एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
सारांश
- नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई सरकारले 'अपहरणको शैलीमा' गिरफ्तार गरेको भन्दै विरोध गरेको छ ।
- एमाले अध्यक्ष केपी शर्मा ओलीले पौडेलको पक्राउलाई 'अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा' भन्दै यसको विरोध गरेका छन् ।
- एमालेले वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको आरोप लगाएको छ ।
काठमाडौँ । पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला उपाध्यक्ष विष्णु पौडेललाई सरकारले ‘अपहरणको शैलीमा’ गिरफ्तार गरेको भन्दै नेकपा एमालेले विरोध गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै उपाध्यक्ष पौडेललाई सरकारले गैरकानुनी ढंगले गिरफ्तार गरेको भन्दै यसको विरोध गरेका हुन् ।
एमालेले पौडेलको पक्राउलाई 'अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा' भनेको छ। ओलीले विज्ञप्तिमा भनेका छन्, 'यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका शृङ्खलाबद्ध प्रहार र राजनीतिक षडयन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ।'
अध्यक्ष ओलीले उपाध्यक्ष पौडेल सुर्खेतको कार्यक्रम सकेर पूर्वनिर्धारित कार्यतालिका अनुसार भोलिपल्टै काठमाडौँ फर्कने तयारीमा रहेको उल्लेख गरेका छन् । तर विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उनकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको ओलीको आरोप छ ।
सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सधैँ सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो 'स्टन्ट' र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको ओलीको वक्तव्यमा उल्लेख छ।
एमालेले वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको आरोप लगाएको छ। सत्ताको उन्मादमा यस्तो अधिनायकवादी कदम चालिएको आरोप लगाउँदै एमालेले यस कार्यको डटेर सामना गर्ने चेतावनी दिएको छ । एमालेले विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता हर्कतहरू तत्काल बन्द गर्न समेत सरकारलाई सचेत गराएको छ। पौडेल सोमबार नै सुर्खेतबाट पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण