बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

डेमोक्रेट मेयर भएका सहरका विरोध प्रदर्शनमा संघीय एजेन्ट नपठाउने ट्रम्पको आदेश

आइतबार, १८ माघ २०८२, ०८ : ५१
आइतबार, १८ माघ २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक सहरहरूमा संघीय सुरक्षा निकायलाई हस्तक्षेप नगर्न आदेश दिएका छन्, जबसम्म स्थानीय प्रशासनले सहयोग माग्दैन।
  • ट्रम्पले संघीय भवन, अदालत र अन्य सरकारी संरचनाको सुरक्षाका लागि डीएचएस र सीमा गस्तीलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन्।
  • मिनियापोलिसमा संघीय एजेन्टको गोली लागेर दुई अमेरिकी नागरिकको मृत्यु भएपछि देशव्यापी आलोचना र प्रदर्शन चर्किएको थियो।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेट पार्टीले नेतृत्व गरेका सहरहरूमा हुने विरोध प्रदर्शनमा संघीय सुरक्षा निकायलाई हस्तक्षेप नगर्न आदेश दिएका छन् । स्थानीय प्रशासनले औपचारिक रूपमा सहयोग नमाग्दासम्म हस्तक्षेप नगर्न संघीय सुरक्षा निकायलाई भनिएको छ ।

शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जारी सन्देशमा ट्रम्पले गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमलाई निर्देशन दिँदै उनीहरूले आफैँ सहयोग नमागेसम्म ‘डेमोक्रेटिक सहरका प्रदर्शनमा कुनै हालतमा सहभागी नहुने भनेका थिए ।  

यद्यपि उनले संघीय भवन, अदालत र अन्य सरकारी संरचनाको सुरक्षाका लागि डीएचस र सीमा गस्तीलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । प्रदर्शनकारीले अधिकारीमाथि थुक्ने, सरकारी सवारीमा लात्ताले हान्ने वा ढुङ्गा प्रहार गर्ने गरेमा समान वा अझ कडा परिणाम भोग्नुपर्ने चेतावनी पनि उनले दिएका छन् ।

यस घोषणापूर्व मिनियापोलिसमा सीमा सुरक्षा र आप्रवासन एजेन्सीको ठुलो परिचालनपछि तनाव बढेको थियो । त्यहाँ दुई अमेरिकी नागरिकको संघीय एजेन्टको गोली लागेर मृत्यु भएको थियो । यी घटनाले देशव्यापी आलोचना र प्रदर्शन चर्काएको थियो ।

ट्रम्पले गत वर्षदेखि डेमोक्रेटको नेतृत्व भएका राज्य र शिकागो, लस एन्जलस र पोर्टल्यान्ड लगायत शहरमा आक्रामक आप्रवासन कारबाही सुरु गरेका थिए । उनले अपराधी हटाउन यी कारबाही आवश्यक भनेका छन् ।

मिनियापोलिसमा नोभेम्बरदेखि करिब ३ हजार संघीय एजेन्ट खटाइएको थियो । यो अहिलेसम्मकै सबैभन्दा ठुलो आप्रवासन कारबाही मानिन्छ । अधिकारीहरूले सोमाली मूलका बासिन्दासँग जोडिएका कथित धोखाधडी आरोपलाई यस कारबाहीको एक कारण बताएका छन । डीएचएस र मिनेसोटाका मेयर जेकब फ्रेको कार्यालयले ट्रम्पको पछिल्लो आदेशबारे तत्काल प्रतिक्रिया दिएका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप