बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बार्सिलोना

संकटबाट शिखरतर्फको यात्राः पाँच वर्षमै बार्सिलोनाको ऐतिहासिक पुनरागमन

सोमबार, १९ माघ २०८२, २० : ५९
सोमबार, १९ माघ २०८२

सारांश

  • सन् २०२१ मा बार्सिलोना आर्थिक संकटमा फस्यो र मेस्सीले क्लब छाडे।
  • जाभी हर्नान्डेजको आगमन, आर्थिक सुधार, र नयाँ खेलाडीको प्रदर्शनले बार्सिलोना पुनरागमन गर्यो।
  • क्लबले ला लिगा उपाधि जित्यो र च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्दै ट्रेबलको दाबेदार बन्यो।

काठमाडौँ । सन् २०२१ मा विश्व फुटबलको चर्चित क्लब एफसी बार्सिलोना गम्भीर संकटमा फसेको थियो । त्यसको मुख्य कारण मैदानभित्र कमजोर प्रदर्शन, क्लब १ अर्ब युरोभन्दा बढी ऋणमा डुब्नुका साथै सबैभन्दा ठुलो धक्का क्लबका महान् खेलाडी लियोनेल मेस्सीले क्लब छोड्नु थियो ।

मेस्सीले आँसु झार्दै क्लब छोड्दा धेरै समर्थकलाई लाग्यो बार्सिलोनाको स्वर्ण युग समाप्त भयो । क्लब अब लामो समयसम्म उठ्न नसक्ने अवस्थामा पुग्यो भन्ने धारणा बन्यो । तर पाँच वर्षपछि, यही बार्सिलोना फेरि स्पेन र युरोपको प्रतिस्पर्धी टोलीका रूपमा फर्किएको छ ।

क्लबमा जाभीको त्याग, लामिन यामाल, राफिन्हा र लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शन । साथै हन्सी फिलिक्सको क्लबमा आगमनजस्ता विषय समेटिएका छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको जोआन लापोर्टा दोस्रो पटक बार्सिलोनाको अध्यक्षका रूपमा क्लबमा अनुबन्ध हुनु धेरै किसिमले राम्रो पक्ष बन्यो ।

barca-2

बार्टोमेउ युगको अन्त्य र आर्थिक संकट

बार्सिलोनाको संकटको जड तत्कालीन अध्यक्ष जोसेप मारिया बार्टोमेउको कार्यकालसँग जोडिन्छ । उनको नेतृत्वमा क्लबले धेरै खेलाडी महँगो मूल्यमा अनुबन्ध गर्‍यो । फिलिप कौटिन्हो, ओस्मान डेम्बेले र एन्टोइन ग्रिजमानजस्ता खेलाडीमा ठुलो लगानी गरियो, तर उनीहरूले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । साथै खेलाडीहरूको तलब अस्वाभाविक रूपमा बढाइयो, यसले क्लबको आम्दानी र खर्चबिचको सन्तुलन बिगार्दै लग्यो ।

सन् २०२१ सम्म आइपुग्दा क्लबको ऋण १ अर्ब युरो नाघिसकेको थियो । तलब खर्च आम्दानीको ११० देखि १२० प्रतिशतसम्म पुगेको थियो, जुन ला लिगाको वित्तीय नियमविपरीत हो । यही कारण बार्सिलोनाले नयाँ खेलाडी अनुबन्ध गर्न कठिनाइ भोग्नुपर्‍यो । यही संकटबिच क्लबले आफ्नो इतिहासकै सबैभन्दा महान् खेलाडी लियोनेल मेस्सीलाई राख्न सकेन । मेस्सीलाई नयाँ सम्झौता गरिए पनि ला लिगाको तलब सीमा नियमका कारण दर्ता गर्न नमिल्दा उनी क्लब छोड्न बाध्य भए । यो घटनाले बार्सिलोनाको संकटलाई विश्वभर उजागर गरिदियो ।

लापोर्टाको आगमन र आर्थिक सुधारको सुरुवात

क्लब संकटमा फसेकै बेला सन् २०२१ मार्च ७ मा जोआन लापोर्टा दोस्रो पटक बार्सिलोनाको अध्यक्ष बने । उनको पहिलो कार्यकालमा बार्सिलोनाले ठुलो सफलता पाएको इतिहास थियो, त्यसैले समर्थकले फेरि आशा देख्न थाले । लापोर्टाको पहिलो प्राथमिकता क्लबलाई आर्थिक रूपमा स्थिर बनाउनु थियो ।

उनले धरै तलब लिने खेलाडीहरूसँग करार सम्झौतामा फेरबदल गरे । क्लबका लिजेन्डरी खेलाडी जेरार्ड पिके, सर्जियो बुस्केट्स, जोर्डी आल्बा र सर्जि रोबर्टोले तलब कटौती गर्दै क्लबलाई सहयोग गरे । यसले तत्काल आर्थिक बोझ घटाउन मद्दत गर्‍यो । साथै सोही समय क्लबका लागि कम आवश्यक हुने खेलाडीलाई बाहिर पठाइयो ।

एन्टोइन ग्रिजमान एट्लेटिको म्याड्रिडमा लोनमा फर्किए भने एमर्सन रोयल टोटेनहममा पुगे । सीमित बजेटका कारण लुक डे योङ, एरिक गार्सिया र मेम्फिस डेफायजस्ता खेलाडी फ्रि–ट्रान्फरका साथै कम रकममा क्लबमा भित्र्याइए । यी खेलाडीहरूले कठिन समयमा टोली सम्हाल्न महत्त्वपूर्ण भूमिका खेले ।

क्लबको आर्थिक सुधारसँगै मैदानभित्रको सुधार पनि आवश्यक थियो । प्रशिक्षक रोनाल्ड कोइमानको समयमा बार्सिलोनाले आफ्नो पहिचान गुमाएको आरोप खेप्यो । च्याम्पियन्स लिग समूह चरणबाटै बाहिरिएपछि र युरोपा लिग खेल्न बाध्य भएपछि आलोचना बढ्यो । अन्ततः अक्टोबर २०२१ मा कोइमान बर्खास्त भए ।

त्यसपछि क्लबले पूर्वकप्तान जाभी हर्नान्डेजलाई प्रशिक्षक बनायो । जाभी आउँदा बार्सिलोना ला लिगामा नवौं स्थानमा थियो । टोलीले आत्मविश्वास गुमाइसकेको थियो । जाभीले क्लबमा अनुशासन, मिहिनेत र परम्परागत खेलशैली फर्काउने प्रयास गरे । उनको नेतृत्वमा टोलीले क्रमशः सुधार देखायो । सन् २०२१–२२ सिजनमा बार्सिलोना ला लिगामा दोस्रो भयो, युरोपा लिगको सेमिफाइनलसम्म पुग्यो र रियल म्याड्रिडलाई ४–० ले हरायो । यसले टोली सही दिशामा गएको संकेत दियो ।

barca

आर्थिक ‘लिभर’ र ला लिगा उपाधि

टोलीलाई अझ प्रतिस्पर्धी बनाउन लापोर्टाले २०२२ मा ‘आर्थिक लिभर’ अर्थात् तत्काल पैसा जुटाउन अपनाइने विशेष वित्तीय उपाय प्रयोग गरे । जसले क्लबलाई त्तकाल केही आर्थिक भार कम गर्ने बाटो बनायो । क्बलले भविष्यका प्रसारण अधिकार र बार्सा स्टुडियोको केही हिस्सा बेचेर तत्काल पैसा जुटायो । यसबाट एन्ड्रियास क्रिस्टेन्सेन, फ्रान्क केसिस, राफिन्हा, जुल्स कुन्डे र रोबर्ट लेवान्डोस्की भित्र्याइए, यी खेलाडीको आगमनले टोली बलियो बन्यो ।

क्बलमा यसको परिणाम २०२२–२३ सिजनमै देखियो । बार्सिलोनाले बलियो डिफेन्सका साथ ला लिगाको उपाधि जित्यो । तर युरोपेली प्रतियोगितामा भने टोलीले अपेक्षित नतिजा निकाल्न सकेन । २०२३–२४ सिजनमा पनि टोलीले निराशाजनक नतिजा व्यहोर्नुपर्‍यो । सुपरकप फाइनलमा रियल म्याड्रिडसँग हार र च्याम्पियन्स लिगमा पीएसजीसँग पराजयपछि जाभीमाथि प्रश्न उठ्यो, अन्ततः जाभी पनि क्लबबाट बिदा भए ।

हान्सी फ्लिकको प्रभाव र नयाँ बार्सिलोना

जाभीपछि आएका जर्मन प्रशिक्षक हान्सी फ्लिकले टोलीमा ठुलो परिवर्तन ल्याए । उनले आक्रामक प्रेसिङ, फास्ट गेम र अनुशासनमा आधारित शैली अपनाए । सीमित ट्रान्सफरका बाबजुद उनले खेलाडीको प्रदर्शनमा सुधार गरे । राफिन्हा, लेवान्डोस्की र इनिगो मार्टिनेजजस्ता खेलाडी फेरि उत्कृष्ट देखिए । २०२४–२५ सिजनमा बार्सिलोनाले घरेलु तीन उपाधि जित्यो र च्याम्पियन्स लिग सेमिफाइनलसम्म पुग्यो । ठुला टोलीविरुद्धको प्रभावशाली जितले बार्सिलोनाले पुनरागमन गरेको झल्को दिएको छ ।

barcelona-photo

बार्सिलोना यो सिजन पनि ट्रेबलको दाबेदार हो । च्याम्पियन्स लिगको शीर्ष आठमा पुगेर अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको बार्सिलोना यो सिजन ला लागिमा पनि शीर्ष स्थानमा छ । बार्सिलोनाको पछिल्लो प्रदर्शन, फिलिक्सको जोस र लामिन यमाल, लेवान्डोस्की, राफिन्हाजस्ता खेलाडीले क्लबलाई छुट्टै जोस दिएको छ ।

हाल क्लबको ऋण घटेर करिब ४६९ मिलियन डलरमा झरेको छ । नवीकरण गरिएको ‘स्पोटिफाइ क्याम्प नोउ’ मा फर्कनुले दीर्घकालीन आम्दानी बढाउने अपेक्षा गरिएको छ । स्टेडियमको क्षमता, भीआईपी सेवा र संग्रहालय भ्रमणबाट आम्दानी बढ्ने क्लबको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप