होटलमा रक्सी खाएपछि प्रहरीको धाक, युवक पक्राउ
सारांश
- सर्लाही प्रहरीले प्रहरी अधिकारीहरूसँग पहुँच भएको भन्दै धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ।
- रौतहटको चन्द्रपुरका रमेश गिरीले सर्लाहीको एक होटलमा विवाद गर्दै हातपातको प्रयास गरेका थिए।
- पक्राउ परेका गिरीलाई अभद्र व्यवहारको कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
सर्लाही । प्रहरीका उच्च अधिकारीहरूसँग आफ्नो पहुँच रहेको भन्दै धाकधम्की दिने एक व्यक्तिलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ बेल्डी टोल बस्ने २९ वर्षीय रमेश गिरी भनिने झन बहादुर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गिरीले सर्लाहीको बागमती नगरपालिका वडा नम्बर १२ कर्मैयास्थित एक होटलमा पुगेर वितण्डा मच्चाएका थिए। पुस २६ गते दिउँसो प्रेम घिसिङले सञ्चालन गरेको न्यु कालिका होटल एण्ड गेस्ट हाउसमा पुगेका गिरीले खाजा नास्ता र मदिरा सेवन गरेपछि विवाद सुरु गरेका थिए।
होटलमा सञ्चालकका भाइ लाल बहादुर घिसिङ रहेको अवस्थामा गिरीले आफू प्रहरीको उच्च ओहोदाका व्यक्तिहरूसँग निकट रहेको भन्दै धाकधम्की दिएका थिए। उनले होटलमा रहेका व्यक्तिहरूलाई डर त्रास देखाउनुका साथै हातपातको प्रयास समेत गरेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको टोलीले उनलाई तत्कालै नियन्त्रणमा लिएको थियो। पक्राउ परेका गिरीविरुद्ध लाल बहादुर घिसिङले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट अभद्र व्यवहार कसूरमा १० दिनको म्याद थप गरिएको छ।
उनीमाथि इलाका प्रहरी कार्यालय हरिवनबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण