फागुनको सुरुवातमै ४ नेपाली फिल्म आपसमा भिड्दै
सारांश
- फागुन १ गते नेपाली बक्सअफिसमा 'लालीबजार', 'शिवांश', 'बिगुल' र 'श्री बुकुरो' रिलिज हुँदैछन्।
- 'कल्ली' फिल्मले चुनावको कारण देखाउँदै प्रदर्शन स्थगित गरेको छ, जसले गर्दा बक्सअफिसमा प्रतिस्पर्धा कम हुने अनुमान छ।
- सार्वजनिक बिदाको अवसर पारेर निर्माताहरूले फिल्म प्रदर्शनका लागि तयारी गरेका हुन्, जसमा विभिन्न विषयवस्तु समेटिएका छन्।
काठमाडौँ । केही दिन लगातार सार्वजनिक बिदा पर्नासाथ निर्माता÷ निर्देशकहरू आफ्नो फिल्म प्रदर्शनका लागि तँछाडमछाड गर्ने प्रचलन नेपाली फिल्म क्षेत्रमा नयाँ होइन । कहिलेकाहीँ प्रतिस्पर्धा यति तीव्र हुन्छ कि एउटै मितिमा चार–पाँच वटासम्म फिल्म भिड्छन् ।
आगामी फागुन १ गते पनि नेपाली बक्सअफिसमा एउटा ‘महायुद्ध’ हुने देखिएको छ । यो दिन ‘लालीबजार’, ‘शिवांश’, ‘बिगुल’ र ‘श्री बुकुरो’ प्रदर्शनको तयारीमा छन् ।
२ गते शनिबार, ३ गते महाशिवरात्रि, ६ गते ग्याल्पो ल्होछार र ७ गते प्रजातन्त्र दिवसको अवसरमा गरी चार दिन सार्वजनिक बिदा परेको छ । यही मौका छोपेर फागुनको पहिलो साता निर्माता–निर्देशकहरू आफ्नो फिल्म प्रदर्शनको तयारीमा जुटेका हुन् ।
फागुन १ मै प्रदर्शन हुने भनिएको फिल्म ‘कल्ली’ले भने देशको राजनीतिक अवस्था र चुनावको कारण भन्दै प्रदर्शन स्थगित गरिसकेको छ ।
‘लालीबजार फिल्मलाई ‘जात्रा’ शृङ्खला र ‘महापुरुष’ जस्ता सफल फिल्म दिएको षट्कोण आट्र्सले निर्माण गरेको हो । अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म यम थापाले निर्देशन गरेका हुन् ।
लेखनसमेत निर्देशक थापाकै रहेको फिल्मलाई रवीन्द्रसिंह बानियाँ, म्याक्स दीपेश खत्रीले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई छन् ।
‘शिवांश’ पनि महाशिवरात्रिको अवसर पारेर फागुन १ मा प्रदर्शनमा आउन लागेको हो । फिल्ममा अभिनेता प्रवीण खतिवडाको मुख्य भूमिका छ । सन्तोष कुमार आत्रेयको निर्देशन रहेको फिल्म अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुतिमा बनेको हो । फिल्ममा प्रवीणका अलावा तेज गिरी, रुषा न्यौपानेको पनि अभिनय छ । फिल्म शिवको कथामा निर्माण भएको बताइन्छ । फिल्ममा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको सङ्गीत छ ।
त्यस्तै ‘बिगुल’ पनि फागुन १ मा आउन लागेको छ । यो फिल्म माघ ९ मा प्रदर्शन हुने भनिए पनि सरेर फागुनमा पुगेको हो । समसामयिक राजनीतिक र सामाजिक मुद्दामा आधारित फिल्म रमेश कोइरालाले निर्देशन गरेका हुन् । फिल्मले जेनजी पुस्ताको आन्दोलन र भ्रष्टाचार विरुद्धको आवाजलाई चित्रण गरेको छ । फिल्मका निर्माता दिनेश कोइराला हुन् । फिल्ममा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह र सरोज खनाल लगायतको अभिनय छ ।
‘श्री बुकुरो : द होम कलिङ’ले पनि फागुन १ लाई नै आफ्नो प्रदर्शन मिति तोकेको छ । ‘श्री बुकुरो’ ले एउटा शुद्ध पारिवारिक कथा लिएर प्रवेश गर्दैछ । फिल्मको निर्देशन सुदीप भुपाल सिंहले गरेका हुन् । फिल्मले हराउँदै गएको पारिवारिक मूल्य र घर फर्कने चाहनालाई समेत समेटेको निर्देशक सिंहले बताए । फिल्ममा लक्ष्मी गिरी, आशीर्वाद क्षेत्री र निकिता आचार्य लगायतका कलाकारको अभिनय छ । फिल्ममा रञ्जित गजमेर र वसन्त सापकोटाको सङ्गीत छ ।
चुनावको कारण स्थगित ‘कल्ली’
फागुन १ को यो महाभिडन्तमा सामेल हुने भनिएको फिल्म ‘कल्ली’ले भने अन्तिम समयमा आएर आफूलाई अलग बनाएको छ । निर्माण संस्था लेकाली इन्टरटेनमेन्टले विज्ञप्ति जारी गर्दै चुनावको कारण फिल्मको प्रदर्शन स्थगित गरेको जानकारी दिएको हो ।
लेकाली इन्टरटेनमेन्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देश निर्वाचनमा होमिएको बेला नागरिकको ध्यान राजनीति र राष्ट्रको भविष्यतर्फ हुनु स्वाभाविक हो ।’
४ फिल्म एकैसाथ जुध्दा हुने व्यापारिक नोक्सानी र राजनीतिक माहोलका कारण ‘कल्ली’ पछि हट्नुलाई बुद्धिमानीपूर्ण निर्णय भनेर पनि विश्लेषण गरिएको छ । फिल्ममा सौगात मल्ल, बेनिशा हमाल र नाजिर हुसेनको मुख्य अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण