कांग्रेस–एमालेलाई कमजोर बनाउन प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय शक्तिसँग मिलेमतो छ : महेश बस्नेत
काठमाडौँ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले नेपाली कांग्रेसको विभाजनमा प्रधानमन्त्री सुशीला कार्की आफैँ संलग्न रहेको आरोप लगाएका छन् । शनिबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो आरोप लगाएका हुन् ।
सचिव बस्नेतले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएर कानुन विपरीत काम गरेको जिकिर गर्दै त्यसलाई कांग्रेस र एमाले माथिको प्रहारको रूपमा आफ्नो पार्टीले लिएको जिकिर समेत गरे । उनले प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय शक्तिहरूले कांग्रेसलाई विभाजन गरेर रवि लामिछाने जस्तालाई बलियो बनाउने कुकर्म गरिरहेको समेत बताए ।
उनले भने, ‘जुन ढङ्गले सेटिङको आधारमा एक घण्टाको अन्तरालमा निर्वाचन आयोगले जे निर्णय गर्यो, त्यो बेठिक गर्यो भन्ने शेरबहादुर देउवाजीहरूले भन्नुभएको छ । त्यो कुरामा हाम्रो पनि समर्थन छ । कांग्रेसको विभाजन भनेको लोकतन्त्र माथिको प्रहार हो । कांग्रेस र एमाले जस्तो शक्तिलाई कमजोर बनाउने र रवि लामिछाने जस्ता बलियो बनाउने कुरामा सुशीला कार्की लगायतका अन्तर्राष्ट्रिय शक्तिहरू जुन ढङ्गले लागेका छन् । यो निकै गम्भीर विषय हो भन्ने हाम्रो निष्कर्ष हो । यसलाई हामीले धेरै गम्भीरताका साथ हेरेका छौँ । ’
सचिव बस्नेतले सरकारविरुद्ध पार्टीले आन्दोलन गर्नुपर्ने अवस्था आउने चेतावनी समेत दिए । –न्युज एजेन्सी नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण