२० वर्षसम्म एउटै थर्मस प्रयोग गर्दा ज्यान गयो
सारांश
- ताइवानमा २० वर्ष पुरानो थर्मस प्रयोग गर्दा ५० वर्षीय पुरुषको 'लेड पोइजनिङ' (सिसाको विषाक्तता) बाट मृत्यु भयो।
- उक्त व्यक्तिले दैनिक कफी पिउने थर्मसको भित्री भागमा खिया लागेको र अम्लीय कफीले सिसा पगालेर शरीरमा प्रवेश गरेको थियो।
- डाक्टरका अनुसार, अम्लीय पेय पदार्थ पुरानो थर्मसमा राख्दा सिसा चुहिने जोखिम हुन्छ, त्यसैले थर्मस नियमित बदल्न सुझाव छ।
ताइपेई । साधारण देखिने एउटा सानो गल्तीले मानिसको ज्यान कसरी लिन सक्छ भन्ने एउटा भयावह घटना ताइवानमा सार्वजनिक भएको छ। झण्डै दुई दशकदेखि एउटै स्टिलको थर्मस प्रयोग गर्दा शरीरमा ‘लेड पोइजनिङ’ (सिसाको विषाक्तता) भई एक ५० वर्षीय पुरुषको मृत्यु भएको छ।
ती व्यक्ति ३० वर्षदेखि सुरक्षित रूपमा गाडी चलाउँदै आएका अनुभवी चालक थिए। तर, एकदिन काममा जाने क्रममा उनले अचानक आफ्नो कार पसलमा लगेर ठोक्काए।
दुर्घटनाको समयमा उनले ब्रेकसमेत थिचेका थिएनन्। उद्धारकर्ताहरूले उनलाई निकै अन्योलपूर्ण अवस्थामा फेला पारेका थिए। अस्पतालमा गरिएको परीक्षणमा उनमा रक्तअल्पता (एनेमिया), मस्तिष्कको नसा सुक्ने समस्या र मिर्गौलामा खराबी देखिएको थियो।
उपचारमा संलग्न नेफ्रोलोजिस्ट हङ युङ–सिएङका अनुसार ती व्यक्तिको रगत परीक्षण गर्दा शरीरमा घातक स्तरको सिसा भेटिएको थियो। बिरामीको जीवनशैलीबारे सोधखोज गर्दा उनले विगत २० वर्षदेखि हरेक दिन एउटै थर्मस प्रयोग गर्ने गरेको खुल्यो।
लामो समयसम्म प्रयोग गर्दा थर्मसको भित्री तहमा खिया लागेको थियो। उनले दिनहुँ पिउने कफी अम्लीय हुने भएकाले त्यसले खिया लागेको स्टिलबाट सिसा पगालेर कफीसँगै शरीरभित्र पुर्याउने गरेको थियो।
सिसाको विषाक्तताका कारण ती व्यक्तिमा बिर्सने रोग (डिमेन्सिया) जस्ता लक्षणहरू देखिएका थिए र उनको स्वास्थ्य निरन्तर बिग्रँदै गयो। दुर्घटना भएको करिब एक वर्षपछि निमोनियाका कारण उनको मृत्यु भयो।
डाक्टर हङका अनुसार फलफूलको रस, कफी, चिया वा आयुर्वेदिक औषधि जस्ता अम्लीय वा क्षारीय पेय पदार्थ पुराना वा भित्र कोतरिएका थर्मसमा राख्दा भारी धातुहरू चुहिएर पेय पदार्थमा मिसिने जोखिम रहन्छ।
उनले यस्ता घातक स्वास्थ्य समस्याबाट बच्नका लागि आफ्नो पानीको बोतल वा थर्मस बेलाबेला परिवर्तन गर्न र भित्री तहमा खिया लागेको वा कोतरिएको छ कि छैन भनेर नियमित जाँच गर्न सुझाव दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण