शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

बहुआयामिक राजनीतिक सहभागिता र अन्तरपुस्ता संवादलाई प्राथमिकता दिन सरोकारवालाको आग्रह

मङ्गलबार, १३ माघ २०८२, २२ : ४४
मङ्गलबार, १३ माघ २०८२

सारांश

  • सरोकारवालाहरूले राजनीतिमा युवाको प्रभावकारी सहभागिता र अन्तरपुस्ता संवादलाई प्राथमिकता दिनुपर्ने बताए।
  • कार्यक्रममा योगेश भट्टराईले युवाको भूमिका र निर्वाचनको महत्वबारे चर्चा गरे भने धेरै एजेण्डा छुटेको बताए।
  • कार्यक्रममा पूर्वमन्त्री सुमना श्रेष्ठ, किरण थापा र मोनिका निरौलाले युवा सहभागिताको कुरा उठाए।

काठमाडौं। राजनीतिमा युवाको प्रभावकारी सहभागिता र अन्तरपुस्ता संवादलाई नेपालमा अझै पनि आवश्यक प्राथमिकता नदिइएको सरोकारवालाहरूले बताएका छन् । युथ इनिसिएटिभको आयोजना तथा राष्ट्रिय मतदाता अधिकार मञ्च (एनभीआरएफ) को सहकार्यमा मंगलबार नयाँ बानेश्वरमा आयोजित अन्तरपुस्ता तथा बहुआयामिक संवाद कार्यक्रममा वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले यसअघिको संसद्मा युवाको भूमिका र बहुआयामिक राजनीतिक सहभागितालाई लिएर छलफल भएको स्मरण गरे । ‘लोकतन्त्रमा हामीले जसलाई बहुमतको सरकार भन्छौँ त्यो साँचो अर्थमा बहुमत होइन । ठुलो जनसङ्ख्या मतदानबाटै बाहिर हुन्छ । यसर्थ, धेरैभन्दा धेरैलाई कसरी राजनितिमा समेट्ने भन्नेबारे छलफल भइरहनुपर्छ,’ उनले भने, ‘अहिलेको सरकारको मुख्य ध्यान निर्वाचन गराउनमै छ । कतिपय महत्त्वपूर्ण एजेन्डा अहिले छुटेका छन् । तर, भविष्यमा सम्बोधन हुन जरूरी छ ।’

पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ, गैरसरकारी संस्था महासंघ नेपालका उपमहासचिव किरण थापा तथा युवा तथा जेनजी प्रतिनिधि मोनिका निरौलाले पनि युवाको राजनीतिक सहभागिता र अन्तरपुस्ता संवादलाई नीतिगत प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । 

कार्यक्रमको उद्घाटन सत्रमा युथ इनिसिएटिभका अध्यक्ष योगेश काफ्लेले स्वागत मन्तव्य दिँदै युवाको आवाज नीति निर्माण तहसम्म पुर्‍याउनका लागि कार्यक्रम गरिएको बताए । 

नेपाल नीति संस्थानकी सदस्य शारु जोशीले देशबाहिर तथा जिल्लाबाहिर रहेका मतदाताको मतदान अधिकार, यसको व्यवहारिकता, चुनौती र आगामी निर्वाचनमा यसको सान्दर्भिकताबारे प्रस्तुति दिइन् । मानव अधिकार आयोगका सचिव मुरारी खरेलले लोकतन्त्र सुदृढीकरणमा मताधिकार र समावेशी सहभागिताको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रममा राजनीतिक दल, नागरिक समाज, विज्ञ तथा युवाबिच खुला छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप