मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चुनावी चर्चा

पर्सा–१ का मतदाता आक्रोशित, देखिएन चुनावी उत्साह

मङ्गलबार, १३ माघ २०८२, १७ : ०२
मङ्गलबार, १३ माघ २०८२

सारांश

  • Pols in Parsa have started their election campaign, but voters are not yet showing enthusiasm for the upcoming election.
  • Many citizens express disillusionment with the existing political parties, citing a lack of progress and unaddressed issues.
  • There is a strong sense of skepticism among the public about the election's impact, with some expressing hope for change through new faces.

वीरगञ्ज । पर्सामा राजनीतिक दलहरूले चुनावी अभियान चलाउन थालिसकेका छन् । 

फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार बनेका दलहरूले प्रचारप्रसार, मतदाता भेटघाटजस्ता कार्यक्रमलाई तीव्र बनाएका छन् । तर मतदातामा भने अझै चुनावी उत्साह देखिएको छैन । जनतामा चुनावी बहस र निर्वाचनलाई लिएर अझै अलमल नै छ । चुनाव हुने/नहुने विषयमा आम नागरिकमा संशय नै छ । पर्सा क्षेत्र १ मा हेभिवेट उम्मेदवार चुनावी मैदानमा उत्रिए पनि जनतामा भने उत्साह छैन । 

जिल्लाको क्षेत्र नम्बर–१ मा प्रत्यक्ष निर्वाचिततर्फ ३० जनाको उम्मेदवारी परेको छ, तर मतदातामा को कुन दलबाट उम्मेदवार छन् खासै चासो नभएको पाइएको छ । पुराना दलबाट निर्वाचितहरूले केही काम गर्न नसकेको भन्दै उनीहरूमा बरु वितृष्णा छ, आक्रोश पनि उत्तिकै । उनीहरूले चुनावलाई ‘न हर्ष न विस्मात्’ कुनै पनि रूपले लिएका छैनन् । जनताका समस्याप्रति कसैले पनि चासो नदेखाएको भन्दै आक्रोश पोखिरहेका छन् । क्षेत्र नम्बर १ अर्थात् वीरगञ्ज महानगरपालिका–२३ का सबैठवा निवासी रामपुकार प्रसाद सबै दललाई टेस्ट गरिसकिएको भन्दै पुराना दलप्रति आक्रोश पोख्छन् । ‘पुराना दलहरूले जे भन्छन्, त्यो अनुसार गर्दैनन्,’ रामपुकार भन्छन्, ‘पुरानाहरूले विकास निर्माणदेखि लिएर सरकारी कलकारखाना सबै ध्वस्त बनाए, जसले गर्दा जनता बेरोजगार बने, तर नेताहरूलाई त्यसप्रति खासै चासो रहेन, यो हाम्रो दुर्भाग्य हो ।’ 

तर यस पटक देशमा परिवर्तन हुने उनलाई लागेको छ । 

राजनीतिक दलहरूले विकास निर्माणसँगै शिक्षा र स्वास्थ्यमा ध्यान दिनुपर्ने, तर त्यो कसैले गर्न नसकेको उनी बताउँछन् । वीरगञ्ज–१४ निवासी ध्रुव पटेलले त यसपालिको चुनावलाई मतलब नै गरेका छैनन् । ‘नेताहरूले जनताका लागि के गरेका छन र ?’ आक्रोशित देखिएका उनी भन्छन्, ‘सबै उस्तै हुन्, गाउँका मान्छे जता जान्छन्, उतै गएर हामी मतदान गरदिन्छौँ ।’ विकास निर्माणका कामदेखि सबै लथालिङ्ग हुँदा उनलाई चिन्ता लागेको छ, त्यसैले चुनावलाई उनले खासै चासो र प्राथमिकतामा राखेका छैनन् । 

पेसाले किसान उनी खेतीपातीमै व्यस्त छन् । उनलाई लागेको छ– बरु किसानका लागि सरकारले मलखादको व्यवस्थापनतिर गरिदिएहुन्थ्यो । वीरगञ्ज महानगरकै मनियारी निवासी सुगिया देवीको प्रतिक्रिया पनि फरक छैन, उनी पनि निर्वाचनलाई लिएर खासै उत्साह नभएको बताउँछिन् । 

आफ्नो क्षेत्रमा आवास, नाला शिक्षा, स्वास्थ्यको अवस्था जटिल रहेको बताउने उनी भन्छिन्, ‘मुसहर बस्तीमा घरको समस्या छ, खानेपानीको अवस्था विकराल छ । नाला, सडक र गुणस्तरीय शिक्षाको व्यवस्था सरकारले गरिदिनुपर्छ ।’ राजनीतिक दलहरूको घरदैलो सुरु भइनसकेकाले आफूले उम्मेदवार नचिनेको उनले बताइन् । 

क्षेत्र १ मै पर्ने वीरगञ्ज–१८ का शिवशंकर प्रसादले यसअघि जितेका उम्मेदवारले आफ्ना आसेपासेलाई मात्रै पोसेको आरोप लगाए । ‘पुराना दलका नेताहरूले देशलाई लुटेर आ–आफ्नो घरमा थुपार्ने काम मात्रै गरे,’ आक्रोशसहित उनले आरोप लगाए, ‘जनतालाई करमाथि कर लगाएका छन्, जनतालाई फाइदा छैन, २०/२५ देखि नै यी नेताहरूको परीक्षण भइसक्यो ।’ 

भोट माग्ने बेला मात्र जनतालाई चिन्ने नेतालाई यसपटक जनताले चिन्ने उनी बताउँछन् । उनका अनुसार पहिलापहिला गाउँबाट उठेका उम्मेदवारलाई मत हालिन्थ्यो, तर योपटक त्यस्तो हुँदैन । ‘बरु नयाँ अनुहारलाई सहयोग गरिन्छ, नयाँ अनुहारले नै केही गर्छ कि भन्ने आशा छ,’ उनले भने । त्यसकारण योपटक धेरै सोचेर मतदान गर्ने उनले बताए । 

यही क्षेत्रका असर्फी साह भने चुनावी सरगर्मी बढे पनि, चहलपहल हुन थाले पनि चुनाव हुने/नहुने ग्यारेन्टी देख्दैनन् । वीरगञ्ज–२२ का सिकेन्द्र साह कानु २०४६ सालदेखि नै पुराना पार्टीले जनताको समस्या नदेखेको बताउँछन् । पुराना दलप्रति आक्रोश पोखेका उनले यसपटक धेरै उलटफेर हुने सक्ने आकलन गरेका छन् । 

वडा नम्बर १५ नम्बर सत्यदेव यादवलाई पनि चुनाव होला/नहोला शंका लागेको छ । चुनाव भए पनि कुनै दलको बहुमत नआउने उनले देखेका छन् । नयाँ दलको पनि ठोस एजेन्डा नभएकाले कुनै पनि दलप्रति उनलाई चासो छैन । चुनावी माहोल बनिसक्दा पनि जनता निराश रहेका उनी बताउँछन् । चुनावबाट पनि देशमा स्थिरता आउने उनी देख्दैनन् । ‘नयाँ दलसँग पनि खासै एजेन्डा छैन, त्यसमा प्रवेश गरिरहेकाहरू पनि उस्तै देखिए । बालेनको महत्त्वाकांक्षा बढी देखिएको छ, जुनकारण यो दलप्रति पनि जनताको आशा कम हुँदै गइरहेको छ,’ उनी तर्क गर्छन् । 

हेभिवेट तीन उम्मेदवार

पर्सा क्षेत्र नम्बर १ मा ३० जनाको उम्मेदवारी परेको छ । विशेषतः यहाँ तीन जनालाई हेभिवेट उम्मेदवार मानिएको छ । नेपाली कांग्रेसका अनिल रुंगटा, नेकपा एमालेका प्रदीप यादव र रास्वपाका हरि पन्तबिच यहाँ कडा टक्कर हुने अनुमान गरिएको छ । 

पुराना दलहरूलाई आफ्नै संगठनको बल र नयाँप्रति जनताको आकर्षण देखिएको छ । यो क्षेत्रमा कांग्रेसका एक उपमेयरसहित चार वडाध्यक्ष निर्वाचित छन् । यो निर्वाचन क्षेत्रमा मात्र नेपाली कांग्रेसका करिब २३ सय क्रियाशील सदस्य रहेका कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी बताउँछन् । उनका अनुसार यहाँका सबै वडामा इकाइ समितिसमेत गठन भएका छन् । यता एमालेका भने यस क्षेत्रमा १४ जना वडाध्यक्ष रहेका एमाले केन्द्रिय सदस्य प्रभु हजारा दाबी गर्छन् । यो १४ जनामा उनले जसपा नेपालका वडाध्यक्षसमेत गणना गरेका हुन् । नत्र यहाँ एमालेबाट मात्रै निर्वाचित वडाध्यक्षको संख्या ६ रहेको उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप