‘हुनेवाला प्रधानमन्त्री’ भन्दै लमजुङमा पृथ्वीसुब्बाको प्रचार
सारांश
- लमजुङमा एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङलाई आगामी निर्वाचनपछि प्रधानमन्त्रीका रूपमा प्रचार थालिएको छ।
- उनले पुराना अधुरा योजना पूरा गर्न र घलेगाउँलाई विश्व मानचित्रमा चिनाउन आफूले सक्दो प्रयास गर्ने बताए।
- गुरुङले आफ्नो कार्यकालमा सुरु भएका योजनाहरूको सुस्त गतिप्रति चिन्ता व्यक्त गर्दै अधुरा कामलाई प्राथमिकता दिने बताए।
पोखरा । आगामी निर्वाचनपछि प्रधानमन्त्रीका रूपमा सिंहदरबार छिराउने भन्दै लमजुङमा एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङको प्रचार थालिएको छ ।
मंगलबार मनोनयनपछि बुधबारबाट उनी मतदाता भेटघाटका क्रममा छन् । बुधबार बिहान घलेगाउँमा भएको एक कार्यक्रममा उनलाई भावी प्रधानमन्त्रीका रूपमा नेता कार्यकर्ताहरुले मतदातासामु चिनाएका छन् ।
एमालेबाट समानुपातिक सूचीमा रहेका प्रेम घलेले गुरुङलाई 'भावी प्रधानमन्त्री' भन्दै आगामी निर्वाचनबाट विजयी गराउनुपर्ने बताए । ‘फागुन २१ गतेको चुनावमा पृथ्वी सुब्बा गुरुङलाई जिताएर यसपालि सिंहदरबारको प्रधानमन्त्री बनाउने हो,’ उनले भने, ‘यसपालि क्व्होलासोथारको प्रधानमन्त्री बनाउने भनेर सबैजना एकदम उत्साहका साथ आ–आफ्नो वडा र घर–घरमा लाग्न म अनुरोध गर्दछु ।’
उनले घलेगाउँमै पञ्चकन्यालाई टीका लगाइदिएर चुनावी प्रचार थालेका हुन् ।
गुरुङले पूराना अधुरा योजनालाई पूरा गर्न मैदानमा आएको बताए । आफूले सुरु गरेका विकासका बहुआयामिक योजनाहरू अलपत्र रहेको भन्दै उनले त्यसलाई आगामी कार्यकालमा पूर्णता दिने प्रतिबद्धता जनाए । ‘मैले जन्माएका बच्चाहरू (योजनाहरू) धेरै टुहुरा भए, धेरैलाई सुकेनास लाग्यो,’ उनले भने, ‘कति त गर्भमै रहे, जन्मिनै पाएनन् । ती अधुरा सपना पूरा गर्न म फेरि तपाईंहरूको माझमा आएको छु ।’
आफ्नो कार्यकालमा सुरु गरिएका बेँसीसहर–मनाङ सडक, मध्यपहाडी लोकमार्गका विभिन्न खण्ड र ग्रामीण सडकहरूको सुस्त गतिप्रति उनले चिन्ता व्यक्त गरेका छन् । विशेषगरी ठेकेदारहरूको ढिलासुस्ती र कोभिड–१९ का कारण कतिपय गौरवका आयोजनाहरू समयमै सम्पन्न हुन नसकेको उनको भनाइ छ ।
स्थानीयलाई गरेको सम्बोधनका क्रममा गुरुङले घलेगाउँलाई विश्व मानचित्रमा चिनाउन आफूले सक्दो पैरवी गरेको बताए । देशको वर्तमान आर्थिक अवस्थाका कारण नयाँ योजनाहरू थप्नुभन्दा पुराना र ३० प्रतिशतभन्दा बढी लगानी भइसकेका योजनाहरूलाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्ने उनले बताए ।
‘नयाँ योजना हालेर अलपत्र पार्नुभन्दा पुराना र अधुरा कामलाई एक–दुई वर्षभित्र सक्ने गरी हामीले योजना बनाएका छौँ,’ गुरुङले भने ।
उनी २०७४ सालमा प्रदेशको मुख्यमन्त्री बने भने २०७९ को निर्वाचनपछि सञ्चारमन्त्री बनेर काम गरेका छन् । नेकपा एमालेको भर्खरै सम्पन्न महाधिवेशनबाट उनी उपाध्यक्षमा सर्वाधिक मत ल्याएर विजयी भएका हुन् । गुरुङ गण्डकी प्रदेशमै सबैभन्दा धेरै संसदीय निर्वाचन लड्ने नेता हुन् ।
२०४३ सालदेखि अनवरत रूपमा हरेक चुनावमा उनले उम्मेदवारी दिएर चुनाव लडेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण