मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

भक्तपुर बालसुधार गृहका ७५ बालबिज्याइकर्ता नुवाकोट सारिए

आइतबार, १८ माघ २०८२, २० : ४३
आइतबार, १८ माघ २०८२

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ मा सञ्चालित बालसुधार गृहका ७५ जना बालबिज्याइकर्तालाई नुवाकोटमा सारिएको छ ।

१८ वर्ष पूरा भएका ७५ जनालाई नुवाकोटस्थित केन्द्रीय कारागारमा स्थानान्तरण गरिएको भक्तपुरका एसपी सूर्य खड्काले रातोपाटीलाई बताए ।

पुस ३ मा बसेको मन्त्रिपरिषद्ले १८ वर्षमाथिका बालबिज्याइकर्तालाई केन्द्रीय कारागारको खाली रहेको ब्लकलाई बाल सुधारगृह सञ्चालन गर्न दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै माघ ९ मा जिल्ला सुरक्षा समिति भक्तपुरले १८ वर्ष पूरा भएका बालबिज्याइकर्तालाई नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।

सो निर्णयअनुसार कारागार व्यवस्थापन विभागको अनुमति लिएर स्थानान्तरण गरिएको एसपी खड्काले बताए । उनले भने, ‘एक जना बिरामी भएर उपचारमा हुनुहुन्छ, १८ वर्ष पुगेका अरू सबैलाई आज स्थानान्तरण गरिएको छ ।’

भक्तपुर बालसुधार गृहमा १४३ जना पुरुष र २७ जना महिला बालबिज्याइकर्ता थिए । माघ ८ मा झडप हुँदा ८ नाबालक बन्दी घाइते भएका थिए । सुधार गृहमा उनीहरूले आगजनी गर्दा त्यहाँको संरचना जलेर नष्ट भएको छ । आगजनीबाट भवनमा बस्न नमिल्ने भएपछि अहिले ६७ जनालाई प्रहरी कार्यालयहरुको निगरानी कक्षमा राखिएको छ ।

त्यहाँ २७ जना महिला बालबिज्याइकर्तालाई मात्रै राखिएको एसपी खड्काले बताए ।

भक्तपुरको बालसुधारमा सईको कमान्डमा २० जना प्रहरी परिचालित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप