बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

दाङ-२ : ‘हारको रेकर्ड’ बनाएका शंकरलाई ‘फ्रेस’ विपिनको चुनौती

सोमबार, १९ माघ २०८२, १९ : ००
सोमबार, १९ माघ २०८२

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल पाँचौं पटक प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका छन् । २०५१ सालको निर्वाचनमा साविक दाङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका स्थापित नेता दीपक गिरीलाई पराजित गरेर पोखरेलले संसदीय यात्रा सुरु गरेका थिए । त्यसयता २०७९ सालको निर्वाचनसम्म आइपुग्दा ३१ वर्षमा उनले एउटा पनि संघीय निर्वाचन जित्न सकेनन् । २०५६ सालको निर्वाचनमा कांग्रेस नेता कृष्णकिशोर घिमिरेसँग पराजित भए । २०६४ को संविधानसभा चुनावमा नेकपा माओवादीको जताततै दबदबा रहँदा पोखरेल समानुपातिक सांसद बने ।

२०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनी कांग्रेस नेता बुद्विराम भण्डारीसँग पराजित भए । २०७४ सालमा तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनबाट पोखरेल लुम्बिनी प्रदेशसभामा निर्वाचित भए । उनी लुम्बिनी प्रदेशको करिब ४२ महिना मुख्यमन्त्री बन्न सफल भए । २०७३ सालमा राज्य पुर्नसंरचनापछि बनेको दाङ–२ बाट माओवादीका नेता कृष्णबहादुर महरा विजयी भए । २०७९ सालमा कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रेखा शर्मासँग १९३ मतान्तरले पोखरेल पराजित भए ।

भदौमा जेनजी विद्रोहपछि फागुन २१ मा हुन लागेको निर्वाचनमा महासचिव पोखरेल जसरी पनि जित निकाल्नुपर्ने दबाबमा छन् । जेनजी विद्रोहका क्रममा कांग्रेस–एमाले गठबन्धनबाट प्रधानमन्त्री बनेका एमालेका अध्यक्ष केपी ओलीले २३ जना जेनजीको हत्या गरेको, देशको ऐतिहासिक धरोहर सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, दलका कार्यालय, नेताहरूको निजी निवास, व्यापारी प्रतिष्ठान लगायत देशभरका निजी तथा सार्वजनिक सम्पत्ति जोगाउन नसकेको आरोप लागेको छ । जेनजी विद्रोहको बलमा सत्ताच्युत भएका ओलीलाई नै एमालेले भावी प्रधानमन्त्रीको रुपमा अगाडि बढाएको अवस्थामा पोखरेलको उम्मेदवारी थप पोचिलो बन्न सक्ने आँकलन गरिएको छ ।

ओलीका विश्वास पात्र रहेका उनी मंसिर अन्तिममा भएको एमालेको ११ औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि महासचिव निर्वाचित भएका छन् । नयाँ दलको रुपमा स्थापित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को देशभर लहर चलिरहेको बेला पोखरेलको उम्मेदवारीलाई सबैले चासोसाथ हेरेका छन् । पोखरेललाई यसपटक रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले चुनौती दिएका छन् । आचार्य पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । रास्वपाभित्र शालीन र बौद्धिक नेताका रुपमा चिनिएका उनी प्रतिस्पर्धाबाट विजय भएर प्रतिनिधिसभा प्रवेश गर्ने दाउमा छन् । यो क्षेत्रमा पोखरेल र आचार्यसँगै कांग्रेसका किरणकिशोर घिमिरे र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का निर्मल आचार्य पनि चुनावी प्रतिस्पर्धामा छन् ।

२०७४ मा वामपन्थी र २०७९ मा वाम–लोकतान्त्रिक गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका कांग्रेस, एमाले, नेकपा योपटक एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएकाले परिणाम आ–आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् । पटक-पटक सरकारमा रहँदा अलोकप्रियताको फाइदा लिने पक्षमा रास्वपा रहेको छ । निर्वाचनको मुखैमा कांग्रेसभित्र नेतृत्व परिवर्तन भएको, ११ औँ महाधिवेशनबाट ओलीले एकलौटी पार्टी कब्जा गरेको र इतर पक्षलाई टिकट वितरणबाट नै वञ्चित गरिएको स्थितिमा पार्टीभित्रका असन्तुष्ट पक्षको समर्थनमा विजयी हासिल गर्ने दाउमा नेकपा छ । 

यद्यपि दाङ–२ मा विप्लव नेतृत्वको नेकपा (माओवादी)ले एमालेलाई समर्थन गर्नेगरी उम्मेदवारी नदिएको, नेकपाबाट बाहिरिएका जनार्दन शर्माको पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले दाङमा एमालेलाई समर्थन गर्ने सहमति भएकाले जित आफ्नो पक्षमा हुने पोखरेलको विश्वास छ ।

अघिल्लो निर्वाचनमा माओवादीकी उम्मेदवार रेखा शर्माले २६ हजार ८८० मत ल्याएर विजयी भएकी थिइन् । उनका प्रतिद्वन्द्वी पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरेका थिए । रास्वपाका विशाल अधिकारीले १५ हजार ८६१ मत प्राप्त गरे । राप्रपाका भोलानाथ योगीले दुई हजार २७३ मत प्राप्त गर्दा अन्यले जम्मा दुई हजार ८२९ मत प्राप्त गरेका थिए ।

समानुपातिकतर्फ यस निर्वाचन क्षेत्रमा एमाले २३ हजार ५६८ मतसहित अगाडि छ । कांग्रेस १९ हजार ५९१ मत ल्याएर दोस्रो र रास्वपा १३ हजार ३३ मत प्राप्त गरी तेस्रो स्थानमा छ । माओवादीले १० हजार ८२०, राप्रपा तीन हजार ९५ र एकीकृत समाजवादी ७८२ मत ल्याएर क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छन् । आगामी निर्वाचनका लागि दाङ–२ मा एक लाख ४० हजार ९६५ मतदाता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप