मधेसमा जसपा नेपालले उम्मेदवारी दिँदा कांग्रेस–एमालेलाई कस्तो असर पर्छ ?
सारांश
- माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा विभिन्न दलका ११ जनाले उम्मेदवारी दिएका छन्।
- कांग्रेस र एमालेसँग गठबन्धन गरेको जसपा नेपालले छुट्टै उम्मेदवारी दिएपछि लोसपा नेपालसँगको एकता संकटमा परेको छ।
- नेकपा र मधेसी दलहरूसँग गठबन्धन भए पनि जित्न सक्ने अवस्था नदेखिएको बताइएको छ, जसमा ३७१ मतदाता रहेका छन्।
काठमाडौँ । माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा ११ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार चार सिटका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी नेपालले उम्मेदवारी दिएका हुन् ।
तर कांग्रेस र एमालेसँग गठबन्धन गरेको जसपा नेपालले छुट्टै उम्मेदवारी दिएपछि लोसपा नेपालसँगको एकता सहमति संकटमा पर्ने देखिएको छ । तीन दलबिच भएको भागबन्डामा लोसपा नेपालले एक सिट पाएको थियो ।
पार्टी अध्यक्ष समेत रहेका महन्थ ठाकुरले गठबन्धनको तर्फबाट बुधवार उम्मेदवारी दर्ता गराइसकेका छन् । ठाकुरले अन्यबाट उम्मेदवारी दिएका हुन् । कांग्रेसले अपाङ्गता तथा अल्पसङ्ख्यकबाट रञ्जित कर्ण र दलितबाट धर्मेन्द्र पासवान उम्मेदवार बनेका छन् ।
एमालेले महिला तर्फबाट रेखा कुमारी झालाई उम्मेदवार बनाएको छ । गठबन्धनलाई चुनौती दिँदै जसपा नेपालले अपाङ्गता तथा अल्पसंख्यकतर्फ शैलेन्द्र कुमार चौधरी, दलिततर्फ चमेलीदेवी दास र महिलातर्फ चन्द्रकला देवी साहलाई उम्मेदवार बनाएको छ । यता कांग्रेस र एमालेसँग भागबण्डा नमिलेपछि नेकपाले एकल उम्मेदवारी दिएको छ । अपाङ्गता तथा अल्पसङ्ख्यकबाट रामनन्दन प्रसाद, दलितबाट शम्भु पासवान हजारी, महिलाबाट शली कुमारी अग्रवाल र अन्यबाट लक्ष्मण पौडेलले उम्मेदवारी दिएका छन् । कांग्रेस–एमालेसँग गठबन्धन गर्ने प्रयास असफल भएपछि मधेसी दलहरूसँग सहकार्यको प्रयास भइरहेको नेकपाका नेताहरूले बताएका छन् । मधेस केन्द्रित दलहरू सबैसँग अन्तिममा सहकार्य भए नै पनि जित्न सक्ने अवस्था देखिँदैन ।
मधेसमा प्रदेश सभातर्फ १०४ र स्थानीय तहतर्फ २६७ गरी कुल ३७१ मतदाता रहेको छ । यस्तै प्रदेश सभामा ५५१२ र स्थानीय तहमा ५०७३ गरी कुल १०५८५ मतभार रहेको छ ।
माधेश प्रदेशमा एमालेको प्रदेश सभाको १३२५ र स्थानीय तहमा १०८३ गरी कुल २४०८ मतभार रहेको छ । कांग्रेसको प्रदेश सभामा ११६६ र स्थानीय तहमा १९३८ मतभार गरी कुल ३१०४ मतभार रहेको छ । दुवै दलको कुल मतभार ५५१२ रहेको छ ।
माओवादी केन्द्रको प्रदेश सभामा ४७७ र स्थानीय तहमा ३४२ गरी कुल ८१९ मतभार रहेको छ । एकीकृत समाजवादीको प्रदेश सभामा ३७१ र स्थानीय तहमा २०९ गरी ५८० मतभार रहेको छ । माओवादी र एकीकृत समाजवादीको कुल १३९९ मतभार रहेको छ । नाउपा समेत नेकपामा रहेकाले थप ५३ गरी कुल १४५२ मतभार छ । नेकपा बाहेक जसपा नेपालको १९७६, जनमत पार्टीको ७४६, नेपाल संघीय समाजवादी पार्टीको ५३, तमलोपाको १९ र स्वतन्त्रको ५७ गरी कुल २८५१ मतभार रहेको छ । नेकपा र मधेसी दलहरूबिच गठबन्धन भएमा कुल ४३०३ मतभार छ ।
लोसपाको प्रदेश सभामा ४७७ र स्थानीय तहमा ४५६ गरी कुल ९३३ मतभार रहेको छ । लोसपा नेपाल सहितको गठबन्धन भएपनि कुल ५२३६ मतभार हुन्छ । यसैगरी रास्वपासँग एकता गरेको विवेकशील साझाको ३८ र राप्रपाको ५३ मत रहेको छ ।
आयोगका प्रवक्ता अनुसार आज बिहान १० देखि ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने कार्यक्रम छ । पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण