राष्ट्रिय सभा निर्वाचन: कर्णालीमा दुई पदका लागि मतदान जारी
सुर्खेत । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशबाट एक महिला र एक अन्य कलस्टरमा निर्वाचन भइरहेको छ । ९ बजेदेखि मतदान जारी रहेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए ।
कर्णालीबाट दुई पदका लागि हुन लागेको निर्वाचनमा नेपाली कांग्रेस र एमालेबिच गठबन्धन भएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक्लै चुनावी मैदानमा होमिएको छ ।
गठबन्धनतर्फबाट कांग्रेसले अन्य कलस्टर पाएको छ भने एमालेले महिला कलस्टर पाएको छ ।
कांग्रेसबाट ललितजंग शाही उम्मेदवार बनेका छन् । कांग्रेस कर्णाली प्रदेशका सभापति समेत रहेका शाही ०७९ मा प्रदेश सभाको निर्वाचनमा पराजित नेता हुन् ।
उनलाई कांग्रेसबाट नै विद्रोह गरी स्वतन्त्र चुनाव लडेका देवेन्द्रबहादुर शाहीले जुम्ला (क)बाट एक हजार ८ सय मतान्तरले पराजित गरेका थिए । स्वतन्त्र निर्वाचित भएका शाही अहिले कांग्रेसमा फर्किसकेका छन् ।
यस्तै गठबन्धनबाट महिला क्लस्टरतर्फ एमालेकी मिनासिं रखाल उम्मेदवार बनेकी छिन् । दैलेख निवासी रखाल ०७४ मा समानुपातिकतर्फ कर्णाली प्रदेश सभा सदस्य बनेकी थिइन् ।
यता, नेकपाले भने एक पूर्व माओवादी र एक पुर्व समाजवादी धारका नेताहरूलाई उम्मेदवार बनाएको छ ।
अन्य कलस्टरतर्फ पुर्व माओवादी धारका बुद्धिप्रसाद शर्मा र महिलातर्फ पूर्व समाजवादी धारकी अन्जु महतरा (शाही)लाई उम्मेदवार बनाएको छ । अन्जु डोल्पाकी हुन् भने शर्मा रुकुम पश्चिमका हुन् । शर्मा माओवादीका पुराना नेता हुन् ।
अहिले चुनाव हुन लागेको अन्य कलस्टर साविक माओवादीको हो । माओवादीका मायाप्रसाद शर्मा तत्कालीन नेकपा हुँदा निर्वाचित भएका थिए । यस्तै महिला कलस्टरतर्फको सिट एमालेको हो । एमालेकी सुमित्रा विसी सदस्य छिन् ।
गठबन्धन हुँदा नेकपाले गुमाउने छ दुवै पद
कर्णालीमा राष्ट्रियसभा निर्वाचनका लागि १९८ कुल मतदाता संख्या छ । प्रदेशसभामा ४० सदस्य छन् भने ७९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको संख्या १५८ छन् ।
प्रदेशसभा सदस्यको मतभार संख्या ५३ हो भने स्थानीय तहका प्रमुख, उपप्रमुखको १९ हो । यस हिसाबले प्रदेशसभा सदस्यहरुको कुल मतभार संख्या २ हजार १२० हुन्छ भने स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको मतभार संख्या ३ हजार २ हुन्छ । दुवै तहका मतदाताहरुको कुल मतभार संख्या ५ हजार १२२ छ ।
यदि दलहरु एक्लाएक्लै लडेका खण्डमा कांग्रेस र नेकपाबिच कडा प्रतिस्पर्धा हुन्थ्यो । तर, एमाले–कांग्रेस गठबन्धन हुँदा नेकपाले दुवै पद गुमाउने छ ।
४० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५, नेकपाका १४, एमालेका १० र राप्रपाका १ सांसद छन् । कांग्रेस प्रदेश कमिटीका प्रवक्ता दमन शाहीका अनुसार कांग्रेसका स्थानीय तह प्रमुख, उपप्रमुखहरुको संख्या ५८ छ ।
०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले ५९ वटा प्रमुख, उपप्रमुख थिए । तर उपनिर्वाचनमा आफूले जितेका जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख र दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पद गुमाएको थियो ।
यद्यपि स्वतन्त्र रुपमा निर्वाचित भएका हुम्लाको चंखेलीका अध्यक्ष प्यारीलाल शाही फेरि कांग्रेसमा फर्किएसँगै प्रमुख, उपप्रमुखको कुल संख्या ५८ कायम रहेको उनको भनाइ छ । १५ प्रदेशसभा सदस्यको मतभार संख्या ७९५ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार संख्या १ हजार १०२ गरी कांग्रेसको कुल मतभार संख्या १ हजार ८९७ छ ।
एमालेको प्रदेश (१०) र स्थानीय तहको गरी कुल मतभार संख्या १२१४ छ । २०७९ को स्थानीय तहको निर्वाचनमा ३५ वटा प्रमुख तथा उपप्रमुख पदमा जितेको एमालेले २०८१ को स्थानीय तह उपनिर्वाचनमा महावु गाउँपालिकाको अध्यक्ष जितेको थियो ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को मतभार संख्या १ हजार ९३९ छ । यहाँ साविक माओवादीको २०७९ को स्थानीय तह निर्वाचन र २०८१ मा भएको स्थानीय तह उपनिर्वाचनमा गरी प्रमुख, उपप्रमुखहरुको संख्या ५० छ ।
यस्तै २०७९ मा एकीकृत समाजवादी पार्टीबाट नै टिकट लिएर चुनाव जितेका प्रमुख, उपप्रमुखको संख्या १० छ भने स्वतन्त्र जितेर पछि पार्टीमा फर्किएका तीन जनासहित समाजवादीका प्रमुख, उपप्रमुखहरुको संख्या १३ छ । अहिले दुई दल मिलेपछि बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को स्थानीय तह कुल मतदाता संख्या ६३ हुन्छ भने मतभार संख्या १ हजार १९७ हुन्छ । यस्तै, प्रदेशसभामा साविक माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीको १ गरी माओवादीका १४ सदस्य छन् । उनीहरूको मतभार संख्या ७४२ छ ।
प्रदेश र स्थानीय दुवैको जोड्दा कुल मतभार संख्या १ हजार ९३९ आउँछ । यो हिसाबले एक्लाएक्लै चुनाव लडेको खण्डमा नेकपाको निर्वाचन हुन लागेका दुवै पद सुरक्षित गर्न सक्ने सक्थ्यो । तर कांग्रेस—एमालेको मतभार जोड्दा नेकपाका भन्दा स्वतः बढी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण