एकता दिवसका अवसरमा ककनीमा ‘राष्ट्रिय एकता कला कार्यशाला’
सारांश
- ककनीमा राष्ट्रिय एकता कला कार्यशाला सुरु भयो, जसमा १५ जना कलाकारको सहभागिता छ।
- कार्यशालाको उद्देश्य नेपाली कला, संस्कृति र इतिहासको संरक्षण र प्रवर्द्धन गर्नु हो।
- गुठीको संरक्षण र वसन्ती उपन्यासको छायाङ्कनलाई लिएर पनि विज्ञप्ति जारी गरियो।
काठमाडौँ । काठमाडौँसँग जोडिएको नुवाकोटको ककनीमा ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबारदेखि ‘राष्ट्रिय एकता कला कार्यशाला, २०८२’ सुरु भएको छ ।
आइतबारसम्म सञ्चालन हुने दुई दिने कला कार्यशालामा काठमाडौँ उपत्यकासहितका विभिन्न जिल्लाका १५ जना कलाकारको सहभागिता रहेको ककनी पौवा गुठीका गुठियार शशिविक्रम थापाले जानकारी दिए । उनले अनेकतामा एकता नेपाली समाजको मौलिक कला, संस्कृति, इतिहासको संवर्द्धन र प्रवर्द्धनका लागि दुईदिने कला कार्यशाला आयोजना गरिएको बताए ।
ककनी पौवा गुठी नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाका कान्छा भाइ कमान्डर कोपिल रणवीर सिंह थापा (स्वामी अवयानन्द) द्वारा विसं १८८८ मा बटुवालाई पानी, बाँसको प्रबन्ध र बस्ती विस्तार गर्ने उद्देश्यले २४ हजार रोपनी जग्गा गुठी प्रबन्ध गरी स्थापित गरिएको इतिहास छ । गुठियार थापाले सो गुठीमा २४ हजार रोपनी जग्गा प्रबन्ध भएकामा विभिन्न आवरण र मन्त्रिपरिषद्को निर्णय भन्दै अतिक्रमित हुँदै खुम्चिँदै गएकाले त्यसको संरक्षणमा ध्यानाकर्षणका लागि पनि यहाँ कार्यशाला आयोजना गरिएको बताए ।
उक्त गुठीद्वारा शनिबार जारी एक विज्ञप्तिमा भनिएको छ, “गुठी मासिए संस्कृति मासिन्छ । संस्कृति मासिए पहिचान मासिन्छ । पहिचान मासिए अस्तित्व समाप्त हुन्छ । यही तथ्यलाई आत्मसात् गर्दै पृथ्वी जयन्तीको सन्दर्भ पारेर संस्कृति, इतिहास, सम्पदा संरक्षणमा ललितकला क्षेत्रका कलाकारको सहभागितामा ‘राष्ट्रिय एकता कला कार्यशाला तथा प्रदर्शनी–२०८२’ को आयोजना गरिएको हो ।”
विज्ञप्तिमा लेखक डायमण्डशमशेर राणाको काल्पनिक उपन्यास वसन्तीको छायाङ्कन यही ककनी पौवा गुठी परिसरमा गरिएको र पछि गुठी भवनलाई वसन्ती दरबारका रूपमा प्रचार गरिदिँदा यसको मौलिकता र इतिहास ओझेलमा परेको उल्लेख छ । “एउटा चित्रले हजार शब्द बोल्दछ भन्ने तथ्यलाई मूल्याङ्कन गर्दै गुठीका सङ्घर्ष, इतिहास, संस्कृति तथा पृथ्वी पथका सिद्धान्तलाई रङ्ग र रेखामार्फत अभिव्यक्त गरी ककनी पौवा गुठी परिसरमा चित्र सङ्ग्रहालयका रूपमा जीवन्त प्रदर्शनी गर्ने पवित्र उद्देश्यले चित्रकला कार्यशाला आयोजना गरिएको हो’, विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय एकता कला कार्यशाला तथा प्रदर्शनीमा कलाकारहरू रामकृष्ण थापा, सुवास आचार्य, केदार दाहाल, दिवेश प्रधान, आवरण पौडेल, हरि प्रजापति, प्रविण श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, मङ्गल प्रजापति, गौरीमैया कोँजु, राजेन्द्र याकामी, लक्ष्मीप्रसाद खोटेजा, सुभाष खड्का, राधेश्याम कर्माचार्यलगायतको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको विषयमा मधेसलाई चासो, अन्य प्रदेश मौन किन ?
-
राष्ट्रियसभामा विनियोजन विधेयक–२०८३ सम्बन्धी प्रतिनिधिसभाको सन्देश टेबुल
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
-
रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
-
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ : रोहितकाे कप्तानीमा टाेली घाेषणा
-
रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण