बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
क्यानडाका प्रधानमन्त्रीको मन्तव्य

पुरानो विश्व व्यवस्था भत्किएमा शोक मनाउनु पर्दैन

शनिबार, १० माघ २०८२, १५ : ४५
शनिबार, १० माघ २०८२

सारांश

  • क्यानडाका प्रधानमन्त्रीले विश्व व्यवस्थामा आएको परिवर्तन र मध्यम शक्ति राष्ट्रहरूको भूमिकाबारे धारणा राखे।
  • उनले मानव अधिकार, दिगो विकास र सार्वभौमसत्ता जस्ता मूल्यहरूमा आधारित नयाँ व्यवस्थाको निर्माणमा जोड दिए।
  • क्यानडाले रणनीतिक आत्मनिर्भरता र बहुपक्षीय संस्थाहरूलाई सुदृढ बनाउन पहल गर्ने बताए।

क्यानडा र विश्वका लागि यो एउटा निर्णायक मोडमा तपाईँहरूसँग उभिनु मेरा लागि खुसी र गर्व दुवैको कुरा हो । आज म विश्व व्यवस्थामा आएको दरार, एउटा सुखद कथाको अन्त्य र अर्को त्यस्तो क्रूर यथार्थको सुरुवातका बारेमा आफ्ना कुराहरू राख्नेछु, जहाँ ठुला शक्ति राष्ट्रहरू बिचको भू–राजनीतिमा कुनै बार–बन्देज र सीमा छैन ।

तर, म के पनि भन्न चाहन्छु भने अन्य देशहरू, विशेष गरी क्यानडा जस्ता मध्यम शक्ति भएका राष्ट्रहरू, शक्तिहीन छैनन् । उनीहरूसँग एउटा त्यस्तो नयाँ व्यवस्था निर्माण गर्ने क्षमता छ, जसले हाम्रा मूल्यहरूलाई आत्मसात् गर्छन् । उदाहरणका लागि मानव अधिकारको सम्मान, दिगो विकास, ऐक्यबद्धता, सार्वभौमसत्ता र राज्यहरूको क्षेत्रीय अखण्डता । न्यून र मध्यम शक्तिशाली राष्ट्रहरूको शक्ति इमानदारीबाट सुरु हुन्छ ।

हामीलाई प्रत्येक दिन के कुरा स्मरण गराइराखिएको छ भने हामी ठुला शक्ति राष्ट्रहरूबिचको प्रतिस्पर्धाको युगमा बाँचिरहेका छौँ । नियममा आधारित व्यवस्था फितलो हुँदै गइरहेको छ । शक्ति हुनेले जे मन लाग्छ त्यही गर्दैछन् र कमजोरहरुले जे भोग्नुपर्ने हो त्यो सहन अभिसप्त छन् ।

थुसिडाइड्सको भनाइलाई अपरिहार्य रूपमा प्रस्तुत गरिन्छ, मानौँ यो अन्तर्राष्ट्रिय सम्बन्धको एउटा स्वाभाविक तर्क हो, जसले आफैँलाई पुनः स्थापित गर्दैछ । र, यो तर्कको सामना गर्दै गर्दा, देशहरू मिलेर सँग–सँगै जानका लागि ‘पछि लाग्नु पर्ने’ प्रवृत्ति देखिन्छ । समयको अनुकूल हुने, समस्याबाट बच्ने र नियम मान्दा सुरक्षा पाइन्छ भन्ने आस गर्ने प्रवृत्ति । तर त्यही हुन सकेको छैन ।

त्यसो भए, हाम्रा अघिल्तिर के–के विकल्पहरू छन् त ?

सन् १९७८ मा चेक विद्रोही भात्स्लाभ हाभेलले ‘शक्तिहीनहरूको शक्ति’ नामक निबन्ध लेखेका थिए । त्यसमा उनले सरल प्रश्न सोधेका थिए– कम्युनिस्ट प्रणाली कसरी टिकिरहेको छ ?

त्यसको जवाफ एउटा तरकारी पसलेबाट सुरु हुन्छ । प्रत्येक बिहान पसलेले आफ्नो पसलको झ्यालमा एउटा बोर्ड राख्छ– विश्वका मजदुर एक होऔँ ! उसको विश्वास त्यो नारामा टिकेको छैन । कसैले पनि त्यसमा विश्वास गर्दैनन् । तर पनि उसले आई लाग्ने अपगालबाट जोगिन, आफू आज्ञाकारी भएको देखाउन त्यो बोर्ड प्रत्येक दिन आफ्नो पसलको अघिल्तिर राखिरहेको हुन्छ ।

र, प्रत्येक गल्लीका पसलेहरूले त्यसै गरेको हुनाले, त्यो प्रणाली टिकिरहेको हुन्छ । केवल हिंसाले मात्र होइन, बरु सामान्य मानिसले ती विधिहरूमा गरेको सहभागिताले गर्दा यो व्यवस्था टिकेको हो, जुन उनीहरूलाई व्यक्तिगत रूपमा झूटो लाग्छ । तर, व्यवस्था त टिकिरहेको हुन्छ ।

हाभेलले त्यसलाई ‘झूटमा बाँच्नु’ भनेका छन् । प्रणालीको शक्ति सत्यबाट होइन, बरु यो सत्य हो जस्तै गरी अभिनय गर्ने सबैको इच्छाबाट आउँछ । र, यसको कमजोरी पनि सोही स्रोतबाट आउँछ । जब कुनै एउटा मात्र व्यक्तिले पनि अभिनय गर्न छाड्छ, व्यवस्था हल्लिन थाल्छ । जब तरकारी पसलेले त्यो बोर्ड त्यहाँबाट झिक्छ– सबैको भ्रम टुट्न थाल्छ ।

अब कम्पनी र देशहरूले आफ्ना त्यस्ता बोर्डहरू अथवा भन्नुस् सङ्केतहरू झिक्ने समय आएको छ ।

दशकौँदेखि क्यानडा जस्ता देशहरूले हामीले भन्ने गरेको ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ अन्तर्गत समृद्धि प्राप्त गरे । हामी यसका संस्थाहरूमा सामेल भयौँ, यसका सिद्धान्तहरूको प्रशंसा गर्‍यौँ र यसको पूर्वानुमान गर्न सकिने स्वभावबाट लाभान्वित भयौँ । हामीले यसकै संरक्षणमा मूल्य–मान्यतामा आधारित परराष्ट्र नीतिहरू अगाडि बढाउन सक्यौँ ।

जबकि हामीलाई थाहा थियो, अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थाको कथा आंशिक रूपमा झूटो हो । हामीलाई के पनि अनुभव थियो भने बलियाहरूले आफूलाई अनुकूल हुँदा नियमबाट पन्छिन्थे । व्यापारका नियमहरू असमान रूपमा लागू गरिन्थे । र, अन्तर्राष्ट्रिय कानुन अभियुक्त वा पीडितको पहिचानका आधारमा फरक–फरक कडाइका साथ लागू हुन्थ्यो ।

तर, यो काल्पनिक कथा त्यतिबेला उपयोगी थियो । र, अमेरिकी प्रभुत्वले विशेषतः सार्वजनिक वस्तु र सुविधाहरू, खुला समुद्री मार्ग, एउटा स्थिर वित्तीय प्रणाली, सामूहिक सुरक्षा र विवाद निरूपण गर्न समाधानका रूपरेखाहरू उपलब्ध गरायो । त्यसैले हामीले झ्यालमा पोस्टर राख्यौँ । हामी कर्मकाण्डमा सहभागी भयौँ र हामीले वाणी र यथार्थबिचको अन्तरलाई धेरै हदसम्म औँल्याउन छोड्यौँ ।

तर, अब यो सम्झौताले काम गर्दैन ।

म स्पष्ट शब्दमा भन्छु, हामी अहिले सङ्क्रमणमा होइन, एउटा गहिरो विच्छेदको ठिक बिचमा छौँ ।

पछिल्ला दुई दशकमा वित्त, स्वास्थ्य, ऊर्जा र भू–राजनीतिका शृङ्खलाबद्ध सङ्कटहरूले अत्यधिक विश्वव्यापीकरणका जोखिमहरू उजागर गरे । तर पछिल्ला दिनहरूमा महाशक्तिहरूले आर्थिक समायोजनलाई हतियार, भन्सार शुल्कलाई दबाबको साधन, वित्तीय संरचनालाई बल प्रयोगको माध्यम र आपूर्ति शृङ्खलालाई शोषणयोग्य कमजोरीका रूपमा प्रयोग गर्न थालेका छन् ।

जब विश्व प्रणालीमा समायोजन नै अधीनताको स्रोत बन्छ, तब समायोजनले पारस्परिक लाभ दिन्छ भन्ने झूटमा बाँच्न सकिँदैन ।

मध्यम शक्तिहरू भर पर्ने बहुपक्षीय संस्थाहरू– डब्ल्यूटीओ, संयुक्त राष्ट्रसंघ, कोप लगायतका सामूहिक समस्या समाधानको सम्पूर्ण संरचनाहरु आज गम्भीर खतरामा छन् । यसकारण धेरै देशहरू एउटै निष्कर्षमा पुगेका छन्– ऊर्जा, खाद्य, महत्त्वपूर्ण खनिज, वित्त र आपूर्ति शृङ्खलामा अधिक रणनीतिक आत्मनिर्भरता विकास गर्नुपर्छ । र, यो हतासा स्पष्ट देख्न सकिन्छ ।

जुन देशले आफूलाई खुवाउन, ऊर्जा उपलब्ध गराउन वा रक्षा गर्न सक्दैन, त्यो देशसँग सीमित विकल्पहरू मात्र हुन्छन् । जब नियमले सुरक्षा दिन छोड्छ, तब आफैँले आफैलाई जोगाउनुपर्छ । तर यसले कता लैजान्छ भनेर हामी स्पष्ट हुनुपर्छ । सुरक्षात्मक किल्लाहरूले भरिएको विश्व, गरिब, कमजोर र दीर्घकालीन रूपमा अस्थिर हुन्छ ।

साथै अर्को सत्य के पनि हो भने महाशक्तिहरूले नियम र मूल्यको आवरण पनि त्यागेर निर्बाध रूपमा आफ्नो शक्ति र स्वार्थ पछ्याए भने लेनदेनको सम्बन्धबाट प्राप्त हुने लाभहरू दोहो-याउन झन् कठिन हुनेछ । प्रभुत्वशाली शक्तिहरूले आफ्ना सम्बन्धलाई सधैँ नगदमा रूपान्तरण गर्न सक्दैनन् । सहयोगीहरू अनिश्चितताबाट जोगिन विविधीकरण गर्छन् । तिनीहरूले बिमा रोज्नेछन् र सार्वभौमिकता पुनर्निर्माण गर्न विकल्प खोज्ने छन् । 

त्यसैले सार्वभौमिकता, जुन पहिले नियममा आधारित थियो, त्यो क्रमशः दबाब सहन सक्ने क्षमतामा आधारित हुनेछ ।

यो कक्षमा रहनु हुने सबैलाई थाहा छ– यो परम्परागत जोखिम व्यवस्थापनको विधि हो । जोखिम व्यवस्थापनको लागत हुन्छ । तर रणनीतिक आत्मनिर्भरता र सार्वभौमिकताको त्यो लागत, बाँड्न पनि सकिन्छ । सामूहिक उत्थानशीलतामा गरिएको लगानी, सबैले आ–आफ्नो किल्ला बनाउनु भन्दा सस्तो हुनेछ । साझा मापदण्डहरूले विखण्डन घटाउँछन् । पूरक सम्बन्धले सबैलाई फाइदा पु-याउँछ ।

क्यानडाजस्ता मध्यम शक्तिका लागि प्रश्न यो होइन कि नयाँ यथार्थसँग आफूलाई ढाल्ने कि नढाल्ने– हामी त्यसमा ढल्नैपर्छ । प्रश्न के हो भने हामी केवल अग्ला पर्खालहरू बनाएर अनुकूलन गर्ने कि अझ महत्त्वाकाङ्क्षी बाटो रोज्ने ।

क्यानडा यो चेतावनीको घण्टी प्रारम्भमै सुन्ने मध्येको एक थियो, जसले गर्दा हामीले आफ्नो रणनीतिक धारणा मौलिक रूपमै परिवर्तन ग¥यौँ । क्यानडेलीहरूले बुझिसकेका छन् कि भूगोल र गठबन्धनले स्वतः समृद्धि र सुरक्षा दिन्छ भन्ने पुरानो मान्यता अब मान्य छैन । 

अब हाम्रो नयाँ दृष्टिकोण फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले भनेको ‘मूल्यमा आधारित यथार्थवाद’ मा आधारित छ । अर्थात्, हामी सिद्धान्तनिष्ठ र व्यवहारिक पनि हुन चाहन्छौँ । 

मौलिक मूल्यहरू, सार्वभौमिकता, भू–अखण्डता, संयुक्त राष्ट्रसंघको चार्टर अनुरूप बाहेक बल प्रयोग, निषेध र मानवअधिकारप्रतिको प्रतिबद्धतामा सिद्धान्तनिष्ठ एवं प्रगति क्रमिक हुन्छ भन्ने बुझाइमा, स्वार्थहरू फरक–फरक हुन्छन् भन्ने स्वीकारोक्तिमा तथा सबै साझेदारसँग हाम्रा सबै मूल्य नमिल्न सक्छन् भन्ने यथार्थमा व्यवहारिक ढङ्गले सोचिनु पर्छ ।

त्यसैले हामी खुला आँखाले रणनीतिक रूपमा व्यापक संलग्न भइरहेका छौँ । हामीले चाहेको संसार निर्माण हुन कुरेर नभई बरु संसार जस्तो छ त्यस्तै स्वीकार गरेर काम गरिरहेका छौँ । 

हामी हाम्रा सम्बन्धहरूलाई पुनः सन्तुलित गर्दै छौँ । हाम्रा सम्बन्धको गहिराइले हाम्रो मूल्यलाई प्रतिबिम्बित गर्नेगरी । हालको विश्वको तरल अवस्थिति, यसले ल्याउने जोखिमहरू तथा आगामी चरणमा दाउमा रहेका कुराहरूलाई ध्यानमा राख्दै, हामी आफ्नो प्रभाव बढाउन व्यापक संलग्नतालाई प्राथमिकता दिइरहेका छौँ ।

हामी केवल हाम्रा मूल्यहरूको शक्तिमा होइन, हाम्रो शक्तिको मूल्यमा पनि निर्भर छौँ ।

हामी त्यो शक्ति घरमै निर्माण गरिरहेका छौँ । मेरो सरकारले कार्यभार सम्हालेपछि आम्दानी, पुँजीगत लाभ र व्यावसायिक लगानीमा कर कटौती गरिएको छ । अन्तर–प्रादेशिक व्यापारका सबै सङ्घीय अवरोध हटाइएका छन् । ऊर्जा, एआई, महत्त्वपूर्ण खनिज, नयाँ व्यापार–मार्ग आदिमा एक खर्ब डलर बराबरको लगानी द्रुत गतिमा अघि बढाइएको छ । यस दशकको अन्त्यसम्म रक्षा खर्च दोब्बर पारिँदैछ, त्यो पनि घरेलु उद्योग सुदृढ हुनेगरी ।

हामी विदेशमा पनि तीव्र विविधीकरण गरिरहेका छौँ । हामीले युरोपेली संघसँग सेफ (युरोपेली रक्षा खरिद व्यवस्था) मा सहभागी हुनेगरी एक व्यापक रणनीतिक साझेदारीमा सहमति गरेका छौँ । पछिल्ला ६ महिनामा हामीले चार महादेशमा व्यापार तथा सुरक्षासम्बन्धी १२ वटा अन्य सम्झौतामा पनि हस्ताक्षर गरेका छौँ ।

पछिल्ला केही दिनमा हामीले चीन र कतारसँग नयाँ रणनीतिक साझेदारीहरू टुङ्गाएका छौँ । भारत, आसियान, थाइल्याण्ड, फिलिपिन्स र मर्कोसुरसँग मुक्त व्यापार सम्झौताहरूका लागि वार्ता गरिरहेका छौँ ।

सँग–सँगै हामी अर्को काम पनि गरिरहेका छौँ । विश्वव्यापी समस्याहरू समाधान गर्न सहयोग पु-याउने उद्देश्यले हामी मुद्दामा आधारित लचिलो गठबन्धन संरचना अपनाइरहेका छौँ । अर्थात्, साझा मूल्य र हितका आधारमा फरक–फरक मुद्दाका लागि फरक–फरक गठबन्धन । 

PRIME MINISTER MARK CARNEY 2

त्यसैले युक्रेनका सन्दर्भमा, हामी ‘कोएलिसन अफ द विलिङ’ का केन्द्रीय सदस्य हौँ र यसको रक्षा तथा सुरक्षामा सबैभन्दा ठुला योगदानकर्तामध्ये एक हौँ । आर्कटिक सार्वभौमिकताका विषयमा हामी ग्रिनल्याण्ड र डेनमार्कको दृढ समर्थनमा उभिएका छौँ र ग्रिनल्याण्डको भविष्य निर्धारण गर्ने उनीहरूको विशिष्ट अधिकारलाई पूर्ण रूपमा समर्थन गर्छौँ ।

नेटोको धारा ५ प्रतिको हाम्रो प्रतिबद्धता अटल छ । त्यसैले क्यानडाले गठबन्धनका उत्तरी र पश्चिमी सीमाहरूलाई थप सुरक्षित बनाउन नर्डिक–बाल्टिकसहित आफ्ना नेटो साझेदारहरूसँग सहकार्य गरिरहेको छ । ओभर–द–होराइजन रडार, पनडुब्बी, विमान र जमिनमा बुट अनि ‘हिउँमा बुट’ जस्तामा अभूतपूर्व लगानीमार्फत ।

क्यानडा ग्रिनल्याण्डमाथि लगाइएका करहरूको कडा विरोध गर्छ र आर्कटिकमा सुरक्षा तथा समृद्धिका साझा उद्देश्य हासिल गर्न लक्षित वार्ताको आह्वान गर्छ । सीमित बहुपक्षीय व्यापारका सन्दर्भमा हामी ट्रान्स–प्यासिफिक साझेदारी र युरोपेली संघबीच सेतु निर्माण गर्ने प्रयासको अगुवाइ गरिरहेका छौँ । 

यसले महत्त्वपूर्ण खनिज भएको भूगोलमा १ दशमलव ५ अर्ब जनसङ्ख्या समेट्ने नयाँ व्यापारिक ब्लक सिर्जना गर्नेछ ।

विश्वले केन्द्रित आपूर्तिबाट विविधीकरण गर्न सकोस् भनेर हामी जी–७ मा आधारित खरिदकर्ता समूहहरू गठन गरिरहेका छौँ । एआईको विषयमा, हामीलाई अन्ततः प्रभुत्वशाली शक्तिहरू र विशाल प्रविधि कम्पनीहरूबिच कुनै एक छान्न बाध्य नपरोस् भनेर समान सोच भएका लोकतान्त्रिक देशहरूसँग सहकार्य गरिरहेका छौँ ।

यो न त अबोध बहुपक्षवाद हो, न त यो त्यसका संस्थाहरूमा निर्भर नै छ । यो भनेको सँगै काम गर्न पर्याप्त साझा आधार भएका साझेदारहरूसँग मुद्दा विशेष फरक–फरक काम लाग्ने गठबन्धन निर्माण गर्नु हो । कुनै अवस्थामा यस्तो गठबन्धनले विश्वका बहुसङ्ख्यक राष्ट्रहरूलाई समेट्न सक्ने छ । यसले व्यापार, लगानी र संस्कृतिसम्म सम्बन्धको घना सञ्जाल तयार गरिरहेको छ, जसलाई हामी भविष्यका चुनौती र अवसरहरूमा उपयोग गर्न सक्छौँ ।

हाम्रो धारणा स्पष्ट छ– मध्यम शक्तिका देशहरूले सँगै काम गर्नैपर्छ । किनभने हामी टेबुलमा भएनौँ भने, हामी मेनुमा हुनेछौँ । तर म के पनि भन्न चाहन्छु भने महाशक्तिहरू, अहिलेका लागि, एक्लै अघि बढ्न सक्छन् । उनीहरूसँग बजारको आकार, सैन्य क्षमता र सर्त तोक्ने दबाब–शक्ति छ । मध्यम शक्तिहरूसँग त्यो छैन । जब हामी कुनै प्रभुत्वशाली शक्तिसँग केवल द्विपक्षीय रूपमा वार्ता गर्छौँ, हामी कमजोर धरातलमा उभिएर वार्ता गरिरहेका हुन्छौँ । जे प्रस्ताव हुन्छ, त्यही स्वीकार्छौँ । सबैभन्दा बढी मिलनसार बन्ने प्रतिस्पर्धामा हामी आपसमा होडबाजी गर्छौँ ।

यो सार्वभौमिकता होइन । यो अधीनता स्वीकार्दै सार्वभौमिकताको अभिनय गर्नु मात्र हो । 

विश्वमा महाशक्तिहरूको प्रतिस्पर्धामा, मध्यम शक्तिका देशहरूसँग विकल्प छ । अनुग्रहका लागि आपसमा प्रतिस्पर्धा गर्ने वा प्रभावसहितको तेस्रो मार्ग निर्माण गर्न एकजुट हुने । कठोर शक्तिको उदयले हामीलाई वैधता, इमानदारी र नियमको शक्तिलाई बेवास्ता गर्नेगरी अन्धो बनाउनु हुँदैन । यदि हामीले यसलाई सबैले सँगै प्रयोग गर्ने निर्णय ग-यौँ भने यो शक्ति अझै बलियो रहनेछ ।

जसले मलाई पुनः हाभेलतर्फ लैजान्छ । मध्यम शक्तिका देशहरूका लागि सत्यमा बाँच्नु भनेको के हो ?

यसको पहिलो अर्थ, यथार्थलाई नाम दिनु हो । ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ अझैपनि भनिएझैँ काम गरिरहेको छ भन्ने जप दोहो-याउन बन्द गरौँ । यसलाई जस्ताको तस्तै भनौँ– यो तीव्र हुँदै गएको महाशक्तिहरू बिचको प्रतिस्पर्धा हो, जहाँ सबैभन्दा शक्तिशालीहरूले आर्थिक समायोजनलाई दबाबका रूपमा प्रयोग गर्दै आफ्ना स्वार्थ पछ्याइरहेका छन् ।

यसको अर्थ, मित्र र प्रतिद्वन्द्वी दुवैमा समान मापदण्ड लागू गर्दै व्यवहारमा एकरूपता ल्याउनु हो । एक दिशाबाट आउने आर्थिक दबाबको आलोचना गर्ने तर अर्को दिशाबाट आउँदा मौन बस्ने हो भने, हामी झ्यालमा राखिएको पोस्टर जोगाइरहेका मात्र हुन्छौँ ।

यसको अर्थ, हामीले पुरानो व्यवस्था फर्किने प्रतीक्षा नगरी हामीले आफूले विश्वास गर्छौँ भनेका कुरा निर्माण गर्नु हो । वर्णन गरेझैँ काम गर्ने संस्थाहरू र सम्झौताहरू सिर्जना गर्नु हो । अनि दबाब सम्भव बनाउने प्रभावहरू घटाउनु हो । त्यो भनेको बलियो घरेलु अर्थतन्त्र निर्माण हो । यो प्रत्येक सरकारको तत्काल प्राथमिकता हुनुपर्छ ।

अन्तर्राष्ट्रिय विविधीकरण केवल आर्थिक सावधानी मात्र होइन । यो इमानदार परराष्ट्र नीतिको भौतिक आधार हो । किनकि प्रतिशोधप्रति आफ्नो संवेदनशीलता घटाएर मात्र देशहरूले सिद्धान्तमा आधारित अडान लिने अधिकार राख्छन् ।

अब क्यानडातर्फ फर्कौँ । क्यानडासँग संसारलाई चाहिने कुरा छन् । हामी ऊर्जा महाशक्ति हौँ । हामीसँग महत्त्वपूर्ण खनिजका विशाल भण्डार छन् । संसारकै सबैभन्दा शिक्षित जनसङ्ख्या हामीसँग छ । हाम्रा पेन्सन कोषहरू विश्वकै सबैभन्दा ठुला र परिष्कृत लगानीकर्तामध्ये पर्छन् । अर्थात्, हामीसँग पुँजी समान प्रतिभा छ । हामीसँग निर्णायक रूपमा काम गर्न सक्ने विशाल वित्तीय क्षमता भएको सरकार पनि छ । अनि हामीसँग धेरैले आकाङ्क्षा राख्ने मूल्यहरू छन् ।

क्यानडा प्रभावकारी रूपमा सञ्चालित बहुलवादी समाज हो । हाम्रो सार्वजनिक स्थलहरू मुखर, विविध र स्वतन्त्र छन् । क्यानाडेलीहरू दिगोपनाप्रति प्रतिबद्ध छन् । हामी अस्थिर विश्वमा स्थिर र विश्वसनीय साझेदार हौँ । दीर्घकालीन सम्बन्ध निर्माण गर्ने र तिनलाई मूल्य दिने साझेदार ।

हामीसँग अर्को कुरा पनि छ– के भइरहेको छ भन्ने स्पष्ट बुझाइ र त्यसअनुसार कार्य गर्ने दृढ सङ्कल्प । हामी बुझ्छौँ कि यो विच्छेदको समयमा केवल अनुकूलनले पुग्दैन । यसले विश्वलाई जस्तो छ, त्यस्तै स्वीकार्ने इमानदारीको अपेक्षा राख्छ ।

हामी झ्यालबाट पोस्टर हटाउँदै छौँ ।

हामीलाई थाहा छ, पुरानो व्यवस्था फर्किँदैन । हामीले त्यसको शोक मनाउनु हुँदैन । स्मृतिमोह रणनीति होइन । तर हामी के विश्वास गर्छौँ भने यो फुटबाट हामी झनै ठुलो, झनै राम्रो, झनै बलियो र झनै न्यायपूर्ण व्यवस्था निर्माण गर्न सक्छौँ । 

किल्लाबन्दीको विश्वबाट सबैभन्दा धेरै गुमाउने र वास्तविक सहकार्यबाट सबैभन्दा धेरै पाउने मध्यम शक्ति देशहरूको यही दायित्व हो ।

शक्तिशालीहरूसँग उनीहरूको शक्ति छ । तर हामीसँग पनि केही छ । अभिनय गर्न छोड्ने क्षमता, यथार्थलाई नाम दिने साहस, घरमै आफ्नो शक्ति निर्माण गर्ने सङ्कल्प र सँगै काम गर्ने इच्छाशक्ति । यही क्यानडाको बाटो हो । हामी यसलाई खुला र आत्मविश्वासका साथ रोज्छौँ । 

अनि हामीसँगै हिँड्न इच्छुक कुनै पनि देशका लागि यो बाटो खुला छ । 

(क्यानडाका प्रधानमन्त्री कार्नीले २० जनवरीमा वर्ल्ड इकनमिक फोरममा दिएको मन्तव्यको सम्पादित अंश । कार्नीको मन्तब्य रञ्जु विष्टले अनुवाद गरेकी हुन् । उनी काठमाडौँ विश्वविद्यालयमा सार्वजनिक नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गर्छिन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मार्क कार्नी
मार्क कार्नी
लेखकबाट थप