सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

‘शान्तिसुरक्षाको प्रत्याभूति गर्नु प्रदेश सरकारको पहिलो प्राथमिकता हो’

बागमती प्रदेश सरकारद्वारा प्रहरीलाई ३० थान मोटरसाइकल हस्तान्तरण
बिहीबार, ०१ माघ २०८२, १५ : ५६
बिहीबार, ०१ माघ २०८२

सारांश

  • मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको पहिलो प्राथमिकता नागरिकलाई शान्तिसुरक्षा रहेको बताए।
  • बागमती प्रदेश सरकारले प्रहरीलाई सुरक्षा व्यवस्था सुदृढ बनाउन मोटरसाइकल हस्तान्तरण गर्‍यो।
  • ९७ लाख २० हजार रुपैयाँ बराबरको ३० वटा मोटरसाइकल खरिद गरी प्रहरीलाई दिइएको हो।

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। प्रदेश सरकारको तर्फबाट बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडालाई आज मोटरसाइकल हस्तान्तरण गर्दै उनले प्रदेशको सुरक्षा व्यवस्था सुदृढ बनाउन र नागरिकलाई भयरहित वातावरण दिन सरकार प्रयत्नशील रहेको उल्लेख गरे। सवारीसाधनको अभावमा प्रहरी सेवा प्रवाह र परिचालनमा देखिएका समस्या समाधान गर्न सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे।

मुख्यमन्त्री बानियाँले बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेललाई ३० थान मोटरसाइकल हस्तान्तरण गरेका हुन्। सुरक्षा व्यवस्थालाई छिटोछरितो र प्रभावकारी बनाउने उद्देश्यले प्रदेश सरकारले ९७ लाख २० हजार रुपैयाँ बराबरको मोटरसाइकल खरिद गरी प्रहरीलाई दिएको हो। राष्ट्रियस्तरको बोलपत्रमार्फत खरिद गरिएका यी मोटरसाइकलहरू १६० सिसी क्षमताका एफआई र एबिएस प्रणालीयुक्त रहेका छन्।

हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव बाबुराम अधिकारी लगायतका सुरक्षा अधिकारीहरूको उपस्थिति थियो। मुख्यमन्त्री बानियाँले यी नयाँ सवारीसाधनको प्रयोगले प्रहरीको कार्यसम्पादनमा थप गतिशीलता आउने विश्वास व्यक्त गरे। प्रदेश सरकारले आगामी दिनमा पनि प्रहरीको भौतिक पूर्वाधार र प्राविधिक क्षमता विकासमा सहयोग जारी राख्ने जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप