बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इन्डोनेसियामा भेटियो बेपत्ता सर्भिलियन्स विमान

आइतबार, ०४ माघ २०८२, १३ : २५
आइतबार, ०४ माघ २०८२

सारांश

  • इन्डोनेसियाको सुलावेसीमा हराएको मत्स्य निगरानी विमानको भग्नावशेष फेला परेको छ, जसमा सवार ११ जना अझै बेपत्ता छन्।
  • विमान योग्याकार्ताबाट माकास्सार जाँदै थियो र यसमा चालक दलका सदस्य र यात्रुहरू थिए, जो मत्स्य मन्त्रालयका कर्मचारी थिए।
  • उद्धारकर्मीहरूले विमानका टुक्राहरू फेला पारेका छन् र बेपत्ता चालक दल र यात्रुहरूको खोजी जारी छ।

जर्कार्ता । इन्डोनेसियाको दक्षिण सुलावेसी प्रान्तमा हराएको मत्स्य निगरानी विमानको भग्नावशेष फेला परेको छ । तर विमानमा सवार ११ जना अझै बेपत्ता रहेका इन्डोनेसियाली अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

विमान कुहिरोले ढाकिएको पहाडी क्षेत्रमा दुर्घटना भएको आशङ्का गरिएको छ । इन्डोनेसिया एयर ट्रान्सपोर्ट समूहको स्वामित्वमा रहेको एटीआर ४२–५०० टर्बाेप्रोप विमान शनिबार (स्थानीय समय अनुसार दिउँसो करिब १ः३० बजे ) दक्षिण सुलावेसीको मारोस क्षेत्रमा हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्कविहीन भएको थियो ।

विमान योग्याकार्ताबाट उडेर दक्षिण सुलावेसीको राजधानी माकास्सारतर्फ जाँदै थियो । विमानमा आठ जना चालक दलका सदस्य र तीन जना यात्रु सवार थिए । यात्रुहरू इन्डोनेसियाको समुद्री मामिला तथा मत्स्य मन्त्रालयका कर्मचारी हुन् । उक्त विमान मन्त्रालयका लागि मत्स्य क्षेत्रको हवाई निगरानी गर्न चार्टर गरिएको थियो ।

भग्नावशेष फेला परेपछि खोज तथा उद्धार कार्य तीव्र बनाइएको दक्षिण सुलावेसीको उद्धार एजेन्सी प्रमुख मुहम्मद आरिफ अनवरले बताएका छन् । उनका अनुसार करिब १ हजार २०० जना उद्धारकर्मी परिचालन गरी बेपत्ता चालक दल र यात्रुको खोजी गरिनेछ । ‘हाम्रो प्राथमिकता पीडितहरूको खोजी हो, केहीलाई सुरक्षित रूपमा उद्धार गर्न सकिने आशा छ,’ उनले स्थानीय टेलिभिजनलाई बताएका छन् ।

आइतबार बिहान उद्धार टोलीले मारोस क्षेत्रस्थित माउन्ट बुलुसाराउङ क्षेत्रका विभिन्न स्थानमा विमानका टुक्रा फेला पारेको जनाएको छ । उद्धार एजेन्सीका अधिकारी अन्दी सुल्तानका अनुसार बिहान ७ः ४६ बजे हेलिकप्टर टोलीले विमानको झ्यालको टुक्रा देखेको थियो ।

त्यसको केही मिनेटपछि विमानको मुख्य भाग र पुच्छरसमेत पहाडको फेदीमा देखिएको उनले बताए । दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप