मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

देउवा राजनीतिबाट अलग हुने र खड्काले टिकट बाँड्ने विषयमा विवाद

मङ्गलबार, २९ पुस २०८२, २१ : ३१
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसभित्रको विवाद दुई विषयमा अझै मिल्न सकेको छैन, वार्ता जारी छ।
  • आगामी निर्वाचनमा सभापति देउवा अलग हुने र टिकटमा कार्यवाहक सभापतिको हस्ताक्षरको विषयमा सहमति हुन सकेन।
  • संस्थापन र विशेष महाधिवेशन पक्षधरबीचको वार्तामा यी दुई विषयमा सहमति जुट्न बाँकी छ।

काठमाडौँ । नेपाली कांग्रेसभित्रको विवाद दुई विषयमा अझै मिल्न सकेको छैन । बिहानदेखि दुई चरणमा बसेको वार्तामा अहिलेसम्म दुई विषय मिल्न नसकेको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति शेरबहादुर देउवा राजनीतिबाट अलग हुने भन्ने विषय संस्थापनका तर्फबाट वार्तामा बसेकाहरूले मानेका छैनन् । 

प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचन लड्ने उम्मेदवारहरूको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर गर्नुपर्ने विषयमा पनि संस्थापन पक्ष सहमत भएकाे छैन ।

उनीहरुले यो विषय सभापति देउवा र कार्यवाहक सभापति खड्कासँग छलफल गर्नुपर्ने बताएपछि वार्ता समितिको बैठक रोकिएको थियो । 

वार्ता टोलीमा संस्थापन समूहका तर्फबाट नेताहरू बालकृष्ण खाँण, रमेश लेखक, डाक्टर मीनेन्द्र रिजाल र सह महामन्त्री जीवन परियार छन् । 

त्यस्तै विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका तर्फबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल र मधु आचार्य छन् । 

त्यस्तै विशेष महाधिवेशन पक्षधरले नेताहरू गुरु घिमिरे र देवराज चालिसेलाई पनि वार्ता टोलीमा राखेको छ । विशेष महाधिवेशन पक्षधरबाट वार्ता टोलीमा रहेकाहरूले यी दुई माग राखेपछि संस्थापन समूहका वार्ता टोलीका सदस्यद्वय खाँण र लेखक सभापति देउवा र कार्यवाहक सभापति खड्कासँग छलफल गरेर फर्किएपछि वार्ता गर्ने भनिएको छ ।

यी बाहेकका विषय संस्थापन समूह र विशेष महाधिवेशन समूह सहमति नजिक रहेको वार्ता टोलीका एक सदस्यले बताए ।

विशेष महाधिवेशनलाई पार्टीले नै स्वामित्व लिने विषयमा संस्थापन समूह लचक देखिएको एक सदस्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप