गाउँघरका आँखा रोगीको खोजी गर्दै पौवादुङमा
सारांश
- पौवादुङमा गाउँपालिकाले आँखा रोगको उपचारका लागि शिविर सञ्चालन गर्ने भएको छ।
- शिविरमा आँखा जाँच, औषधि वितरण, र शल्यक्रिया निःशुल्क हुनेछन्।
- अध्यक्षका अनुसार, शिविर १८ देखि २३ माघसम्म विभिन्न वडाहरूमा चल्नेछन्।
भोजपुर । ग्रामीण भेगमा रहेका आँखा रोगीको पहिचान गर्दै उनीहरूलाई सहज र पहुँचयोग्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । गाउँघरमै पुगेर सेवा प्रवाह गर्ने लक्ष्यसहित गाउँपालिकाले सबै वडामा शिविर सञ्चालन गर्न लागेको हो ।
गाउँपालिकाको समन्वयमा नवदृष्टि आँखा अस्पताल प्रालि खाँदबारी–१ तुम्लिङटार तथा सगुन आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । स्थानीय बासिन्दालाई घरनजिकै गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडावडामा शिविर आयोजना गर्न लागिएको हो ।
गाउँपालिका अध्यक्ष किरण राईका अनुसार माघ १८ देखि २३ गतेसम्म शिविर सञ्चालन गरिनेछ । गाउँघरमा रहेका आँखा रोगीको पहिचान गरी समयमै उपचार सुनिश्चित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो । “स्थानीय सरकारको सेवालाई गाउँस्तरसम्म सहज रूपमा विस्तार गर्दै आँखा रोगीको पहिचान र उपचार गर्न शिविर सञ्चालन गर्न लागेका हौँ । सबै वडामा शिविर सञ्चालन गरेर नागरिकलाई घरनजिकै सेवा प्रदान गर्नेछौँ”, अध्यक्ष राईले भने ।
कार्यतालिकाअनुसार माघ १८ गते वडा नं ५ सानोदुम्मा, माघ १९ गते वडा नं ४ बास्तिम, माघ २० गते वडा नं ६ ठूलोदुम्मा, माघ २१ गते वडा नं २ तिवारीभञ्ज्याङ, माघ २२ गते वडा नं १ श्यामशिला र माघ २३ गते वडा नं ३ च्याङ्ग्रेमा शिविर सञ्चालन गरिनेछ ।
शिविरमा निःशुल्क आँखा तथा चस्मा जाँच, औषधि वितरणलगायत सेवा उपलब्ध गराइनेछ । मोतियाविन्दुका कारण आँखा नदेख्ने बिरामीलाई नवदृष्टि आँखा अस्पताल तुम्लिङटारमा निःशुल्क शल्यक्रिया गरिने गाउँपालिकाले जनाएको छ । मोतियाविन्दुको शल्यक्रियामा ‘फोल्डेबल लेन्स’ प्रयोग गर्न चाहेमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
त्यसैगरी, शल्यक्रिया गर्नुपर्ने बिरामीको निःशुल्क ल्याब परीक्षण, आँखामा मासु (प्टेरिजियम) पलाएको अवस्थामा शल्यक्रियामा २० प्रतिशत छुट तथा सहुलियत दरमा चस्मा उपलब्ध गराइने जनाइएको छ । गाउँपालिकाले सबै वडावासीलाई तोकिएको स्थानमा उपस्थित भई निःशुल्क सेवा लिन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण