामकुमार खत्री
२०) रामबहादुर मगर
२१) खिनु लङ्वा लिम्बू
२२) गणेशप्रसाद उप्रेती
२३) गयानन्द मण्डल
२४) गोविन्द गिरी
२५) जीवन आचार्य
२६) तिलकुमार मेन्याङ्बो
२७) दुर्गाप्रसाद चापागाईं
२८) नारायण बुर्जा मगर
२९) निरन राई
३०) निर्मला लिम्बू
३१) पाँचकर्ण राई
३२) बन्दना झाँगड
३३) बाबुराम गौतम
३४) बुद्धिकुमार राजभण्डारी
३५) भक्तिप्रसाद सिटौला
३६) भुपेन्द्र राई
३७) भूमिप्रसाद राजवंशी
३८) कमलप्रसाद जबेगू
३९) खगेनसिङ हाङ्गाम
४०) रेवतीरमण भण्डारी
४१) लिलाबल्ल्भ अधिकारी
४२) शमशेर राई
४३) सदानन्द मण्डल
४४) सिर्जना राई
४५) सुनिताकुमारी गुरुङ
४६) इन्दिरा थापा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप