मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

मकवानपुरमा निर्वाचन प्रहरीका लागि दुई हजारभन्दा बढीको आवेदन

शुक्रबार, ०२ माघ २०८२, २० : ०७
शुक्रबार, ०२ माघ २०८२

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार क्षेत्र नम्बर १ मा मुख्य निर्वाचन अधिकृत र क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चुनावी प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो।

निर्वाचनका लागि मकवानपुरको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश गीता श्रेष्ठ र क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता देवेन्द्रराज आचार्य नियुक्त भएका छन्। कार्यालय स्थापनासँगै अब जिल्लामा चुनावी गतिविधि, उम्मेदवारी दर्ता र मतदानको तयारीले तीव्रता पाउने प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।

यसैबीच, निर्वाचनको सुरक्षाका लागि भर्ना गर्न लागिएको म्यादी (निर्वाचन) प्रहरीमा युवाहरूको आकर्षण देखिएको छ। मकवानपुरमा आवश्यक संख्याभन्दा बढीले आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार बिहीबारसम्म १ हजार ६०२ पुरुष र ६६४ महिला गरी कुल २ हजार २६६ जनाले आवेदन दिएका छन्।

जिल्लामा १ हजार ९२३ जना निर्वाचन प्रहरी भर्ना गर्ने सरकारको योजना छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप