शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पोखरामा शनिबारदेखि साफ यु–१९ महिला च्याम्पियनसिप

बिहीबार, १५ माघ २०८२, १८ : ५५
बिहीबार, १५ माघ २०८२

कास्की । पर्यटकीय राजधानी पोखरामा यही माघ १७ देखि २४ गतेसम्म दक्षिण एशियाली खेलकुद महासङ्घ(साफ) यु–१९ महिला च्याम्पियनसिप सुरु हुँदैछ ।

साफको तालिका अनुसार पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा हुन लागेको प्रतियोगितामा नेपालसहित चार देशको सहभागिता रहने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिनुए।

प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने छ । साफका महासचिव कट्टेलले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए । सहभागी देशका खेलाडी बिहीबार साँझसम्म पोखरा आइपुग्ने उनले बताए । 

“साफ महिला फुटबल पहिलोपटक राजधानी काठमाडौँ बाहिर सञ्चालन हुँदैछ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आज साँझसम्म सहभागी देशका खेलाडी, प्रशिक्षक तथा टोली व्यवस्थापकलगायत यहाँ आइपुग्नुहुन्छ”, महासचिव कट्टेलले भने । सहभागी टोलीका लागि पोखराको लामाचौरस्थित गोष्तेघाट खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ । यसम प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछ ।

लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ गते हुने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए । प्रतियोगिताले पोखरालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद कार्यक्रमको महत्वपूर्ण केन्द्रका रूपमा थप स्थापित गर्ने विश्वास लिइएको उनले बताए ।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले फुटबल मैदानको स्तरोन्नति, प्लेयर बक्स निर्माणलगायत काम सम्पन्न भएको जानकारी दिए।

लामो प्रतिक्षापछि पोखरामा अन्तरराष्ट्रिय प्रतियोगिता आयोजनाले यस क्षेत्रका खेलकुदकर्मी उत्साहित बनेका उनले बताए । प्रतियोगिता सम्पन्न गर्न रु दुई करोड ४५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप