बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

२०४३ देखि लमजुङमा एमालेको एउटै उम्मेदवार, नवौँ पटक चुनाव लड्दै पीएस

आइतबार, ०४ माघ २०८२, १२ : ३९
आइतबार, ०४ माघ २०८२

सारांश

  • पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा फेरि उम्मेदवार बन्ने पक्का भएका छन्।
  • उनी २०४३ सालदेखि हालसम्मका सबै संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन्।
  • एमाले उपाध्यक्ष गुरुङलाई लमजुङको टिकट शनिबार राति दिइएको हो।

पोखरा । नेपालको संसदीय राजनीतिमा सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बन्नेहरूमा पृथ्वीसुब्बा गुरुङ एक हुन् । उनी २०४३ सालदेखिका सबै संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन् । २०४३ सालमा लमजुङ क्षेत्र २ बाट जनपक्षीय उम्मेदवार बनेका उनी ०४८ मा मालेका तर्फबाट उम्मेदवार बनेर पराजित भएका थिए । २०५१ र ०५६ सालमा पनि गुरुङ सोही क्षेत्रबाट उम्मेदवार बनेर हारेका हुन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी पहिलो पटक निर्वाचित भए । तर, २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट पराजित भए । त्यसपछि २०७४ को निर्वाचनमा लमजुङ प्रदेशसभा (ख) बाट प्रदेश सांसदमा निर्वाचित भएर उनी गण्डकीको संस्थापक मुख्यमन्त्री बने । मुख्यमन्त्री बनेपछि उनी २०७९ निर्वाचनमा लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

अहिले फेरि प्रतिनिधिसभाकै निर्वाचनमा उनी प्रतिस्पर्धी बन्ने पक्का भएको छ । शनिबार राति एमाले उपाध्यक्ष समेत रहेका गुरुङलाई लमजुङको टिकट थमाएको हो । लमजुङ एमालेले गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको थियो । 

नेताहरू जमिन्द्रमान घले, धनञ्जय दवाडी, कृष्ण अधिकारी, भगवती थापा र लक्ष्मीदेवी अधिकारीको नाम सिफारिस भए पनि पिएसले नै टिकट उछिट्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप