एउटा क्षेत्र मात्र उज्यालो भएर पुगेन, देश नै उज्यालो बनाउन प्रधानमन्त्री बन्ने हो : कुलमान घिसिङ
सारांश
- पूर्वमन्त्री कुलमान घिसिङले देशलाई समृद्ध बनाउन राजनीतिक नेतृत्व आवश्यक रहेको बताए।
- उनले काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै समग्र देशलाई उज्यालो बनाउन राजनीतिमा होमिएको बताए।
- घिसिङले देशको गरिबी हटाउन, भ्रष्टाचार मुक्त गर्न र रोजगारी सिर्जना गर्न सही नेतृत्व आवश्यक रहेको बताए।
काठमाडौँ । पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले एउटा क्षेत्र मात्र उज्यालो बनाएर देश समृद्ध नहुने बताएका छन्। आसन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवार रहेका घिसिङले घरदैलो कार्यक्रम अन्तर्गत बौद्ध खाईबाटोल–भुवालडाँडा क्षेत्रका स्थानीयसँगको भेटघाटमा समग्र देशको अँध्यारो हटाउन आफू राजनीतिमा होमिएको स्पष्ट पारेका हुन्।
लामो समय कर्मचारी संयन्त्रमा रहेर नेपाल विद्युत प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङले प्राविधिक क्षेत्रबाट मात्र देशको मुहार फेर्न नसकिने निष्कर्ष सुनाए। उनले एउटा कुना मात्र उज्यालो भएर नहुने भन्दै सिङ्गो देशलाई उज्यालो बनाउन र सबै क्षेत्रको बेथिति अन्त्य गर्न राजनीतिक नेतृत्वमै पुग्नुपर्नेमा जोड दिए। कुरा मात्र गरेर देश नबन्ने भन्दै उनले काम गर्नका लागि कार्यकारी भूमिका अर्थात् प्रधानमन्त्रीकै तहमा पुग्नु अपरिहार्य रहेको जिकिर गरे। उनले देशको गरिबी हटाउन, भ्रष्टाचार मुक्त गर्न र रोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र बनाउन सही नेतृत्वको खाँचो रहेको औँल्याएका छन्।
घिसिङले आगामी निर्वाचनमा मत परिवर्तन गर्न मतदातालाई आग्रह गरे। पुस्तौँदेखिको पार्टी र विरासत भन्दै सधैँ पुराना दललाई भोट हाल्ने प्रवृत्ति त्याग्न उनको सुझाव छ। पुराना नेता र दललाई पटक–पटक परीक्षण गरिसकेको भन्दै उनले अब नतिजा दिन सक्ने नयाँ र सही व्यक्तिलाई छनोट गर्नुपर्ने बताए। उनले नयाँ मात्र भएर नहुने तर विगतमा काम गरेर प्रमाणित गरिसकेका व्यक्तिहरू संसदमा पुगे मात्र देशले निकास पाउने दाबी गरे।
चुनावी घरदैलोका क्रममा उनले बौद्ध क्षेत्रको सडक, बत्ती लगायतका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए। जित वा हार जे भए पनि जनताको काममा निरन्तर लाग्ने उनको भनाइ छ। घिसिङले यसपटक आफूहरूलाई विश्वास गरेर जिताएमा अर्को निर्वाचनमा भोट माग्न नआउने उद्घोष समेत गरे। सही काम गरेर देखाएपछि जनताले आफैँ भोट हाल्ने वातावरण सिर्जना गर्ने उनको दाबी थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण