बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन तयारी

रुपन्देही–३ : ग्रामीण क्षेत्रका मतदातालाई अझै छोएन चुनावले, उम्मेदवारसम्म चिन्न पाएनन्

शुक्रबार, १६ माघ २०८२, ०८ : ०१
शुक्रबार, १६ माघ २०८२

सारांश

  • रुपन्देही क्षेत्र नम्बर ३ का मतदाताहरू निर्वाचनबारे अनभिज्ञ छन् किनभने उम्मेदवारहरू ग्रामीण क्षेत्रमा पुगेका छैनन्।
  • ग्रामीण भेगका मतदाताहरूले उम्मेदवारलाई चिन्न सकेका छैनन् र विकासका समस्याहरू समाधान नभएको गुनासो गरेका छन्।
  • उम्मेदवारहरूले सामाजिक सञ्जाल र सहरी क्षेत्रमा ध्यान केन्द्रित गर्दा ग्रामीण क्षेत्रमा चुनावी माहोल बन्न सकेको छैन।

बुटवल । रुपन्देही जिल्लाको सियारी गाउँपालिका–३ हर्नेयामा बस्ने ४६ वर्षीया किशोरी चौधरीको पाँच सदस्यीय परिवार छ । आर्थिक अवस्था सामान्य रहेकी चौधरी घर तथा सडक निर्माणका काममा मजदुरी गर्दै आएकी छन् ।

बिहीबार दिउँसो बेलवास–बेथरी सडकछेउमा पर्ने शुद्धोधनको एक घरमा निर्माण कार्य गरिरहेका बेला रातोपाटीसँग भेटिएकी चौधरीले आफ्नो घर वा टोलसम्म नेताहरू नआएकाले निर्वाचनबारे खासै चासो नजागेको बताइन् । ‘अहिलेसम्म उम्मेदवार को–को छन् भन्ने पनि थाहा छैन,’ उनले भनिन् ।

04-8c0c53c2-90e0-4ec5-be11-e1ab060e5463
किशाेरी चाैधरी

यस्तै सियारी गाउँपालिका–७ पश्चिम अमुवाका ६५ वर्षीय धनराज केवट कृषि पेसामा निर्भर छन् । आफ्नै खेतमा उत्पादन भएको तरकारी साइकलमा बजारसम्म लगेर बिक्री गर्ने केवटले पनि अहिलेसम्म आफ्नो घरमा कुनै उम्मेदवार नआएको बताए ।

‘धेरै पटक भोट हालियो, तर हाम्रो घरमा नेताहरू कहिल्यै आएनन्,’ उनले भने, ‘कुन उम्मेदवार कस्तो छ भन्ने थाहा नै छैन ।’ उनका अनुसार किसानहरू खेतीपातीमै व्यस्त हुन्छन् । ‘तरकारी लगायो, उब्जनी भयो, बेच्न गइयो । नेताहरू चुनाव भन्छन्, तर उम्मेदवार को हो भन्ने नै थाहा छैन,’ उनले गुनासो गरे । पुराना नेताहरूको नाम सुने पनि अहिलेका उम्मेदवार चिनेका वा देखेका छैनन् । ‘अहिलेसम्म चुनाव आएजस्तो नै लागेको छैन,’ केवटले थपे ।

1-966a7c2c-1e7c-4354-9d15-f3df8c406851
धनराज केवट

चौधरी र केवट दुवै रुपन्देही क्षेत्र नम्बर ३ का मतदाता हुन् ।

यस निर्वाचन क्षेत्रमा विभिन्न पेसामा संलग्न चिकित्सक, इन्जिनियर, अनुभवी राजनीतिज्ञसहित ३६ जना उम्मेदवार मैदानमा छन् । उम्मेदवारहरूले सामाजिक सञ्जाल तथा आन्तरिक भेटघाटलाई प्राथमिकता दिँदै सहरी क्षेत्रमा केन्द्रित अभियान चलाइरहेका छन् । तर ग्रामीण क्षेत्रसम्म अझै प्रभावकारी रूपमा पुग्न सकेका छैनन् ।

राजनीतिमा कम चासो राख्ने तल्लो वर्गका मतदातालाई अहिलेसम्म चुनावले छोएको देखिँदैन । रुपन्देही–३ मा शुद्धोधन गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाका १ देखि ३, ६ र ७ वडा, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, मायादेवी गाउँपालिकाका ७ र ८ वडा, तिलोत्तमा नगरपालिकाका १३ र १४ वडा तथा बुटवल उपमहानगरपालिकाका १४ देखि १९ वडा समेटिएका छन् ।

02-93ac58eb-3135-4187-8d63-d967ea0c1c4d

यीमध्ये अधिकांश ग्रामीण क्षेत्रमा अझै चुनावी माहौल सिर्जना हुन सकेको छैन । सिद्धार्थनगर (भैरहवा) र तिलोत्तमाका केही सहरी क्षेत्रमा भने चुनावी गतिविधि देखिन थालेको छ ।

उम्मेदवारहरू अझै पनि सहरी केन्द्र र सञ्चारमाध्यमको पहुँचलाई बढी प्राथमिकता दिइरहेका छन् । त्यसैले सहरी चोक–चोकमा उम्मेदवारको चर्चा भए पनि ग्रामीण क्षेत्रमा भने मतदाताले उम्मेदवारसम्म चिन्न सकेका छैनन् ।

बुटवल उपमहानगरपालिका–१७ मोतीपुरका चोकमा भेटिएका मेवालाल चौधरीले पनि अहिलेसम्म उम्मेदवारसँग प्रत्यक्ष भेटघाट हुन नसकेको बताए । ‘कसले के गर्छ भन्ने थाहा पाउने अवसर नै पाइएन,’ उनले भने ।

mewa
मेवालाल चौधरी

यो क्षेत्र बुटवल सहरको तुलनामा कम विकसित मानिन्छ । पहिले सरकारी विद्यालयमा काम गरिसकेका चौधरीले ग्रामीण क्षेत्रमा अझै चुनाव नपुगेको अनुभव सुनाए । ‘हाम्रो टोलका विकासका समस्या राख्ने अवसर नै मिलेको छैन,’ उनले भने ।

सोही ठाउँकी खुमकुमारी पुनले पनि उम्मेदवार नचिनेको बताइन् । मतदान मिति थाहा भए पनि सामाजिक सञ्जाल प्रयोग नगर्ने भएकाले उम्मेदवारबारे जानकारी नपाएको उनको भनाइ छ ।

10-fd33a600-68d9-4982-a6ce-f13b0df52fa0
खुमकुमारी पुन

यस्तै बुटवल–१८, पोखराबारीमा पसल सञ्चालन गर्दै आएका विनोद बस्यालले पनि आफ्नो क्षेत्रमा अझै चुनावी माहौल नआएको बताए । ‘यो क्षेत्र ग्रामीण नै हो,’ उनले भने, ‘सडक विस्तार भए पनि मर्मत भएको छैन । युवाका लागि नीति बनाउने नेतृत्व चाहिन्छ, तर उम्मेदवारसँग साक्षात्कार गर्ने वा घोषणापत्र पढ्ने अवसर पाइएको छैन ।’

मोतीपुर, अन्नपूर्ण टोलका ५२ वर्षीय हजारीलाल बनिया हाटबजारमा कस्मेटिक सामान बिक्री गर्छन् । उनले बेलवास–बेथरी सडक निर्माण सुरु भएको धेरै वर्ष बितिसक्दा पनि अझै पूरा नभएकाले धुलो र हिलोको समस्या झेल्नुपरेको बताए ।

01-00a775ff-c95a-460d-9599-dad587cc6d68
हजारीलाल बनिया

उनका अनुसार किसानहरूले समयमा मल र बीउ नपाउने समस्या पनि भोगिरहेका छन् । ‘सुकुमबासी समस्या वर्षौंदेखि ज्यूँका त्यूँ छ,’ उनले भने, ‘दलहरूले समाधानतर्फ ध्यान दिएको देखिँदैन ।’

07-78566c42-fefc-47d7-990a-35b1b3945cd0

‘मत माग्ने बेला नमस्कार गर्दै आउने उम्मेदवारहरू पछि समस्या लिएर जाँदा तर्किन्छन्,’ बनियाको गुनासो छ ।

रुपन्देही क्षेत्र नम्बर ३ का पुराना मतदाता, विशेष गरी ग्रामीण भेगका बासिन्दाहरू उम्मेदवारसँग आफ्ना पुराना मागहरू पुनः स्मरण गराउन चाहन्छन् । सडक, स्वास्थ्य चौकी र खानेपानीका समस्या अझै उस्तै छन् ।

६४ वर्षीय रुकबहादुर पुन भन्छन्, ‘चुनाव जित्ने बेला मात्र गाउँ सम्झिने नेताहरू अहिले त गाउँ नै आउन छोडे । यस्तो अवस्थामा हामीले कसरी विश्वास गर्ने ?’

शुद्धोधन गाउँपालिका–३ की धनकुमारी चौधरीले पनि भोट माग्ने बेला उम्मेदवार आए पनि पछि भेटघाट हुँदा चिन्न नचाहने र समस्या लिएर जाँदा पन्छिने गरेको गुनासो गरिन् ।

भैरहवाका उपेन्द्र चौधरीले नेताहरू परिवर्तन भए पनि पुराना प्रतिबद्धतामा ध्यान नजाँदा सहरी र ग्रामीण क्षेत्रका समस्या उस्तै रहेको बताए । ‘चुनावमा जे घोषणा गरे पनि कार्यान्वयन हुँदैन,’ उनले भने ।

09-fc5e3026-3c9e-4a55-a972-a3ab902475ab

उनका अनुसार बेलवास–बेथरी सडक निर्माण सुरु भएको करिब एक दशक पुग्न लाग्दा पनि केही ठाउँमा समस्या उस्तै छन् । मोतीपुर औद्योगिक क्षेत्र निर्माणको घोषणा पनि धेरै अघि भए पनि ठोस काम देखिएको छैन ।

उम्मेदवारहरू के गरिरहेका छन् ?

रुपन्देहीको क्षेत्र नम्बर ३ अन्य क्षेत्रको तुलनामा धेरै चासोका साथ हेरिएको निर्वाचन क्षेत्र हो । यहाँ तत्कालीन प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि सरकारले कात्तिकमा उपनिर्वाचन तोकेको थियो । पछि स्थगित भई फागुनमा मतदान हुने तय भएको छ । यसपटक यस क्षेत्रमा युवा तथा विभिन्न पेसामा संलग्न उम्मेदवारहरू मैदानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. लेखजंग थापाले आन्तरिक भेटघाट र सामाजिक सञ्जालमार्फत मत मागिरहेका छन् ।

यस्तै एमालेका उम्मेदवार वासुदेव घिमिरेले भैरहवा र तिलोत्तमाका विभिन्न स्थानमा मतदाता भेटघाट गरिरहेका छन् । राप्रपाका गौरव बोहरा, नेपाली कांग्रेसका सुशील गुरुङ, नेकपाबाट फैज अहमद खाँ, जसपा नेपालबाट श्रीनिवास यादवलगायत उम्मेदवारहरू पनि सामाजिक सञ्जाल, कार्यकर्ता भेटघाट र फोन सम्पर्कमार्फत मत मागिरहेका छन् । तर उनीहरूको गतिविधि प्रायः सहरी क्षेत्रमा केन्द्रित देखिन्छ । उम्मेदवारहरू भन्छन्, पार्टीको घोषणापत्र आएपछि आफ्ना तर्फबाट घोषणापत्र सार्वजनिक गर्ने र चुनावी सभा गर्ने योजना छ ।

12-36202172-c28f-45c9-bcd4-5957da82856d

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले क्षेत्र नम्बर ३ मात्र नभई अन्य क्षेत्रमा पनि हालसम्म ठुला चुनावी सभा नभएको बताए । ‘घोषणापत्र आएपछि घरदैलो र अन्य कार्यक्रमले तीव्रता पाउँछन्,’ उनले भने ।

प्राध्यापक माधवकुमार पौडेलका अनुसार उम्मेदवारहरू मतदाता धेरै भएको सहरी क्षेत्रमा केन्द्रित हुनु स्वाभाविक भए पनि ग्रामीण मतदातासँग पनि छिट्टै प्रत्यक्ष भेटघाट गर्न आवश्यक छ ।

विगतको अवस्था

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–३ बाट राप्रपाका दीपक बोहरा विजयी भएका थिए । उनले नेपाली कांग्रेसका तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए । त्यो बेला राप्रपालाई एमालेको समर्थन थियो र एमालेले प्रत्यक्षमा उम्मेदवारी दिएको थिएन । बोहराले ३६ हजार ६४८ मत प्राप्त गर्दा खाँणले ३४ हजार ६ मत पाएका थिए ।

11-c194207b-963d-4906-88de-709f7ad69b6e (1)

समानुपातिकतर्फ कांग्रेसले २० हजार २७८ मत पाएको थियो । एमालेले १६ हजार ९८६ मत, रास्वपाले १४ हजार १५४ मत प्राप्त गरेको थियो । प्रत्यक्षमा जितेको राप्रपाले समानुपातिकमा ९ हजार १८३ मत मात्र पाएको थियो । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले ६ हजार, जसपा नेपालले ५ हजार, लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७००, माओवादी केन्द्रले २ हजार ६००, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टीले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ मत प्राप्त गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप