शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?

कसरी छानिन्छन् राउन्ड अफ ३२ का टोलीहरू ? यस्तो छ फिफाको नयाँ नियम
शनिबार, ०६ असार २०८३, १८ : ००
शनिबार, ०६ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को नकआउट चरण जुन २८ देखि राउन्ड अफ ३२ बाट सुरु हुनेछ।
  • प्रत्येक १२ समूहका शीर्ष दुई टोली र तेस्रो स्थानका उत्कृष्ट आठ टोली नकआउटमा पुग्नेछन्।
  • हाइटी र टर्की फिफा विश्वकप २०२६ बाट बाहिरिने पहिलो टोली बनेका छन्।

काठमाडौँ । फिफा विश्वकप २०२६ को नकआउट समीकरण तयार हुन थालेको छ। यो चरण जुन २८ देखि जुलाई ३ सम्म चल्ने ‘राउन्ड अफ ३२’ बाट सुरु हुनेछ। 

नकआउट चरणको ढाँचा कस्तो छ, छनोटका मापदण्डहरू के हुन् र कुन–कुन टोली अर्को चरणमा पुगेका वा प्रतियोगिताबाट बाहिरिएका छन्? आउनुहोस्, यसबारे विस्तृतमा जानौँ।

विश्वकपको नकआउट चरणको ढाँचा कस्तो छ?

प्रत्येक १२ वटा समूहका शीर्ष दुई टोली र तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। विश्वकपमा टोलीको सङ्ख्या ३२ बाट बढाएर ४८ पुर्‍याइएपछि पहिलोपटक नकआउट चरण ‘राउन्ड अफ ३२’ बाट सुरु हुँदै छ। त्यसपछि राउन्ड अफ १६, क्वार्टरफाइनल, सेमिफाइनल र तेस्रो स्थानका लागि प्लेअफ खेल हुनेछन्। फाइनल खेल जुलाई १९ मा हुनेछ।

प्रतियोगिताको चरणबद्ध तालिका यसप्रकार छ:

  • समूह चरण: जुन ११ देखि जुन २७
  • राउन्ड अफ ३२: जुन २८ देखि जुलाई ३
  • राउन्ड अफ १६: जुलाई ४–७
  • क्वार्टरफाइनल: जुलाई ९–११
  • सेमिफाइनल: जुलाई १४–१५
  • तेस्रो स्थानको खेल : जुलाई १८
  • फाइनल: जुलाई १९

विश्वकप २०२६ मा ‘टाइ–ब्रेकर’ नियममा के परिवर्तन भएको छ?

फिफाले पहिलोपटक विश्वकपमा समूहमा समान अङ्क भएका टोलीहरूको स्थान निर्धारण गर्न ‘गोल अन्तर’को साटो ‘हेड–टु–हेड’ नतिजालाई मुख्य आधार बनाएको छ। यसै नियमका कारण हाइटी र टर्की प्रतियोगिताबाट बाहिरिएका छन्। उनीहरूले आ–आफ्ना समूहमा तेस्रो स्थानमा रहेका टोलीसँग हार बेहोरेकाले अब ती टोलीलाई भेट्टाउन असम्भव छ।

world cup trophy

समूह चरणको ‘टाइ–ब्रेकर’ मापदण्ड

फिफाको नियमअनुसार, समूह चरणको अन्त्यमा दुई वा सोभन्दा बढी टोलीको अङ्क समान भएमा उनीहरूको वरीयता निर्धारण गर्न तल दिइएको क्रमअनुसार मापदण्ड लागू गरिनेछ:

पहिलो चरण

  • समूहका खेलहरूमा प्राप्त गरेको कुल अङ्क।
  • समान अङ्क भएका टोलीहरूबिचको खेलमा रहेको गोल अन्तर (हेड–टु–हेड)।
  • समान अङ्क भएका टोलीहरूबिचको खेलमा सर्वाधिक गोल सङ्ख्या (हेड–टु–हेड)।
  • यदि टोलीहरू अझै बराबरीमा रहेमा, तलको मापदण्ड लागू गरिनेछ:

दोस्रो चरण

  • समूहका सबै खेलहरूमा रहेको कुल गोल अन्तर।
  • समूहका सबै खेलहरूमा गरिएको सर्वाधिक गोल सङ्ख्या।
  • खेलाडी र टोलीका अधिकारीहरूले पाएको पहेँलो र रातो कार्डको आधारमा दिइने ‘टिम कन्डक्ट स्कोर’ (अनुशासन अङ्क)।
  • यति गर्दा पनि टोलीहरूलाई छुट्याउन नसकिएमा अन्तिम मापदण्ड लागू हुनेछ:

तेस्रो चरण

अझै समान अङ्कमा रहेका दुई वा सोभन्दा बढी टोलीहरूको वरीयता फिफाले भर्खरै प्रकाशन गरेको विश्व वरीयताको आधारमा निर्धारण गरिनेछ।

तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोली छान्ने मापदण्ड

  • समूहमा तेस्रो स्थान हासिल गरेका टोलीहरूमध्ये उत्कृष्ट आठ टोलीको छनोट यसरी गरिनेछ:
  • समूहका सबै खेलहरूमा प्राप्त गरेको कुल अङ्क।
  • समूहका सबै खेलहरूबाट प्राप्त गोल अन्तर।
  • समूहका सबै खेलहरूमा गरिएको सर्वाधिक गोल सङ्ख्या।
  • सबै खेलहरूमा खेलाडी र टोलीका अधिकारीहरूले पाएको पहेँलो र रातो कार्डको आधारमा दिइने ‘टिम कन्डक्ट स्कोर’ (अनुशासन अङ्क)।
  • यदि अङ्क समान भएमा फिफाले भर्खरै प्रकाशन गरेको विश्व वरीयताको आधारमा टोलीहरूको वरीयता तोकिनेछ।

कुन–कुन टोलीले ‘राउन्ड अफ ३२’ मा स्थान पक्का गरे?

(शनिबार बिहानसम्मको अवस्था)

  • मेक्सिको (समूह ए): आयोजक राष्ट्र मेक्सिको बिहीबार, जुन १८ मा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो। मेक्सिकोले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई २–० ले हराएको थियो।
  • अमेरिका (समूह डी): शुक्रबार, जुन १९ मा अस्ट्रेलियालाई २–० ले हराउँदै अमेरिका नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्यो। अमेरिकाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई ४–१ ले पराजित गर्दै सानदार सुरुवात गरेको थियो।

turkey

विश्वकप २०२६ बाट कुन–कुन टोली बाहिरिए?

  • हाइटी (समूह सी): शुक्रबार, जुन १९ मा ब्राजिलसँग ३–० ले पराजित हुँदै हाइटी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो। सन् १९७४ पछि पहिलोपटक विश्वकप खेलिरहेको हाइटीले आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग १–० को हार बेहोरेको थियो।
  • टर्की (समूह डी): शुक्रबारै पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की पनि प्रतियोगिताबाट बाहिरिएको छ। पाराग्वेले १० खेलाडीमा सीमित भएर पनि टर्कीलाई पराजित गरेको थियो। २४ वर्षपछि विश्वकपमा फर्किएको टर्कीले आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग अप्रत्याशित रूपमा २–० को हार बेहोरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप