बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अतीतबाट साभार

बालुवाको रङ्गीन महल-५

शनिबार, १० माघ २०८२, १३ : ००
शनिबार, १० माघ २०८२

सारांश

  • ठेकेदारले ज्याला बाँड्दा पुरानो हिसाबको कुरा उठेपछि विवाद सुरु भयो।
  • कामदार र ठेकेदारबीचको विवाद बढ्दै जाँदा भीष्मराजले ठेकेदारलाई कुटे।
  • अन्ततः प्रहरीले भीष्मराज र कपिललाई पक्राउ गर्यो, राममायाको चीत्कार सुनियो।

ठेकेदार टाउका गन्ती ज्याला बाँड्दै थियो, पुरानो रहलपहलको कुरो उठिहाल्यो । ठेकेदारले यो खल्ती र ऊ खल्तीबाट कागतका गुजुमुज्ज परेका टुक्रा झिकेर हेर्दै हिसाब हेरेको नाटक गर्‍यो । अनि भन्यो, “हिसाब सफा छ । कसैको एक पैसो बाँकी छैन, छ त कपिल ?”

भान्जातिर हेर्दै मामा वाल्ल पर्‍यो ।

भीष्मराज अघि सर्‍यो । उसका पाइलासँगै असन्तुष्ट स्वरहरूको लहर उठ्यो— 

“ठेक्दार साप, मेरो ५० रुपियाँ बाँकी छ ।”

“मेरो ४० रुपियाँ ।”

“मेरो ३० ।”

“अनि मेरो पनि ।”

ठेकेदार झस्कियो । अहो ! उसको वरिपरि त बिच्केको अरिङ्गालको गोलो पो भुनभुनाइरहेछ । त्यसले उसलाई चिलूँ कि चिलूँ कि गर्दै लखेटिरहेछ । अरे, अरिङ्गालको गोलोमा कसले ढुङ्गो हान्यो ? ठेकेदारले हान्ने आँखाले कपिललाई डस्यो ।

“सब् पछि हट, साला हो !” जङ्गे शैलीमा ठेकेदार गर्जियो, “मसँग कसैको एक पाई बाँकी छैन ।”

“हाम्रा पसिनाको कमाइ झ्वाम्म पार्ने अनि उल्टै हाम्लाई थर्काउने ?” लिखे नाउँको तन्नेरी कुल्ली कुर्लियो । ऊ तातिँदै ठेकेदारनेर पुग्यो । 

ठेकेदारको घुस्सा लिखेका छातीमा बज्रियो । लिखे बगरमा ढल्यो ।

“रिसमा ! पाकेको हिसाप माग्दा हातै छाड्ने ?” धैर्यको आली भत्केको भीष्मराजको बक फुट्यो । मार्तोल बत्ताएर ढुङ्गामाथि बजारे जस्तै ठोस थियो उसको स्वर । 

ठेकेदारले भीष्मराजलाई सर्लक्क हेर्‍यो । मान्छे जङ्गी छ । खलक्कै निलुँला जस्ता आँखा छन् । 

“को हो यो गुन्डो ?” ठेकेदार कपिलतिर फर्कियो ।

“मेरा भान्जा ।”

“हुँ,” ठेकेदारले हुङ्कार गर्‍यो, “मान्छे निकै चढ्या जस्तो छ नि, साला !”

“हकका कुरा गर्न चढ्या हुनुपर्छ ?” हुङ्कारको जवाफमा भीष्मराजले फुङ्कार गर्‍यो ।

“हुँ,” चोसो पसार्दै ठेकेदार कुर्लियो, “आजै मसँग जोरी खोज्छ भतुवा !”

“के भनिस् रे डाका ?”

“तँ भतुवाले जे सुनिस् हो त्यै भनें ।”

“भतुवा रे ?” भीष्मराजभित्र रिसको आगो हुरहुरी बल्न थाल्यो— कामदारको पसिना तँ पच पार्ने अनि निमेक माग्दा तँ हाम्लाई भतुवा भन्ने ? क्रोधको आवेगले भीष्मराज अन्धो भयो । उसको वज्रमुड्की बिजुली बेगमा ठेकेदारका कुममा बज्रिन पुग्यो ।

“साला, बातको बदला बात, घुस्साको बदला घुस्सा !”

ठेकेदारले चित खायो । पछारिँदै ऊ यसरी गर्जियो मानौं, वारिपारिका ढिस्का र बोट–बिरुवाधरी थरथरी कामे । भान्जाको करामत देखेर मामाको माउ सातो गयो । लौ, भान्जाले त बिताउने भो ! अब, अब, अब... ।

ट्रक ड्राइभर र खलासीले उसलाई उठाए । उसको काटिएको ओठमा रगत रसायो । घाइते सिंहिनी झैँ ऊ गर्जियो, “भाते कपिल ! यो हुल्याहा को ल्याइस् यहाँ तेरो बाजे ?”

“यो तेरो काल हो !” भीष्मराजले जवाफ दियो । 

“साला, हुल्याहा,” ठेकेदारले दाह्रा किट्दै भन्यो, “तँ खुनी ! तेरो छाला काड्न नसके बुझिस्, मलाई जिम्दार कृष्णप्रसादको छोरो बद्रीनारायण नभन्नू ।”

“बड्ता नबोल् । नत्र तँ मेरा हातबाट काटिन्छस् ।”

“यो उग्रवादी हो,” ठेकेदार करायो, “यो राजा व्यवस्थाविरोधी कुतत्व हो । हुँ, अराष्ट्रिय तत्व हो यो !”

“ठीक भनिस् । तँ जस्ता एक–दुई जनालाई मैले ठुन्क्याइसक्या छु । अब तेरो पालो !” 

“भान्जा,” मामाले साउती गर्‍यो, “कार्बाई गलत भो । भन्नोस्त, अब नतिजा के होला ?”

भीष्मराज उत्तेजनाको आकाशबाट वास्तविकताको धरातलमा पछारियो । उसका अगाडि ठेकेदार छ, उसका ओठबाट रगत रसाइरहेछ । हँ, कारबाही पार्टी लाइनको उल्टो भो त ? के मुक्का बेठीक ठाउँमा पर्‍यो ?

मामा–भानिज सेल्टरतिर फर्किंदै छन् । साँझ पर्न लागेको छ । 

“कार्बाई गलत भो, कामरेड !” कपिलले किञ्चित् रुष्ट स्वरमा भन्यो ।

“भ’को छैन,” भीष्मराजले गिद्दी गर्‍यो । “कार्बाई ठीक ठाउँमा पर्‍या छ । कुरा के मात्र हो भने, शैली अलि मिलेन ।”

दुई भाइ मुख बाँधेर लुरुलुरु हिँडिरहेछन् । एउटाको राय अर्कोलाई चित्त बुझेको छैन । कपिल दिक्क छ । आफैंंले तोकेको नियमको अदबमा नबस्ने नेतालाई उसले सेल्टरमा कसरी थाम्ने ? कमान्डरको ज्यान भनेको त अनमोलको कुरा पो हो । अब उसको सुरक्षाको जिम्मा कसरी लिने ? घर पुग्दा–नपुग्दै सके काँध–काँधमा बन्दुक बोकेका पुलिसको बगाल आइलाग्ला । ठेकेदार बद्रीनारायण लर्तरो फटाहा होइन । सिडिओको अड्डामा पस्न उसले कसैलाई सोध्नुपर्दैन । क्या झ्याउलो आइलाग्या हो यो ?

“कार्बाई गलत भो कामरेड !”

“कार्बाई ठीक भो । शैलीको कुरो क्यै होइन । भन्नोस्त, आँखैअगाडि ब्वाँसो बाख्राको पाठोमाथि झम्टा मार्दै छ । यस्तोमा जनयोद्धाले टुलुटुलु हेरी बस्न सुहाउँछ ?”

“अनि कार्बाईको फल ?”

“फल राम्रो हुन्छ ।”

“के राम्रो हुन्छ ?”

“के राम्रो हुन्छ भने मामा, अब छिटै मेरा हातबाट त्यो ठग ठेकेदार काटिन्छ । कामरेड, अब यहाँ अर्को झापा सङ्ग्राम उठ्छ ।”

“एक्लाएक्लै मच्चिएर सङ्ग्राम उठ्छ ?”

“एक्लै किन ? ठगिएका, लुटिएका, हेपिएका र दबाइएका जति साराले हाम्रा पाइला पछ्याउनेछन् ।”

मामा कपिललाई यकिन भयो— भान्जालाई अब कुनै जुक्तिले थाम्न सकिँदैन । उसले ठहर गर्‍यो, अब यो सेल्टरको आयु सकियो । कमान्डरको जोसमा होस छैन । सके अब पुलिसको बगाल परेड खेल्दै, गोली दाग्दै, आतङ्क मच्चाउँदै आउला । अनि ?

“कामरेड, ज्यान जोगाउन सिमाना पारितिर लाग्नु पो बुद्धिमानी होला कि ! नत्र... ।”

“म जान्नँ । भीष्मराज धोतीछेरुवा होइन । मोर्चा छाडेर कमान्डर कहिल्यै भाग्दैन, बुझ्नु भो ? भीष्मराज भागेर सीमापारि जाने गद्दार होइन ।”

कपिल हारथाक भयो । 

जन्ड कमान्डर भीष्मराज अघि–अघि छ, सरल सिपाही कपिल पछि–पछि छ । ती सँगै हिँडिरहेछन् । तर तिनका कुरा भेट हुन छाडे । नै सुरमा मस्त छ, कपिल अनिष्टको कल्पना गर्दै छाभीष्मराज आँगाबाट खसिरहेछ । सेल्टरमा पुगेर ती आ–आप्mना धन्दामा लागे । भीष्मराजमा आज विचित्रको उमङ्ग छ मानौं, कुनै अद्भुत शक्ति उसमा सञ्चार भइरहेछ । उसले नुहाइधुवाइ गर्‍यो । अनि बाल्टिनमा पानी ओसारेर माटाका दुइटा गाग्री भर्‍यो । मेरी बास्सै, भान्जा त आज अर्कै भएछन् ! चुलामा भात–तिहुन गर्न लागेकी माइजू फुरुङ्ङ परिन् । 

सुत्नुअघि कपिलले सरकारविरोधी कागजात जति पोको पार्‍यो । रेड बुक, पार्टी सर्कुलर, चारु मजुमदारको लेखमाला, लाल पत्रिका आदि । र, कमान्डर भीष्मराजलाई सोहीपरी गर्न बिन्ती बिसायो ।

“मामालाई सारै डर लाग्यो कि कसो ?”

“डर होइन कामरेड, कुरो सुरक्षाको हो । पार्टी अनुशासनको कुरा हो यो ।”

“आ... डराउनुपर्दैन, क्यै हुँदैन ।”

कपिल सुत्न गयो । उसलाई आप्mनो अगुवा घाँडो जस्तो लाग्यो । घाँडोको साँचो उसका हातमा थिएन । त्यसैले ऊ घाँडो भिरी–भिरी सुत्यो ।

पल्ट्योे कि फुस्स निदाइहाल्ने भीष्मराजलाई आज निद्रा लागेन । उसले ओल्टो फेर्‍योे, कोल्टो फेर्‍योे । उठेर बिँडी सल्कायोे । मनमा उर्लिएका आवेगका छाल उसको वशमा थिएनन् । उसले झोलाबाट खुकुरी झिक्यो र नाङ्गो खुकुरी सिरानीमुनि राखेर ओछ्यानमा जीउ तनक्क तन्कायो । 

उता कपिलको मथिङ्गलमा अर्कै हुन्डरी चलेको छ । अब पुलिसको बगाल आउँछ । हो, त्यो नआई छाड्दैन । कुरा अहिले कि भरेको मात्र हो । भीष्मराज उसको सल्लाह एक कानले सुन्छ, अर्को कानले उडाइदिन्छ । के खालको मान्छे हो यो ? सुझबुझ नभएको भन्ने कि ? मुटु नभएको भन्ने कि ? कपिलले उठेर भाटाको झ्यालबाट बाहिरको घना अन्धकार हेर्दै वातावरणको चाल बुझ्यो । बाहिर चकमन्न छ । त्यो चकमन्नताका पत्रभित्र कतै पर–परबाट कुनै अप्रिय आवाज जस्तो, कुनै ननिको चाल जस्तो केही सुनिएको पो हो कि ? उसको मुटुको चाल बढ्यो ।

“कैलीका बा,” स्वास्नी राममायाले खुलदुली पोखी, “आज हजुरलाई के भएको हो ? घरी उठ्या छ, घरी सुत्या छ । सन्चो पो भएन कि ?”

कपिल सुत्यो । उसको सासको झोक्काले स्वास्नीका बेचैन कानमा स्पर्श गर्‍यो ।

“हैन, हजुलाई के भो भन्या ?” 

“थिति निको छैन, कैलीकी आमा । म पक्राउ परें भने तँ नआत्तिनू । यी दुइटा चिचिला तेरा काखको जिम्मामा छन् ।”

राममाया अताल्लिई । केही भन्न खोजी, उसको गलोबाट स्वर निस्केन । ओठ मात्र उदेकसँग चले । ऊ लोग्नेको छातीमा मुन्टो लुकाएर सुँकसुँकाउन थाली । कपिलले स्वास्नीको निधार मुसार्‍यो, ढाड सुमसुम्यायो र उसको औडाहा मत्थर पार्न खोज्यो । तर स्वास्नी त रुन पो थाली । कपिल उठेर भीष्मराज सुतेको कोठामा गयो । गाजले लालटिन पिलपिल बलिरहेको थियो । भीष्मराज फुसफुस बिँडी तान्दै थियो । मामालाई आँखाको सानले उसले सोध्यो— “यहाँ किन ?”

कपिलले पुनः बिन्ती बिसायो— “सिमानापारितिर लागौं । महान् लेनिनले भनेकै छन्— मौका हेरी एक कदम आगे, दो कदम पिछे ।”

“कामरेड मामाजी ! वनको बाघ आउनु कता हो कता मनको बाघले सातो लिइसक्यो ?”

अधीर भएर कपिल कड्कियो, “कामरेड, यो त होसियारीको कुरा हो ।”

भीष्मराजले खुकुरीको चम्किलो सानमा चोरऔंलो सर्लक्क कुदायो । कसलाई काटूँ, कसलाई काटूँको भावमा हावामा खुकुरी हल्लायो ।

“कामरेड, आइलाग्नेमाथि हामी पनि जाइलाग्ने छौं ।”

“तागत चाहिँदैन र जाइलाग्न ? कुइनाले पहरासँग यस्सै जुध्न सकिन्छ ?”

“हतियार हामी उठाउँछौं, साथ जनताले दिन्छ,” भीष्मराजको भाषणको टेप खुल्यो, “बुझ्नु भो, मामा ? खुनी सामन्तलाई छानी–छानी हामी जाइलाग्छौं । प्रहारको एक–एक चोटसँगै गुरिल्ला युद्धको सङ्गीत घन्किनेछ । त्यो सङ्गीतको गुन्जनले सुतेका जनलाई एक–एक गरी ब्युँझाउने छ ।”

कपिल फन्किँदै बाहिर निस्कियो । राति दुई बजेको हुँदो हो । बाहिर ढोकामा कसैको लात बज्रियो । त्यसपछि ड्याङ्ङ बन्दुक पड्कियो । ढोका फुट्यो र पाँच जना बन्दुके पुलिस टर्च बालेर हुरिँदै माथि उक्लिन थाले । 

“राजद्रोही, भीष्मराज ! ज्यान जोगाउन मन भए हात उठा ।”

भीष्मराज उठेर बस्यो । उसको हात यन्त्रवत् रुपले खुकुरीको बिँड अँठ्याउन पुग्यो ।

“खुकुरी भुईँमा राख् !” पुलिसले ध्वाँस दियो । 

भीष्मराजले देख्यो— लिस्नुबाट दुइटा बन्दुकका नाल आपूmतिर सोझिएका छन् । उसले खुकुरी भुईँमा राख्यो ।

“झापाली आतङ्ककारीको नाइके भीष्मराज तैं होस् ?”

“मै हुँ ।” 

“अब तेरो मर्ने पालो आयो, बुझिस् साले ? खुनको बदला खुन !”

भीष्मराजमाथि भालु झम्टा खनियो । कसैले उसको चिन्डे टाउकोमा घुस्सा बर्सायो, कसैले उसको ढाडमा बुटले कुल्चियो ।

“मलाई नछोओ,” भीष्मराजले बल गरेर उठ्दै भन्यो, “म जनताको आवाज हुँ ।”

“तँ गुन्डाको आवाज होस् ।”

“मुख समालेर बोल् ।”

“साला, अब तँ मरिस् !”

“सुन् साला, यस देशमा सधैं तेरा मालिकको रजाइँ चल्नेछैन । एक दिन तिमेर्को पनि पालो आउनेछ ।”

मामा–भानिज दुवैलाई भकुर्दै बाहिर निकाले । काँपिरहेकी राममाया ढोकामा उभिएकी छे । दुई पाखुरामा दुइटा नानी बोकेकी छे उसले । सानो दूध चुस्नमा मस्त छ । ठूलो आमाको ज्यानमा लिपिक्क टाँसिएर बाबुलाई टुलुटुलु हेरिरहेछ । भीष्मराज र कपिललाई एउटै डोरीले टनटनी बाँधे र तिनका घाँटीमा डोरीका दुई छेउका सुर्काने पारे । राममाया हेरेको हेर्‍यै छे, मामा–भान्जालाई तान्दै, घँचेड्दै, लात्ताले हान्दै, फोहोर गाली गर्दै घिसारे । ऊ ढोकामै थुचुक्क बसी । उसको मुखबाट करmण चीत्कार फुट्यो— “गुहार,  गुहार !”

“हामी इन्साफी योद्धा हौं । हामीलाई नकुट साला हो,” भीष्मराज करायो ।

असह्य पीडाको पोखरीबाट उठेका चीत्कारले वायुमण्डल चिरा पर्‍यो । त्यसमा राममायाको चीत्कार मिसियो । दुवै नानी कहालिँदै रोए । 

“मलाई नछोओ, बिन्ती छ मलाई नछोओ !” राममाया चिच्याई ।

रगतपच्छे भएको कपिलले लख काट्यो, अहो, पशुहरू मेरी स्वास्नीलाई जबरजस्ती करणी गर्न थाले । भीष्मराजका पिठ्युँमा ऊ ओइलाए झैँ लत्रियो । भीष्मराजले उसलाई आड दिन खोज्यो । तर उसका दुवै हात बाँधिएका थिए, आड केले दिने ? आफ्नो गलित सिपाहीलाई निरुपाय कमान्डरले टुलुटुलु हेरिरह्यो ।

बाँकी पछि...  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप