आत्मविश्वासदेखि सफलतासम्म : परीक्षाको रूपरेखा
सारांश
- परीक्षा विद्यार्थी जीवनको एक महत्त्वपूर्ण पाटो हो, जसले ज्ञान, धैर्य, र मानसिक परिपक्वताको परीक्षण गर्छ।
- सकारात्मक सोच, आत्मविश्वास, योजनाबद्ध तयारी र नियमित अभ्यास परीक्षामा सफलताका लागि आवश्यक छ।
- परीक्षालाई डरको रूपमा नहेरी अवसरको रूपमा लिनुपर्छ, जसले विद्यार्थीलाई मानसिक रूपमा बलियो बनाउँछ।
परीक्षा विद्यार्थी जीवनको अविभाज्य अंश हो । परीक्षाले केवल कक्षाकोठामा सिकेका ज्ञानको परीक्षण मात्र गर्दैन; विद्यार्थीको मनोबल, धैर्य, स्थिरता र मानसिक परिपक्वताको परिमापन पनि गर्छ । करियर अर्थात् पेसागत जीवनको निर्माण–यात्रा वा निर्णयमा पनि परीक्षा र यसको नतिजा प्रमुख घटक हुने भएकाले मानव जीवनमा परीक्षाको महत्त्वलार्ई नकार्न सकिँदैन ।
परीक्षा भनेको ज्ञान मात्र नभई मनको तयारी र धैर्यको मूल्याङ्कन गर्ने आयाम हो । तर, प्रत्येक विद्यार्थीले परीक्षालाई एउटै रूपमा अनुभूत गरेको पाइँदैन । कसैलाई परीक्षा चुनौती जस्तो लाग्छ त कसैलाई डरलाग्दो घटनाजस्तो । मनोवैज्ञानिक रूपमा सबल विद्यार्थीका लागि भने परीक्षा एक सामान्य प्रक्रिया हो । आफ्नो योग्यता र क्षमता प्रस्तुत गर्ने एक अवसर हो । परीक्षार्थीको आत्मविश्वास बलियो भए परीक्षा स्वतः सरल र सहज हुन्छ ।
- विद्यार्थीका लागि परीक्षा कठिन विषय हो या सरल ?
यसको निर्धारण विद्यार्थीले गरेको अध्ययनको मात्राले भन्दा बढी मनको अवस्थाले गर्छ । मन कमजोर भयो भने धेरै पढेर पनि डर, चिन्ता र अस्थिरताका कारण नतिजा घट्छ । तर, मन बलियो भयो भने कठिन विषयवस्तु पनि सहज–बोध भई नतिजा सप्रिन्छ । हरेक विषयको परीक्षाको सफलताको मूल कुञ्जी ‘आत्मविश्वास’ हो ।
परीक्षाको परिभाषा र परिकल्पनालाई साकार पार्ने सहायक तत्त्वहरूमा स्वयम् विद्यार्थी, शिक्षक, पाठ्यपुस्तक, सन्दर्भसामग्री, पाठ्य–लेख्यसामग्रीहरूका साथै कम्प्युटर, मोबाइल, इमेल, इन्टरनेट, गुगल आदि प्राविधिक स्रोत–सामग्रीको भूमिकासम्बन्धी दृष्टिकोण आमरूपमा छर्लङ्ग छ । तर, परीक्षाको नतिजालाई प्रभाव पार्ने अदृश्य पक्षहरूको पनि सावधानीपूर्वक कार्य–अनुशीलन भएन भने अध्ययनदेखि सफलतासम्मको यात्रा अधुरो हुन जान्छ । तसर्थ, आत्मविश्वास, सकारात्मक सोच, परीक्षाबारे परिपक्व दृष्टिकोण, योजनाबद्ध तयारी एवम् निरन्तर अभ्यासको सन्तुलित उपयोग अत्यावश्यक छ । यिनको विश्लेषण यहाँ प्रस्तुत गरिएको छः
- विद्यार्थीको आत्मविश्वास
परीक्षामा सफलताको आधारभूत शक्ति आत्मविश्वास हो । कुनै पनि विद्यार्थीको तयारी कति गहिरो छ भन्ने कुरा केवल अभ्यासपुस्तिकाका पानामा होइन, उसको दृढ सङ्कल्प सहितको मनोबलमा पनि निर्भर हुन्छ । आत्मविश्वासको कमीले पढेको र जानेको कुरा परीक्षामा बिर्सने वा राम्ररी लेख्न नसक्ने अवस्था सिर्जना भइरहेको हुन्छ ।
उत्सुकतायुक्त आत्मविश्वासबाट अभिप्रेरित भएर आएको विद्यार्थीले चुनौतीलाई डर होइन, अवसरका रूपमा हेर्छ । जरैदेखि पलाएको आत्मविश्वासले मनमा एक किसिमको स्थिरता, स्पष्टता र ऊर्जा भरिदिएको हुन्छ । यो शक्ति मानिसलाई जन्मैदेखि प्राप्त भएर आएको हुँदैन; पुनरावृत्ति, अभ्यास, नवीन सोच र अनुभवबाट क्रमशः आत्मविश्वास निर्माण भइरहन्छ ।
जस्तै; कुनै विद्यार्थीले आफ्नो कमजोर विषयमा निरन्तर अभ्यास गरेर राम्रोसँग बुझ्न थाल्यो भने त्यस दिनदेखि उसको मनमा “म सक्छु” भन्ने एउटा नयाँ भरोसा जन्मिन्छ । त्यही भरोसा नै उसको सफलताको सोपान हो । आत्मविश्वास भए दिमागको तर्क–शक्ति सक्रिय हुन्छ । ज्ञान र विचारमा स्पष्टता भए लेखन कौशल पनि सहज रूपमा बग्छ । आत्मविश्वास नै परीक्षामा सफलता हासिल गर्ने सर्वोत्तम मानसिक आधार हो ।
- सकारात्मक सोच
तनावलाई शान्तिमा बदल्ने मानसिक अस्त्र सकारात्मक सोच हो । परीक्षा नजिकिँदै जाँदा मनमा अनेकौँ शङ्का उठ्नु स्वाभाविक हो । कहिलेकाहीँ मनमा ‘मैले सकिनँ भने के होला ?’ भन्ने डर उत्पन्न हुन्छ । यस किसिमको डरले मनलाई अशान्त बनाउँछ । त्यसबाट ध्यान भङ्ग हुँदै मनोबल खलबलिन्छ । सकारात्मक सोचले मनको डरलाई सजिलैसँग नियन्त्रणमा राख्छ । सकारात्मक सोच केवल आशावादिता होइन; यो समस्यालाई समाधानतर्फ केन्द्रित गराउने क्षमता हो ।
कठिन पाठबाट निराश हुने विद्यार्थी तनावमा डुब्छ । तर, यो कठिन छ, म यसलाई स–साना खण्डमा विभाजन गरेर बिस्तारै बुझ्छु भन्ने विद्यार्थी समस्यालाई केलाउँदै समाधानतर्पm अग्रसर हुन्छ । यसरी उसले आफ्नो मनलाई हलुका राख्छ । तनाव घटाउने, ध्यान केन्द्रित गराउने र आत्म–विश्वास बढाउने सरल उपाय भनेकै सकारात्मक सोच–विधि हो । यो अवस्था परीक्षा दिइरहँदा समेत अत्यन्त आवश्यक हुन्छ, जहाँ मनको स्थिरताले समग्र प्रस्तुतिलाई निर्धारण गर्छ । अतः सकारात्मक सोचले प्रतिकूलतालाई अनुकूल सम्भावनामा रूपान्तरण गर्दै सफलताको मार्गलाई सार्थक तुल्याउँछ ।
- परीक्षाबारेको दृष्टिकोण
परीक्षा के हो ? परीक्षा किन आवश्यक छ ? यी सवाललाई गहिराइमा बुझ्न र बुझाउन सकिएमा विद्यार्थीमा मानसिक परिपक्वता बढ्दै जान्छ । बुझाइ सशक्त हुँदै परीक्षा केवल एउटा औपचारिक चरणजस्तो लाग्न थाल्छ ।
परीक्षाको परिणामलाई मात्र जीवनको सम्पूर्ण मूल्य ठानियो भने त्यसले मनमा अत्यधिक दबाब सिर्जना गर्छ । परीक्षा अनुभवको एउटा कडी हो, एक अवसर हो र निरन्तरको प्रक्रिया हो । विद्यार्थी जीवनमा परीक्षा निकै महत्त्वपूर्ण छ । तर, एउटा परीक्षामा असफल भइयो भन्दैमा जीवन नै असफल हुँदैन । एउटा असफलता पनि सुधार र प्रगतिको अर्को ढोका हो । पढाइ वा सिकाइलाई समयको व्यवस्थापन र सदुपयोगसँग जोड्न सकिएमा कसैले नसोचेको सकारात्मक नतिजा हात पार्न सकिन्छ ।
जुन दिनदेखि परीक्षार्थीले परीक्षासँग सम्बन्धित यी कुराहरू बुझ्न थाल्छ, त्यस दिनदेखि उसको मन हलुका अर्थात् दबाबबाट मुक्त हुन्छ । आत्म–दबाब कम भएको अवस्थामा मात्र सिकाइप्रतिको रुचि बढ्छ र मानसिक स्थिरता मजबुत हुन्छ । दृढतासहितको मिहिनेत र परीक्षाको सफलताले जीवनको धार नै बदलिदिएका उदाहरणहरू हाम्रै वरिपरि अनेक हुन्छन् ।
यसबाट बुझिन्छ कि परीक्षाबारे स्पष्ट दृष्टिकोण बनाएर योजनाबद्ध तयारीमा जुट्नेहरू सफलताका हकदार हुन् । यस प्रक्रियाले विद्यार्थीलाई मनोवैज्ञानिक रूपमा सुरक्षित बनाउँछ । जब परीक्षा भय होइन, प्रक्रिया बन्छ, तब परिणाम पनि सजिलैसँग सुधारिन्छ । पढाइका स–साना सुधारहरूको योग नै उच्च सफलता वा उत्कृष्ट नतिजा हो ।
- योजनाबद्ध तयारी
परीक्षा कठिन लाग्ने प्रमुख कारणहरूमध्ये एक अव्यवस्थित पढाइ हो । धेरै विद्यार्थीहरूले तयारी त गरिरहेका हुन्छन्, तर योजनाविहीन रूपमा । अचानक जे मनमा आयो, त्यही विषय पढ्नाले उपलब्धि हँदैन । यसो गर्दा कुन विषय कति पढियो, कति छैन, कुन भाग कमजोर छ भन्ने स्पष्ट हुँदैन ।
योजनाबद्ध तयारीले दिमागमा सिकाइसम्बन्धी मानसिक नक्सा बनाउँछ । कुन विषय, कुन दिन, कति समय, कस्तो विधिले पढ्ने भन्ने योजनाका आधारमा अध्ययन गर्ने हो भने राम्रो नतिजा प्राप्त हुन्छ । यसले विद्यार्थीलाई मार्गदर्शनका साथ–साथै सुरक्षा भाव र आत्मबल प्रदान गर्छ ।
समयतालिका बनाउने, विषयहरूलाई साना–साना खण्डमा बाँड्ने, कमजोर पक्ष पहिचान गर्ने र नियमित पुनरावृत्ति गर्ने बानीले मनलाई व्यवस्थित बनाउँछ । योजनाबद्ध तयारीका साथ गरिएको अध्ययनबाट मात्रै आफ्नो पढाइका बारेमा मनमा स्पष्टता आउँछ । त्यही स्पष्टताले परीक्षालाई सहज बनाउँदै सफलता सुनिश्चित गर्ने मार्ग प्रशस्त गर्छ ।
- नियमित अभ्यास
आपूmले कहिल्यै अभ्यास नगरेका अपरिचित प्रश्न र प्रश्नपत्रका ढाँचाले विद्यार्थीको मनमा परीक्षाप्रति नकारात्मक दृष्टिकोण ल्याउँछ । परीक्षा भन्नेवित्तिकै डराउने अनेक कारणहरूमध्ये एक प्रमुख कारण नियमित अध्ययन–अभ्यासकै कमी हो । परीक्षामा जति अपरिचित प्रश्न देखिन्छन्, परीक्षार्थीको मनमा उति नै तनाव बढ्छ ।
तर, अभ्यासले अपरिचयलाई परिचयमा बदलिदिन्छ र परीक्षा सजिलो भइदिन्छ । परीक्षामा पूर्ण सफलता प्राप्तिका लागि अघिल्ला वर्षहरूका प्रश्न हल गर्नु, अभ्यास परीक्षामा सहभागी हुनु, समय मिलाएर लेखन अभ्यास गर्नु आदि निर्माणात्मक तरिकाबाट विद्यार्थीले पहिलेदेखि नै निर्णयात्मक परीक्षालाई अनुभूत गरिसकेको हुनुपर्छ ।
प्रयाप्त अभ्यासका साथ परीक्षामा सहभागी हुँदा नयाँपन कम भई डर पनि कम हुन्छ । नियमित अभ्यासबाट मन, दिमाग र हात; यी तिनैलाई उचित समायोजित हुन मद्दत पुगेको हुन्छ । उत्तर सोच्ने, लेख्ने र समय व्यवस्थापनका साथ पूरा गर्ने क्षमतामा सुधार आउँछ । विषयवस्तुको भरपुर अभ्यास गर्ने विद्यार्थीहरू परीक्षा हलमा अनुमान होइन, अनुभव लिएर प्रवेश गर्छन् ।
यसै अनुभवले मनलाई ढुक्क बनाउँछ । यो प्रश्न त मैले धेरैपटक गरिसकेको छु, सजिलै गर्न सक्छु भन्ने दृढविश्वासका साथ परीक्षा दिनु नै सफलताको द्योतक हो । अभ्यासले ज्ञान र सिपको स्तरवृद्धि गर्ने मात्र होइन, समग्र मनोबल, लेखाइको गति र आत्मविश्वास पनि बढाउँछ ।
त्यसैले मनोवैज्ञानिक रूपमा परीक्षार्थीको सफलताका लागि सबैभन्दा प्रभावकारी अस्त्र अभ्यास हो । अभ्यास गर्ने बानीले नै मानिसलाई सफलताको शिखरसम्म पुर्याउँछ ।
- निष्कर्ष
परीक्षामा सफलता प्राप्त गर्नु केवल प्रश्नको उत्तर लेख्नु मात्र होइन, लेख्नुभन्दा पहिले मानसिक रूपले आफैँलाई तयार पार्नु हो ।
बलियो मन भएका विद्यार्थीहरूले कठिनाइलाई चुनौतीमा बदल्छन् । डरलाई कौशलमा रूपान्तरण गर्छन् । र, आफ्ना कमजोरीलाई सुधारको अवसरका रूपमा हेर्छन् । मन बलियो भयो भने मात्र परीक्षा सरल, व्यवस्थित र आत्मविश्वासी यात्रामा परिणत हुन्छ ।
परीक्षा केवल कागजमा अङ्क ल्याउने खेल होइन; विद्यार्थीको अनुशासन, मनोबल, मानसिक परिपक्वता र जीवनोपयोगी सिर्जनाको कडी हो । अभ्यासका अनेक चरण पार गरेर मनलाई बलियो बनाउन सके परीक्षा आफैँ सहज बन्छ ।
मान्छेका जीवनका सपनाहरूको गन्तव्यमा प्रयासका चरण स्पर्श गर्दै सफलतासम्म पुग्ने माध्यम परीक्षा हो । परीक्षाका यिनै नालीबेलीहरू पछ्याउँदै धैर्य र सावधानीपूर्वक परीक्षा–सोपान पार गर्नु बुद्धिमानी हो ।
(लेखक भण्डारी भ्याली भ्यु स्कुल, मध्यबानेश्वर, काठमाडौँका प्रधानाध्यापक हुन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लव नेतृत्वको नेकपा (माओवादी)का नेता असल पार्टीबाट निष्कासित
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण