सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने

सोमबार, ०८ असार २०८३, २१ : २९
सोमबार, ०८ असार २०८३

सारांश

  • नेकपा एमालेले जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीलाई भव्य रूपमा मनाउने भएको छ।
  • असार १४ गते देशभर विविध कार्यक्रमका साथ जन्म जयन्तीलाई व्यापक रूपमा मनाउने निर्णय गरिएको छ।
  • यस वर्षको जन्म जयन्तीलाई रचनात्मक, वैचारिक तथा सङ्गठनात्मक अभियानका रूपमा अघि बढाउने विषयमा छलफल भएको थियो।

काठमाडौँ ।  नेकपा एमालेले जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीलाई भव्य रूपमा मनाउने भएको छ । सो उद्देश्यसहित एमाले निकट २४ वटा जनसङ्गठनहरूको आज काठमाडौँमा भेला सम्पन्न भएको छ। 

भेलाले असार १४ गते देशभर विविध कार्यक्रमका साथ जन्म जयन्तीलाई व्यापक रूपमा मनाउने निर्णय गरेको हो। जनसङ्गठन समन्वय संयन्त्रका संयोजक विशाल भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त भेलामा नेताहरूले यस वर्षको जन्म जयन्तीलाई रचनात्मक, वैचारिक तथा सङ्गठनात्मक अभियानका रूपमा अघि बढाउने विषयमा छलफल भएको थियो।

सहभागी प्रतिनिधिहरूले कार्यक्रमलाई सफल बनाउन सबै जनसङ्गठनहरूलाई सक्रिय रूपमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

पूर्वराष्ट्रपति विद्या भण्डारी को समेत उपस्थिति रहेको उक्त भेलामा बोल्दै एमाले सचिव भानुभक्त ढकालले मदन भण्डारीको जन्म जयन्तीलाई केवल औपचारिकतामा सीमित नराखी रचनात्मक कार्यक्रममार्फत देशभर मनाउन अपील गरे।

उनले जननेता भण्डारीले जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर विकसित गरेको राजनीतिक कार्यशैलीलाई व्यवहारमा उतार्नु आजको आवश्यकता भएको बताए । साथै, पार्टीका २४ वटा जनसङ्गठनहरूले देशभर कार्यक्रम सञ्चालन गरी मदन भण्डारीका विचारलाई जनस्तरसम्म पुर्‍याउन उहाँले आह्वान गरे।

भेलामा मदन भण्डारी फाउन्डेसनका सचिव भेषराज अधिकारीले यस वर्ष जन्म जयन्तीलाई विशेष राजनीतिक तथा वैचारिक कार्यक्रमका रूपमा मनाउने तयारी गरिएको जानकारी दिए। उनका अनुसार असार १४ गते काठमाडौँमा हुने मुख्य समारोहमा जननेताको योगदानबारे विशेष विमर्श गरिनेछ।

काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आयोजना हुने मुख्य समारोहमा नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारीको राजनीतिक योगदानबारे विस्तृत छलफल हुने कार्यक्रम तय गरिएको छ। उक्त कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड, साथै पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

काठमाडौँमा फाउन्डेसनले असार १४ गते आयोजना गर्ने मुख्य कार्यक्रमलाई सबै जनसङ्गठनहरूले सहयोग गर्ने निर्णय पनि भेलाले गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप