बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कांग्रेस विशेष महाधिवेशन

फुटबाट जाेगाउन हरसम्भव प्रयास

सोमबार, २८ पुस २०८२, २० : ५५
सोमबार, २८ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पार्टी फुट्ने चिन्ता बढेपछि नेताहरूबीच छलफल सुरु भयो।
  • महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विभिन्न प्रस्ताव राखे, तर डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्न जोड दिए।
  • अन्ततः सभापति देउवा र महामन्त्रीहरूबीच वार्ताको तयारी भयो, तर सहमति हुने वा नहुने अझै निश्चित छैन।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनको बन्दसत्रमा तीन प्रतिवेदन पेस भए ।

अधिवक्तासमेत रहेका महासमिति सदस्य नारायण भट्टराईले विशेष महाधिवेशनको कार्यविधि, महामन्त्री शर्माले 'बदलिएको देश/बदल्नुपर्ने कांग्रेस सद्‌भाव, सुशासन र समुन्नतिको नवीन यात्रा' शीर्षकमा र अर्का महामन्त्री थापाले समसामयिक राजनीतिक प्रस्ताव शीर्षकमा प्रतिवेदन पेस गरे । 

पेस हुनेबित्तिकै हलले पास गरेको कार्यविधिमा ५ (घ)मा विशेष केन्द्रीय महाधिवेशन २०७८ (मंसिर २४ देखि २८)बाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकोले केन्द्रीय कार्यसमितिको विघटन गर्ने र १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्म 'नयाँ केन्द्रीय समितिको निर्वाचन' भन्ने वाक्यांश परेपछि कांग्रेस फुटको सँघारमा पुग्यो भन्ने चिन्ता र चासो महाधिवेशनस्थलमै देखियो ।

विशेष महाधिवेशनलाई केन्द्रीय समितिले स्वीकार नगरेकाले वैधानिक नभएको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरिसकेकाले यो कार्यविधि संस्थापनले स्विकार्ने अवस्था थिएन ।

संस्थापनले नस्विकारेको महाधिवेशनबाट नयाँ नेतृत्वसहितको कार्यसमिति चयन हुने अवस्था देखिएपछि पार्टी फुट्ने भन्दै बन्दसत्रमा सहभागी भएका केही जिल्ला सभापतिसहितका नेताहरू एउटा प्रस्ताव लिएर नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा पुगे । डा. कोइराला पनि विशेष महाधिवेशनको विपक्षमा देखिएका छन् तर पार्टीलाई एकढिक्का राख्न विष पिउन परे पनि तयार रहेको बताइरहेका छन् ।

उनको सम्पर्क कार्यालयमा एउटा समूहमात्रै होइन, तीन ओटा समूह सहमतिका छुट्टाछुट्टै प्रस्ताव लिएर पुगेको कोइरालानिकट स्रोतले जानकारी दियो । 

त्यो स्रोतका अनुसार विशेष महाधिवेशनको अगुवाइ गरेका महामन्त्री थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा जानुपर्ने, उम्मेदवारको टिकट वितरणमा ४० प्रतिशत हिस्सा थापालाई दिइनुपर्ने, टिकट वितरण कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षरमा हुनुपर्ने र पार्टी विधान संशोधन गरेर समयसापेक्ष बनाउनु पर्नेलगायत माग छन्, तर ती माग आधिकारिक हुन् या होइनन् भन्ने निश्चित हुन डा. कोइरालालगायत नेताहरू सकेनन् । 

त्यसपछि यी प्रस्तावबारे डा. कोइरालाले आफ्नो समूहका नेताहरू उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, डा. मीनेन्द्र रिजाल, प्राडा गोविन्द पोखरेलसहित र कानुनविद्हरूसँग छलफल गरे । 

सम्पर्क कार्यालयको छलफलपछि डा. कोइराला सहमहामन्त्रीद्वय पाण्डे र परियार तथा नेता रिजाललाई लिएर सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगे । देउवासँग पार्टी फुटको डिलमा पुगेको भन्दै एकताबद्ध राख्न पहलकदमी लिन आग्रह गरे र पुनः सम्पर्क कार्यालयमा फर्किएर नेताहरूसँग छलफल गरे । 

डा. रिजालले पार्टीलाई एकढिक्का राख्न सहमतिको प्रयास गरिरहेको जानकारी दिए । ‘पार्टीलाई एकढिक्का राख्न विभिन्न विकल्पमा प्रयास गरिरहेका छौँ,’ डा. रिजालले रातोपाटीसँग भने, ‘तर एक रहने नरहने निश्चित छैन ।’  उनले सहमतिका लागि विशेष महाधिवेशन पक्षधरबाट केही प्रस्तावहरू आएका हुन् भन्ने रातोपाटीको प्रश्नमा विभिन्न विकल्पमा सहमतिको प्रयास भइरहेको मात्रै बताए । 

सहमतिका लागि सीमा हुन्छन्, ती सीमाभित्र रहेर सहमति गर्ने प्रयास गरिरहेको उनको भनाइ थियो । 

कार्यविधि नै ल्याएर केन्द्रीय समिति भंग गर्न लागिएपछि सभापति देउवाले पनि आफू निकटका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल गरे । छलफलमा नेताहरूले सभापति देउवालाई पार्टी फुटबाट बचाउने वार्ताको पहल आफै गर्न सुझाए, तर देउवाले उल्टै प्रश्न नेताहरूमाथि तेर्‍याउँदै सोधे, ‘रिसाएका छन्, मैले बोलाउँदा पनि आएनन् भने के गर्ने ?’ 

इतर समूहका नेता डा. कोइराला र आफ्ना निकटका नेताहरूले एउटै स्वरमा सभापतिले बोलाउँदा महामन्त्री नआउने भन्ने नहुने र कुनै पनि हालतमा विशेष महाधिवेशनलाई एकताको बनाउनुपर्ने बताए । त्यसपछि सहमतिका लागि प्रयास गर्न सुझाएपछि देउवा महामन्त्रीद्वय थापा र शर्मासँग वार्ता गर्न तयार भएका पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 

‘भृकुटीमण्डपमा विशेष महाधिवेशनको रूप दिन कोसिस गर्नुभएको छ, त्यो विधानसम्मत भएन । भेला भएका साथीहरूको सम्मानका लागि कसरी शान्तिपूर्ण निष्कर्षमा पुर्‍याउन सकिन्छ भन्ने कुरा भयो,’ संस्थापन पक्षको बैठकपछि बाहिरिएका प्रचार विभाग प्रमुख विश्वकर्माले पत्रकारहरूसँग भने, ‘सहमतिका लागि सभापति र कार्यवाहक सभापतिले विशेष महाधिवेशन पक्षधरहरूसँग वार्ता गर्ने भन्ने भएको छ ।’

विश्वकर्माले दुवै पक्ष पार्टी विभाजनको पक्षमा नरहेको बताउँदै दुवैका तर्फबाट एकता कायम राख्ने भन्ने कुरा भएको उनले बताए । ‘उहाँहरू पनि पार्टी विभाजन गर्ने मनसायमा हुनुहुन्न,’ उनले भने, ‘पार्टीलाई एकता गरेर राख्न भेला बोलाउनुभएको हो । दुवै तर्फबाट एकता कायम राख्ने भन्ने देखिएको छ ।’

पार्टी प्रवक्ता डा. प्रकाशशरण महत पार्टीलाई एकढिक्का राख्न पटक–पटक लचकता देखाएको र सभापति देउवाले महामन्त्रीद्वयसँग कार्यवाहक सभापतिसँग कुरा गरिरहेको जानकारी दिए । 

‘संस्थापन पक्षबाट हामीले अत्यधिक लचकता पटक–पटक लचकता देखाएको अवस्था छ । अहिले पनि कार्यवाहक सभापति मार्फत पटक–पटक उहाँहरूसँग कुरा भएको छ । सभापतिज्यू (शेरबहादुर देउवा)ले पनि केही कुरा छ भने आउन भन्नु भएको छ,’ प्रवक्ता डा. महतले रातोपाटीसँग भने, ‘उहाँहरू आउनुभएन ।’  

प्रवक्ता डा. महतले विशेष महाधिवेशन पक्षधरले बन्दसत्रबाट बनाएको कार्यविधिले विधानलाई बाइपास गरेर जाने लक्षका साथ अगाडि बढेको देखिएको बताए । ‘उहाँहरूले के चाहनुभएको हो भन्ने विशेष महाधिवेशनबाट अघि सार्नुभएको जुन कार्यविधि छ, त्यो कार्यविधिले प्रस्ट पारेको छ कि विधानलाई बाइपास गरेर एउटा लक्ष्यका साथ उहाँहरू अघि बढ्नुभएको छ । त्यसको आशय के हो भन्ने कुराहरू चाहिँ तपाईंहरूले नै उहाँहरूलाई सोध्नुपर्छ,' उनले भने । 

विशेष महाधिवेशनको नेतृत्व गरेका महामन्त्रीद्वय थापा र शर्मा पनि खाना खाएपछि बन्दसत्रमा उपस्थित भएनन् । उनीहरू विभिन्न सूत्रमार्फत सहमतिका लागि आफ्ना कुराहरू सभापति देउवा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. कोइरालासम्म पुर्‍याइरहेका छन् । निकट स्रोतका अनुसार उनीहरू एक होटलमा बसेर मध्यमार्गीहरूमार्फत प्रस्ताव पुर्‍याइरहेका छन् । 

दुई महामन्त्रीले पेस गरेका प्रतिवेदनमाथि सुझाव दिन तथा विधान संशोधन, नीति र नेतृत्व परिवर्तन ९ समूह बनाइएको थियो । ती समूहका नेताले समूहको छलफलको निष्कर्ष पेस गर्ने समय हुँदाहुँदै पनि मङ्गलबार बिहान ९ बजेसम्मलाई स्थगित गरिएको छ । 

अर्कोतर्फ संस्थापन समूहले मङ्गलबार बिहान ११ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । महामन्त्रीद्वयले सूत्रमार्फत पठाएका प्रस्तावबाट  संस्थापन र नेता डा. कोइराला मिलाएर अगाडि बढ्न सहमत हुन्छन् कि हुन्नन् रातभरको प्रयासले देखाउँला । 

सोमबारको बन्दसत्रको काम सकिएपछि विशेष महाधिवेशनको प्रचार प्रसार समितिका संयोजक सुवास पोखरेलले सहमतिका लागि प्रयास र प्रक्रिया सँगसँगै अगाडि बढाइएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप