बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कांग्रेसमा विशेष महाधिवेशन

'कोशीबाट विशेष महाधिवेशनका दुई तिहाइ प्रतिनिधि काठमाडौँ जाँदैछन्'

बिहीबार, २४ पुस २०८२, १९ : २६
बिहीबार, २४ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसको विशेष महाधिवेशनमा कोशी प्रदेशबाट दुई तिहाइ प्रतिनिधि सहभागी हुने सहमहामन्त्री फागोको दाबी छ।
  • पार्टी रूपान्तरणको पक्षमा रहेका फागोले वर्तमान नेतृत्वले कांग्रेसको मूल्य र मान्यतालाई सत्तासँग साटेको आरोप लगाए।
  • विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन र नीतिमा फेरबदल हुनसक्ने फागोले बताएका छन्।

विराटनगर । संस्थापन पक्षका बहुमत केन्द्रीय सदस्यहरूको असहमति बाबजुद पुस २७ र २८ गते हुन लागेको नेपाली कांग्रेसको विशेष महाधिवेशनमा कोशी प्रदेशबाट दुई तिहाई प्रतिनिधिहरू सहभागी हुने एक नेताले दाबी गरेका छन् ।  

यसअघि संस्थापन पक्षमा रहेका कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोले पार्टी रूपान्तरणको पक्षमा रहेको भन्दै कोशी प्रदेशबाट विशेष महाधिवेशनमा दुई तिहाइ प्रतिनिधिहरू सहभागी हुने दाबी गरेका हुन् ।

सहमहामन्त्री फागोका अनुसार विशेष महाधिवेशनका लागि कोशी प्रदेशबाट हालसम्म २७७ जना काठमाडौँ पुगिसकेका, ६९ जना बसमा चढेका र शुक्रबार दिनभर अरू धेरै काठमाडौँ जाने दाबी गरे । ‘हामी विशेष महाधिवेशन प्रतिनिधिका लागि कोशी प्रदेशबाट २७७ जना काठमाडौँ पुगिसकेका छौँ, आज मात्रै ६९ जना साथीहरू यात्रामा हुनुहुन्छ र भोलिसम्म अत्यधिक प्रतिनिधिहरू काठमाडौँ पुग्ने क्रम जारी छ,’ फागोले भने ।

कोशी प्रदेशमा कुल प्रतिनिधि संख्या ७ सयभन्दा बढी रहेको बताउँदै उनले तीमध्ये ठुलो हिस्सा विशेष महाधिवेशनको पक्षमा उभिएको बताए । ‘कोशीको बहुमत मात्र होइन, करिब दुई तिहाइ प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा छन्,’ फागोले दाबी गरे । 

पहिले सभापति शेरबहादुर देउवाको समूहमा देखिएका फागो अहिले पार्टी रूपान्तरण र गगन–विश्वको लाइनमा उभिनुको कारण पार्टीको बिग्रँदो अवस्थालाई ठानेका छन् । उनले वर्तमान नेतृत्वले कांग्रेसको मूल्य, मान्यता र सिद्धान्तलाई सत्तासँग साटेको आरोप लगाए । 

‘हामीलाई कुनै पात्र वा समूहभन्दा पनि नेपाली कांग्रेसको अस्तित्व ठुलो हो,’ फागोले भने, ‘सहिदको रगतले सिञ्चित यो पार्टी आज एमाले र माओवादीको सहारामा मात्र सत्तामा पुग्ने खेलमा लागेको छ । सिद्धान्त र विचारहरू गौण भए, सत्ता र शक्ति मात्रै प्राथमिकतामा पर्‍यो,’ उनले थपे, ‘अहिलेको नेतृत्वले कांग्रेसलाई एमाले र माओवादीको पिछलग्गु बनाएको छ । हामी यो घुँडा टेकेको नेपाली कांग्रेसलाई फेरि आफ्नो खुट्टामा उभिने र हिँड्ने बनाउन चाहन्छौँ ।’ 

फागोले पार्टीले आफ्नो नीति र सिद्धान्तअनुसार एक्लै चुनाव लड्नुपर्ने धारणा राखे । ‘गठबन्धनले गर्दा कांग्रेसको आफ्नै संगठन कमजोर भयो । एमाले र माओवादीसँगको अप्राकृतिक गठबन्धनले कांग्रेसको पहिचान मेटिँदै छ,’ उनले भने । 

उनले राप्रपा र एमालेको उदाहरण दिँदै भने, ‘एमाले मार्क्सवाद–लेनिनवाद भन्छ, राप्रपा राजसंस्था र हिन्दुराष्ट्र भन्छ । यिनीहरूको गठबन्धन सत्ताका लागि मात्र हो, सिद्धान्त त गौण भइसक्यो । कांग्रेस पनि त्यही बाटोमा हिँड्नु घातक छ ।’ 

विशेष महाधिवेशन हुने कि नहुने भन्ने अन्योलबिच फागोले विधानको व्यवस्थालाई बलियो आधार मानेका छन् । उनले ५४ प्रतिशत प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न सक्ने र त्यो अधिकार विधानले दिएको स्पष्ट पारे । 

‘विधानको धाराअनुसार विशेष कारण खुलाएर विशेष महाधिवेशन माग गर्ने अधिकार हामीसँग छ । कसले हुन्छ भन्छ, कसले हुँदैन भन्छ, त्यो गौण कुरा हो । ५४ प्रतिशत प्रतिनिधिले चाहेपछि यो भएरै छाड्छ,’ उनले भने । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘विशेष महाधिवेशन भनिसकेपछि नयाँ नेतृत्व पनि आउन सक्छ, अन्य नेतृत्व र नीतिमा फेरबदल पनि हुन सक्छ । यो सबै पार्टीलाई जीवन्त बनाउनका लागि हो ।’ 

कोशी प्रदेशका सहमहामन्त्री फागोले आफू अहिले काठमाडौँमा रहेका र आउने क्रममा रहेका प्रतिनिधिहरूको व्यवस्थापन र समन्वयमा सक्रिय रहेको बताए । ‘म कोशीका साथीहरूसँग आन्तरिक रूपमा समन्वय गरिरहेको छु । हामीले १६ वटा विभिन्न समितिहरू बनाएर काठमाडौँमा व्यवस्थापन गरिरहेका छौँ,’ उनले जानकारी दिए । फागोले पार्टीको रूपान्तरण अपरिहार्य रहेको र यसका लागि आफू जस्तोसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप