सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

नेविसंघका ८ पूर्वअध्यक्ष प्रतिनिधि सभा निर्वाचनको मैदानमा, जोगाउलान् कांग्रेसको साख ?

बिहीबार, १५ माघ २०८२, १८ : ३०
बिहीबार, १५ माघ २०८२

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार छन् । विशेष महाविधेशनबाट सभापतिमा सर्वसम्मत चयन भएका गगन थापाले १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार चयन गर्दा नेविसंघका ८ पूर्वअध्यक्षलाई समेटेका हुन् । थापा आफैँ पनि नेविसंघको राजनीतिपछि कांग्रेसको राजनीतिमा होमिएका हुन् ।

सभापति थापाले नेविसंघका पूर्वअध्यक्षहरू विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, गोविन्द भट्टराई, किशोरसिंह राठोर, गुरुराज घिमिरे, प्रदीप पौडेल र नैनसिंह महरलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएका हुन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले दलहरूलाई परिवर्तन हुन सन्देश दिएको भन्दै १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहको सहभागिताबेगर विशेष महाधिवेशन गरेर नेतृत्वमा आएका थापाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नयाँ १०६ जनालाई उम्मेदवार बनाएका छन् । यसरी पहिलो पटक मौका पाउनेमा प्रायः नेविसंघ र तरुण दलको राजनीति गरेर आएकाहरू छन् । यद्यपि यस पटक मौका पाउने नेविसंघका पूर्वअध्यक्षहरू प्रायः पटक–पटक पार्टीबाट अवसर लिएकाहरू छन् ।

निधि धनुषा–३ बाट, कार्की सुनसरी–४ बाट, साउद कञ्चनपुर–२, भट्टराई तनहुँ–१, राठोर बर्दिया–२, घिमिरे मोरङ–४, पौडेल काठमाडौँ–५ र महर डडेलधुराबाट उम्मेदवार बनेका छन् । यीमध्ये निधि, कार्की, साउद, राठोर र पौडेल यसअघिका निर्वाचनबाट प्रतिनिधि सभामा पुगिसकेका छन् । घिमिरे, भट्टराई र महर भने अहिलेसम्म प्रतिनिधि सभामा नपुगेका नयाँ अनुहार हुन् । निधि, कार्की साउद र पौडेल त यसअघि मन्त्री पनि बनिसकेका छन् ।

१. विमलेन्द्र निधि

नेविसंघको २०३६ साल फागुन २९ र ३० गते जनकपुरमा सम्पन्न तेस्रो महाधिवेशनबाट अध्यक्ष भएका निधि २०३९ साल जेठ २३ गतेसम्म अध्यक्ष थिए । उनले महाधिवेशन गर्न नसकेर नेविसंघ अध्यक्षबाट राजीनामा दिएका थिए । निधिले प्रतिनिधि सभामा पुग्नका लागि प्रत्यक्षतर्फ यो सातौँ निर्वाचन लड्दैछन् । २०४८ सालदेखिका प्रत्येक निर्वाचनमा प्रत्यक्षतर्फ लड्दै आएका निधि २०७९ सालमा भने समानुपातिक प्रणालीमा बसेर सांसद भएका थिए । ०४८, ०५१, ०६४ र ०७० को निर्वाचन जितेका निधि ०५६ र ०७४ को निर्वाचनमा भने पराजय व्यहोरेका थिए ।

निधि उपप्रधानमन्त्रीसम्म भएका छन् । गृह, शिक्षालगायतका मन्त्रालय पनि सम्हालिसकेका निधिले पार्टीमा महामन्त्री र उपसभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । उनले १४औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका थिए ।

अहिले धनुषा–३ बाट उम्मेदवार रहेका निधिसँग एमालेबाट जुलीकुमारी महतो (महासेठ), नेकपाबाट रामललित मण्डल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनिष झा, जनता समाजवादी पार्टी नेपालबाट परमेश्वर साह हुडी तथा जनमत पार्टीबाट गोपालप्रसाद साह प्रतिस्पर्धामा छन् । उनी ०७४ सालको निर्वाचनमा राजेन्द्र महतोसँग यही क्षेत्रबाट पराजित भएका थिए ।

२ ज्ञानेन्द्रबहादुर कार्की

निधिले २०३९ जेठ २३ गते नेविसंघ अध्यक्षबाट राजीनामा दिएपछि कांग्रेसले ०३९ असार १० गते कार्कीलाई अध्यक्षमा मनोनीत गरेको थियो । २०४० साल असोज १४ देखि १६ गतेसम्म भएको चौथो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न सकेन । महाधिवेशन सम्पन्न भएको ६ महिनापछि चैत ३ गते बलबहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति आएपछि कार्की बाहिरिएका थिए । ०४७ सालमा कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री भएको बेलामा स्वकीय सचिव भएका कार्कीको संसदीय चुनावी यात्रा २०५१ बाट सुरु भएको हो । ०५१ सालको मध्यावधि निर्वाचनमा भोजपुर–१ मा एमालेका हेमराज राईसँग कार्की पराजित भए ।

०५६ को निर्वाचनमा पुनः भोजपुर–१ बाट प्रतिस्पर्धा गरेका कार्की एमालेकै उम्मेदवार घनेन्द्र बस्नेतसँग पराजित भए । २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा कार्की भोजपुर–१ बाट फेरि पराजित हुँदै हारमा ह्याट्रिक गरे ।

०७० को दोस्रो संविधान सभामा कार्की समानुपातिक तर्फबाट सांसद हुनका साथै अर्थमन्त्री बन्न पनि भ्याए । ०७४ र ०७९ को निर्वाचनमा निर्वाचन क्षेत्र फेरेर सुनसरी–४ मा पुगेका उनी विजयी भए । अहिले पनि त्यही क्षेत्रमा निर्वाचन लड्न उनले उम्मेदवारी दिएका छन् । अर्थबाहेक उनले जलस्रोत र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसकेका छन् । उनी कांग्रेस पार्टीमा भने लामो समयसम्म केन्द्रीय सदस्य रहे पनि पदाधिकारी भएका छैनन् ।

कार्कीसँग अहिले सुनसरी–४ मा एमालेबाट जगदिशप्रसाद कुसियत, नेकपाबाट महमख महफुज अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दीपककुमार साहसहितका प्रतिस्पर्धी छन् ।

३. एनपी साउद

साउद नेविसंघको ०४८ साल असोज १६ देखि १८ गतेसम्म बुटवलमा सम्पन्न छैटौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । उनी २०५३ पुस २७ गतेसम्म नेविसंघ अध्यक्ष रहे ।

त्यसपछि पार्टी राजनीतिमा लागेका साउद प्रतिनिधि सभा सदस्यमात्रै होइन, पटक–पटक मन्त्री पनि बनेका छन् । ०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा साउद कञ्चनपुर–२ बाट सांसद जितेका थिए । संसदको त्यो कार्यकालमा उनी शिक्षा राज्यमन्त्री पनि बने । ०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा पराजित भएका उनी ०७० सालको निर्वाचनमा त्यही क्षेत्रबाट विजयी भए ।

०७४ मा तत्कालीन एमाले र माओवादीबिचको गठबन्धनका उम्मेदवारसँग साउद पराजित भए । उनी २०७९ को निर्वाचनमा भने सोही क्षेत्रबाट विजयी भए । उनले सिँचाइ र परराष्ट्रमन्त्री भएर काम गरिसकेका छन् । ०५९ सालदेखि कांग्रेसको केन्द्रीय सदस्य रहेका साउद पार्टी राजनीतिमा पदाधिकारी भने भएका छैनन् ।

अहिले साउदसँगको प्रतिस्पर्धामा एमालेबाट बचनबहादुर सिंह, नेकपाबाट माधवप्रसाद पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिपकराज बोहोरा लगायत छन् ।    

४. गोविन्द भट्टराई

भट्टराई ०५३ पुस २५ देखि २७ गतेसम्म विराटनगरमा भएएको नेविसंघको सातौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । उनी ०५७ माघसम्म नेविसंघको अध्यक्ष रहे । प्रतिनिधि सभामा भट्टराईको यो दोस्रो प्रतिस्पर्धा हो । उनलाई ०७९ सालमा सम्पन्न निर्वाचनमा कांग्रेसबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त स्थानका लागि भएको उपनिर्वाचनमा कांग्रेसले उम्मेदवार बनाएको थियो । त्यो उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेसँग भट्टराई पराजित भएका थिए । त्यसअघि उनी ०७४ मा भएको निर्वाचनमा गण्डकी प्रदेश सभामा प्रत्यासी भएर पराजित भएका थिए । उनी कांग्रेसमा १३औँ महाधिवेशनपछि मनोनीत केन्द्रीय सदस्य र १४औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य भएर काम गरे ।

भट्टराईसँग अहिले तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुरानै प्रतिस्पर्धी डा. वाग्ले छन् । यहाँ एमालेबाट भगवती न्यौपाने र नेकपाबाट विद्यानाथ ढकाल भट्टराईका प्रतिस्पर्धी छन् ।

५. किशोरसिंह राठोर

राठोर शेरबहादुर देउवाले नेपाली कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेपछि त्यो पार्टी निकट विद्यार्थी संघको अध्यक्ष बनेका थिए । उनी २०६४ असार ३१ गतेसम्म कांग्रेस प्रजातान्त्रिक निकट नेविसंघको अध्यक्ष रहे ।

०६४ र ०७४ को निर्वाचनमा समानुपातिक सांसद भएका राठोर ०७० को निर्वाचनमा बर्दिया–२ बाट पराजित भए । ०७९ को निर्वाचनमा निर्वाचन क्षेत्र फेरेर बाँके–३ मा पुगेर उनी प्रत्यक्षतर्फ निर्वाचित भए । अहिले फेरि बर्दिया फर्केर बर्दिया–२ बाट उनी प्रत्यक्षतर्फ कांग्रेसको उम्मेदवार बनेका छन् ।

पार्टी राजनीतिमा १२औँ महाधिवेशन र १३औँ महाधिवेशनमा केन्द्रीय सदस्य भएका राठोर १४औँ महाधिवेशनबाट खस आर्यतर्फको सहमहामन्त्रीमा निर्वाचित भएका थिए । उनी अहिलेसम्म मन्त्री भएका छैनन् ।  

६. गुरुराज घिमिरे

घिमिरे ०५९ माघमा वीरगञ्जमा भएको नवौँ महाधिवेशनबाट नेविसंघको अध्यक्षमा निर्वाचित भएका थिए । घिमिरे नेतृत्वको समितिलाई कांग्रेसले २०६१ असार ३० गते भङ्ग गरेको थियो ।

गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट कांग्रेसको महामन्त्रीमा चयन भएका घिमिरे ०७८ मा भएको १४औँ महाधिवेशनमा कांग्रेसको कोशी प्रदेश सभापतिमा पराजित भएका थिए । उनी अहिले मोरङ–४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्् । उनी त्यही क्षेत्रको कोशी प्रदेश सभा सदस्यमा ०७९ मा प्रतिस्पर्धा गरेर पराजित भएका थिए ।

घिमिरेसँग अहिले एमालेबाट जीवन घिमिरे, नेकपाबाट अमनलाल मोदी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सन्तोष राजवंशी प्रतिस्पर्धामा छन् ।   

७. प्रदीप पौडेल

पौडेल २०६४ जेठ ७ गतेदेखि १० गतेसम्म चितवनमा सम्पन्न नेविसंघको दशौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए । लामो समय अध्यक्ष रहेका पौडेल नेतृत्वको समिति भङ्ग गरेर कांग्रेसले रञ्जित कर्णलाई अध्यक्ष मनोनीत गरेको थियो ।

१३औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल १४औँ महाधिवेशनमा महामन्त्री लडेर पराजित भएका थिए । गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट महामन्त्रीमा चयन भएका पौडेल प्रतिनिधि सभा निर्वाचनमा दोस्रो पटक प्रतिस्पर्धा गर्दैछन् ।

उनी ०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ–५ बाट विजयी भएका थिए । उनी जेनजी आन्दोलन हुने बेलासम्म स्वास्थ्य तथा जनसंख्यामन्त्री पनि थिए । २०७४ को निर्वाचनमा भने उनी गण्डकी प्रदेश सभामा तनहुँबाट प्रतिस्पर्धा गरी झिनो मतान्तरले पराजित भएका थिए ।

काठमाडौँ–५ बाट उम्मेदवारी दिएका पौडेलसँग अहिले प्रतिस्पर्धामा एमालेका नेता ईश्वर पोखरेल, नेकपाका कल्पना शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापा छन् ।  

८. नैनसिंह महर

महर २०७३ सालमा नेविसंघको अध्यक्षमा निर्वाचित भएका थिए । उनले २०७५ माघ २८ गते नेविसंघ अध्यक्षबाट राजीनामा दिएका थिए । ०७८ सालमा भएको १४औँ महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित महरको प्रतिनिधि सभामा यो पहिलो प्रतिस्पर्धा हो । पार्टीका पूर्वसभापति शेरबहादुर देउवाले ३४ वर्षदेखि लगातार जित्दै आएको संसदीय क्षेत्र डडेलधुराबाट यो पटक महरले उम्मेदवारी दिने मौका पाएका हुन् । उनका प्रतिस्पर्धीमा एमालेबाट चक्रप्रसाद स्नेही, नेपाली कम्युनिस्ट पार्टीबाट मानसिंह माल, रास्वपाबाट ताराप्रसाद जोशी लगायत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप