शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
विचार

लेनिनको मृत्यु विषबाट भएको थियो– ट्राटस्की

बुधबार, ०७ माघ २०८२, ०८ : २४
बुधबार, ०७ माघ २०८२

सारांश

  • जनवरी २१ मा लेनिनको १०२औँ पुण्यतिथि मनाइयो, जो १९२४ मा मस्को नजिकै निधन भएका थिए।
  • लेनिनको मृत्यु हुँदा ट्राटस्की उपचारका लागि टाढा थिए र स्टालिनले उनलाई अन्तिम संस्कारमा भाग लिन रोके।
  • लेनिनको मृत्युबारे स्टालिनको भूमिका र ट्राटस्कीले विषको शंका गर्दै लेखेका कुराहरू महत्त्वपूर्ण छन्।

आज २१ जनवरी, लेनिनको १०२ औँ पुण्यतिथि । आज भन्दा १०२ वर्षपहिले आजकै दिन ५३ वर्षको उमेरमा अक्टोबर क्रान्तिका नेता लेनिनको निधन सन् १९२४ मा मस्को नजिकैको एउटा गाउँ गोर्कीमा  भएको थियो । उनी तीन वर्षदेखि गम्भीर रूपमा बिमार थिए । दुईपटक उनलाई पक्षाघात भएको थियो ।

लेनिनको मृत्यु हुँदा उनका सहयोद्धा लिओन ट्राटस्की आफ्नो उपचारका लागि मस्कोबाट रेलमा ककेसस क्षेत्रको सुखम भन्ने स्थानका लागि रेलमा यात्रारत थिए । ट्राटस्की लेनिन पछिका वोल्शेभिक पार्टीका दोस्रा वरिष्ठ नेता थिए ।  विश्व कम्युनिस्ट आन्दोलनमा एउटा प्रखर विचारक र वक्ताका रूपमा अत्यन्त लोकप्रिय ट्राटस्की लेनिनको मृत्युको समयमा  रुसी लालसेनाको  कमीसारको पदमा थिए  ।

तर विडम्बना अक्टोबर क्रान्तिका लेनिन पछिका दोस्रा नायक लिओन  ट्राटस्कीले आफ्ना नेता लेनिनको अन्तिम संस्कारमा भाग लिन पाएनन् । उनलाई  पार्टी महासचिव स्टालिनले षड्यन्त्रपूर्वक रोके ।    

 कसरी र किन ट्राटस्कीलाई लेनिनको अन्तिम संस्कारमा सामेल हुनबाट रोकियो भन्नेबारेमा ट्राटस्की विस्तारपूर्वक लेख्छन् :

‘जनवरी १९२४ को मध्यतिर म काकेसस क्षेत्रमा पर्ने सुखुमका लागि प्रस्थान गरेँ । यात्राको उद्देश्य थियो मेरो रहस्यमय सङ्क्रामक बिमारीको उपचार । त्यो  सङ्क्रमण अझै पनि मेरा चिकित्सकहरूका लागि रहस्य नै बनेको छ । बाटोमा मैले लेनिनको मृत्युको सूचना प्राप्त गरेँ । लेनिनको अन्तिम संस्कारमा म अनुपस्थित रहेकाले मैँले आफ्नो सत्ता गुमाउनु पर्‍यो भन्ने विषय व्यापकरुपमा प्रचार भयो ।  यो प्रचारलाई त्यतिविधि गम्भीर रूपमा  लिनु पर्ने थिएन । तर अन्तिम संस्कारमा मेरो अनुपस्थितिले मेरा मित्रहरूमा गम्भीर सन्देह उत्पन्न गर्‍यो । मेरो १८ वर्ष पुग्न लागेको ठुलो छोराले पत्रमा ‘म जसरी पनि अन्तिम संस्कारमा सामेल हुनुपर्दथ्यो’ भनेर लेखेको थियो । मेरो आफ्नो चाहना पनि यही थियो । लेनिनको मृत्युको सूचनाको साङ्केतिक तार म र मेरी पत्नीलाई टिफलिश रेलवे स्टेशनमा प्राप्त भएको थियो । ‘म मस्को आउन जरुरी ठान्दछु । अन्तिम संस्कार कहिले राखिएको छ ?’ भन्ने बेहोराको साङ्केतिक तार तत्काल क्रेमलिन पठाए । एक घन्टापछि मस्कोबाट जवाफ आयो : ‘अन्तिम संस्कार शनिवार हुनेछ । तपाईँ समयमा आइपुग्न सक्नुहुन्न । तपाईँको स्वास्थ्यलाई ध्यानमा राख्दै पोलिटब्युरो के ठान्दछ भने तपाईँ सुखुम प्रस्थान गर्नु अत्यन्त जरुरी छ– स्टालिन ।’ मेरो लागि मात्र अन्तिम संस्कारको मिति सारियोस् भन्ने मलाई लागेन । सुखुम पुगेपछि मात्र अन्तिम संस्कारको मिति शनिवारको सट्टा आइतबार सारिएको जानकारी मैले पाएँ । म त्यसबेलासम्म सजिलै मस्को फर्किन सक्थें ।  लेनिनको अन्तिम संस्कारको मिति पनि मबाट लुकाइयो । यसमा स्टालिनको षड्यन्त्र थियो । लेनिनको पहिलो बिमारीको सूचना पनि मलाई तीन दिन पछि दिइएको थियो ।  स्टालिनले मलाईमात्र होइन शायद आफ्नो तिकडीका (जिनोभियभ र कामेनेभ) सदस्यहरूलाई समेत धोकामा राखेका थिए । स्टालिनलाई शायद यो डर थियो कि मैँले अन्तिम संस्कारमा उपस्थिति जनाएको खण्डमा लेनिनको मृत्युको घटनालाई मैँले गतवर्षको विषको प्रसङ्गसित जोड्नेछु, साथै मैले चिकित्सकहरूलाई विष भएनभएको यकिन गर्न लाशको अटोप्सी गर्न निर्देशन दिनेछु । तसर्थ मलाई टाढा राखेर फटाफट लेनिनको शवलेपन गर्नु र भिसेरा निकालेर अन्तिम संस्कार गर्नु सबै हिसाबले सुरक्षित ठानियो ।’

त्यतिमात्र होइन, यदि ट्राटस्की लेनिनको अन्तिम संस्कारमा उपस्थित भएको अवस्थामा उनी लेनिनकै उत्तराधिकारीको हैसियतमा लाखौँलाख जनताका बीचमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमको नेतृत्व गर्ने थिए । स्टालिनको भूमिका छायाँमा पर्ने थियो । यो सबै हिसाब गरेर नै स्टालिनले योजनाबद्ध रूपमा ट्राटस्कीलाई रोकेको विषयमा कुनै शङ्का छैन । 

स्मरणीय छ कि पार्टीका महासचिव स्टालिन भए पनि वैचारिक र राजनीतिक हिसाबले लेनिनसरह नै ट्राटस्की वोल्शेभिक पार्टी र दोस्रो इन्टरनेशनलका   प्राधिकार थिए । एउटा चरणमा त वोल्शेभिक पार्टीका बैठकहरुसमेत लेनिन र ट्राटस्कीको संयुक्त अध्यक्षतामा हुने गरेका थिए ।  

अब आउनुस् विषको प्रसंगको चर्चा गरौं । ट्राटस्की विषको प्रसंगलाई सविस्तार उल्लेख गर्दै आफ्नो आत्मकथामा   लेख्छन् :

‘फेब्रुअरी १९२३ को अन्ततिर लेनिनले विषको माग गरेका थिए । मार्चको आरम्भमा उनलाई फेरी पक्षाघात भयो । चिकित्सकहरू धेरै आसावान् थिएनन् । स्टालिनका गतिविधिहरू यस्ता थिए कि मानौँ लेनिनको मृत्यु भैसकेको छ । पार्टीका महत्वपूर्ण निर्णयहरुको जानकारी लेनिनबाट स्टालिनले लुकाउने गरेका थिए । स्टालिन झनै  विश्वस्त देखिन्थे । तर दिनहरु बित्दै जाँदा ‘बिरामीले स्टालिनलाई मूर्ख बनाउन पुग्यो ।’  लेनिनको शक्तिशाली जीव र मनोबलले गर्दा  जाडोयामतिर उनको शरीर फेरी बिस्तारै तङ्ग्रिन थालेको थियो । उनी हिड्डुल गर्न, लेखपढ गर्न र बोल्न समेत थालेका थिए  । चिकित्सकहरूका रिपोर्टहरु पनि अत्यन्त उत्साहप्रद थिए । यो स्टालिनको चाहना विपरीत थियो ।  १९२६ मा लेनिनकी पत्नी क्रुप्सकायाले भनेकी थिइन : यदि लेनिन आजसम्म पनि बाँचेको भए जेलमा हुने थिए ।’ 

ट्राटस्कीको विचारमा स्टालिनको लागि घटनाक्रमको यसरी  विकास हुनु अर्थात लेनिन तंग्रिदै जानु अप्रत्याशित थियो ।  यो उनको भाग्य र भविष्यसित जोडिएको अहम मुद्दा थियो । ‘या त उनी एकै दिनमा राजनैतिक संयत्र, पार्टी र देशका समेत प्रमुख बन्ने थिए या बाँकी जीवन गुमनाम भूमिकामा हुने थिए । स्टालिन शक्तिका पुजारी थिए । जसरी भएपनि उनी सम्पूर्ण सत्ता चाहन्थे । सत्तामा उनको पकड छँदै थियो । उनी आफ्नो लक्ष्यका नजिकै पुगेका थिए तर लेनिनबाट हुने खतरा पनि झनै नजीक थियो । (अर्थात् लेनिन स्वास्थ्य भएर पुरानो अवस्थामा फर्किएमा स्टालिन आफ्ना सत्ताबाट बर्खास्त हुने पक्का थियो ) स्टालिनले त्यसै समय अठोट गरेको हुनुपर्छ कि न रहेगा बाँस, नबजेगी बाँसुरी ।

उनका सहयोगीहरूको जालो चारैतिर थियो । फार्मासिस्ट यगोडा स्टालिनको आफ्नो मानिस थियो । लेनिनलाई स्टालिनले चिकित्सकहरूका हातबाट विष पठाएका थिए वा सीधै विष दिने काम भएको थियो, यसबारेमा म यकिन भन्न सक्दिन । तर आफ्नो जीवनको अत्यन्तै संकटको  घडीमा स्टालिन मुकदर्शन भएर पक्कै पनि बसेका थिएनन् । मैँले लेनिनको मृत्युको कारणबारे चिकित्सकहरूलाई सोधेको थिएँ, तर उनीहरू त्यसको कुनै पनि कारण बताउन असमर्थ थिए ।’

माथि ट्राटस्कीले सङ्केत गरेको सङ्कटपूर्ण घडीको आशय थियो : लेनिनले आफ्नो वसीयतनामामा स्टालिनलाई हटाउन माग गरेका थिए । ट्राटस्कीलाई योग्य ठहर गरेका थिए ।  यता लेनिनकी पत्नीलाई बिरामी लेनिनसित भेट्ने अनुमति स्टालिनले दिएका थिएनन् । पोलिट व्युरोले स्टालिनसित सम्पर्कको जिम्मा स्टालिनलाईमात्र दिएको थियो । लेनिनकी पत्नी पनि स्टालिनको अनुमतिबिना लेनिनसित भेट्न पाउन्नथिन् ।  भेट्न खोज्दा क्रुप्सकायालाई उल्टै स्टालिनको अपशब्द सहनु परेको थियो । अर्कोतिर जर्जियालाई लेनिनको निर्देश विपरीत बलप्रयोग गरेर स्टालिनले रुसमा गाभेका थिए । लेनिनलाई जानकारी नगराइकन पार्टी र राज्यका विभिन्न महत्त्वपूर्ण ओहोदामा आफ्ना मानिसहरू फिट गरेका थिए । 

पुनः लेनिनले माग गरेको भनिएको विषको प्रसङ्गमा फर्कौँ । ट्राटस्की लेख्छन् : ‘फेब्रुअरी १९२३ मा दोस्रो पटक बिरामी हुँदा एउटा पोलिटव्युरो बैठकमा  जिनोभिएभ, कामेनेभ स्टालिन र म थियौं । लेनिनका निजीसचिव हिडीसकेपछि स्टालिनले हामीलाई सुनाए कि लेनिनले अचानक स्टालिनलाई बोलाएर विष दिन माग गरेका थिए । लेनिनको बोली पुनः बन्द भएको थियो । उनको अवस्था नाजुक थियो । फेरि पक्षाघातको सम्भावना थियो । उनलाई आफ्ना चिकित्सकहरुमाथि भरोसा थिएन । उनको दिमाग भने पूर्णतः स्वास्थ्य थियो । उनलाई असहनीय पीडा थियो । अर्को पक्षाघात हुने सम्भावना थियो ।  स्टालिनले यो खबर मलाई सुनाईरहँदा उनको अनुहार असाधारण र रहस्यमय देखिन्थ्यो । अनुहारमा अमिलो मुस्कान थियो । जिनोभिएभ र कामेनेभको अनुहार मलिन थियो । के स्टालिनले आफ्ना तिकडीमा सामेल ती दुबैलाई मभन्दा पहिले यो खबर दिएका थिए ?’

ट्राटस्कीको यो पनि तर्क रहेको छ कि कहीँ स्टालिनले लेनिनले विषको माग गरेको भनेर हामीसित झुटा कुरा पो गरेका थिए कि । ताकि भविष्यमा उनीमाथि लेनिनलाई विष दिएर मारेको आरोप नलागोस् ।

ट्राटस्की अगाडि लेख्छन् :  ‘स्टालिनसित विष माग गरेको खबरबाट हामी सबै स्तब्ध भयौँ ।  लेनिनले यसो किन गरे होलान् ? के साच्चिकै लेनिनले स्टालिनसित विष मागेका थिए वा स्टालिनको मन चोर्नका लागि यो भनेका थिए । लेनिनसित सोधेर यसको पुष्टि गर्न असम्भव थियो ।  यो कुरा पक्का नै हो कि लेनिनलाई बिमारीले असह्य पीडा र छटपटी दिएको थियो । तर लेनिन जस्तो हिम्मतिलो र जीवट व्यक्तिले त्यस्तो कायर कुरा गरे होलान् भन्ने लाग्दैन । अनि, विषको माग उनले स्टालिनसित किन गरे जबकि लेनिनले आफ्नो वसीयतमा स्टालिनको निन्दा गरेका थिए, उनलाई पदबाट हटाउनका लागि पार्टीलाई सल्लाह दिएका थिए, स्टालिन भन्दा ट्राटस्की पार्टी नेतृत्वका लागि योग्य छन् भनेर पनि  उनले वसीयतनामामा उल्लेख गरेका थिए । वसीयतनामा दुई भागमा रहेको छ : पहिलो डिसेम्बर २३–२६, १९२२ का बिच लेखिएको र दोस्रो  ४ जनवरी १९२३ मा लेखिएको थियो जसमा स्टालिनलाई महासचिवको पदबाट हटाउन सुझाव दिइएको थियो । 

ट्राटस्कीको यो पनि तर्क रहेको छ कि कहीँ स्टालिनले लेनिनले विषको माग गरेको भनेर हामीसित झुटा कुरा पो गरेका थिए कि । ताकि भविष्यमा उनीमाथि लेनिनलाई विष दिएर मारेको आरोप नलागोस् । मेक्सिकोमा निर्वासनमा छँदा आफू सोभियत गुप्तचर एजेन्ट रेमन मेर्कादेरबाट २१ अगस्ट १९४० मा  मारिनुभन्दा केही दिन पहिले ट्राटस्की स्टालिनको जीवनी लेख्न व्यस्त  थिए । ट्राटस्कीले लेखेका छन् कि  ‘मलाई विश्वास छ कि लेनिनको हत्या स्टालिनको विषबाट भएको थियो ।’

लेनिन संसारबाट विदा भएको वर्ष अर्थात्  सन् १९२४ पछि म पाठकहरूलाई सीधै सन् २०१२ मा ल्याउन चाहन्छु । एउटा सनसनीखेज नयाँ खुलासाले सङ्केत गरेको छ कि लेनिनको मृत्यु विषबाट, मानसिक तनावबाट वा वंशानुगत रोगका कारणबाट भएको थियो । नयाँ अध्ययनको यो पनि  निष्कर्ष छ कि आम धारणा विपरीत लेनिनको मृत्यु ‘सिफलिस’ बाट भएको थिएन ।  रसियन इतिहासविद् लेव लुरी भन्छन् कि अनेकौँ स्ट्रोकपछि लेनिनको शारीरिक अवस्था अत्यन्त नाजुक थियो । एकापसमा तीखो झगडा भएपछि स्टालिनले लेनिनलाई मारेको हुनुपर्दछ ।  लुरी अगाडि भन्छन् : यसै पनि पछिल्लो समयमा आफ्ना शत्रुहरूलाई विष दिएर मार्नुमा स्टालिनको प्राथमिक रुचि थियो । अमेरिकाको युनिभर्सिटि अफ मेरिल्यान्ड, स्कुल अफ मेडिसिन्सले आयोजित गरेको एउटा सम्मेलनमा  प्रसिद्ध व्यक्तिहरूको मृत्युका दस्तावेजहरुको समीक्षा गर्ने क्रममा लेनिनका स्वास्थ्य अभिलेखको  न्युरोलजिष्ट डा. ह्यारी भिन्टर्स र रसियन इतिहासविद् लेव लुरीले समीक्षा प्रस्तुत गरेका थिए । भिन्टर्सले लेनिनको मृत शरीरको अटोप्सी र टक्सिकोलोजी टेष्ट नगरिएकोतर्फ पनि औँल्याएका थिए जसबाट विषको जाँच हुन सक्थ्यो । त्यस बखतको उपलब्ध रिपोर्टबाट थाहा हुन्छ कि आफ्नो मृत्यु भन्दा ठिक पहिले लेनिन सक्रिय रहेको र कुराकानी गरिरहेको अवस्थामा थिए । डा. भिक्टर्सको निष्कर्ष छ – ‘अनि अचानक उनलाई  गम्भीर ऐठनहरु भए । स्ट्रोक भएको बिरामीलाई यस्तो हुनु असामान्य हो ।’ 

नेतृत्व हत्याउने षड्यन्त्रको सिकार नभएर लेनिन र ट्राटस्की लामो आयु बाँचिरहेको भए शायद विश्व कम्युनिस्ट आन्दोलनको दुखद पतन हुने थिएन । माथि उल्लेखित घटनाक्रमहरूलाई सविस्तार बुझ्नका लागि   सबै कम्युनिस्टहरूले एकपटक लिओन ट्राटस्कीलिखित दुई पुस्तकहरु पढ्नै पर्दछ । पहिलो – ‘लिओन ट्राटस्की : माई लाइफ एन् अटेम्ट् एट् एन् अटोबायोग्राफी’ र दोस्रो : ‘स्टालिन : एन् अप्रेजल् अफ् द म्यान् एन्ड हिज् इन्फ्लुयन्स्’ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लक्ष्मण पन्त
लक्ष्मण पन्त
लेखकबाट थप